s

अन्तर्राष्ट्रिय गृहश्रमिकले बनाएका उत्पादनको प्रदर्शन [तस्बिरहरू]

काठमाडौँ — काठमाडौंमा मंगलबारदेखि चार दिने अन्तर्राष्ट्रिय गृहश्रमिक सम्मेलन सुरु भएको छ । मंगलबार नेवारी संस्कृति झल्किने प्रस्तुती सहित कार्यक्रमको उद्घाटन गरिएको थियो । सम्मेलन अवधिभर गृह श्रमिकले निर्माण गरेका उत्पादनहरु प्रदर्शन गरिएको छ ।

भुटान, अफ्रिका, बंगलादेश, थाइल्यान्ड, नेपाल लगायत देशका गृह श्रमिकले बनाएका सामाग्री प्रदर्शनमा राखिएका छन् । दरबारमार्गस्थित होटल याक एन्ड यतिमा गरिएको प्रदर्शनीमा गृहश्रमिकका हातले बुनेका जुत्ता, कपडा, रुपमा, मोतीका माला, खेलौना लगायतका वस्तु छन् ।

सम्मेलनमा गृह श्रमिकले झेल्नुपरेको बजारको समस्या, सामाजिक सुरक्षाको अभाव र जलवायु परिवर्तनको असर लगायतका विषयमा गहन छलफल हुनेछ । संसारभरका सयौं गृह श्रमिकका विषयमा सम्मेलनमा छलफल गरिने होमनेट दक्षिण एसियाकी क्षेत्रीय संयोजक सृष्टि जोशी मल्लले जानकारी दिइन् ।

सन् २०२१ फेब्रअरीमा २० वटा देशका ३६ गृह–श्रमिक संस्थाहरु यस सञ्जालसँग आवद्ध भएकोमा अहिले ल्याटिन अमेरिका, अफ्रिका, दक्षिण एसिया, दक्षिण पुर्वी एसिया र पुर्वी युरोप तथा मध्य एसियाका ३३ देशहरुका ७५ वटा संस्था आबद्ध रहेको होमनेटले जनाएको छ । जोशीका अनुसार अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सन् २०१९ मा गरेको अध्ययन अनुसार, विश्वभर २६ करोड भन्दा बढी गृह श्रमिकहरु छन्, जो विश्वव्यापी श्रम शक्तिको ८ प्रतिशत हो । र यी २६ करोड मध्ये १४ करोड ७० लाख (५७ प्रतिशत) महिला छन् ।

Published on: 26 April 2023 | Kantipur

Link

Back to list

;