s

अन्त नभुलौं, जे छ गाउँघरमै छ !

हरेक दिन कामको खोजीमा तथा अध्ययनका क्रममा हजारौँको संख्यामा नेपाली आफ्ना आमाबुबा, श्रीमती तथा बालबालिकालाई गाउँघरमा छाडी शहर तथा विदेश पलायन भइरहेका छन्। स्वतन्त्र जीवनयापन गर्न चाहने व्यक्तिहरूसमेत शहर तथा विदेश पलायन हुने क्रम बढ्दो छ। उल्लिखित दुई कारणमध्ये कुनै एक कारणले शहर तथा विदेश पलायन हुने क्रम जारी छ। उनीहरू शहर तथा विदेशमा स्थायी बासिन्दाका रूपमा बस्ने क्रम पनि बढ्दो छ। जसले गर्दा गाउँमा बूढाबूढीको संख्या बढ्दो छ भने जमिन बाँझो बन्दै गएको छ। काम गर्ने श्रमिकको कमीका कारण उत्पादन घट्दो छ। यही क्रम जारी रहने हो भने गाउँ घर पूर्णरूपमा खाली हुने सम्भावना बढ्दो छ।

नेपालीले आफ्नो रगत पसिना आफ्नै गाउँघरमा बगाउनुपर्दछ। त्यसका लागि अर्गानिक कृषिजन्य सामग्री तथा जडीबुटी उत्पादन गरी विदेश निर्यात गरी आफ्नै गाउँघरमा बसी विदेशी मुद्रा आर्जन गर्न सक्ने छौँ। स्थानीय जातको गाईमा आधारित प्राकृतिक खेती, प्राकृतिक भवन तथा प्राकृतिक चिकित्सा अपनाउने हो भने नेपाल विश्वको एक मात्र प्राकृतिक देश बन्नेछ जसले गर्दा पर्यटकहरूका निमित्त विशेष आकर्षणको देश बन्नेछ। क्षेत्रफलका हिसाबले काठमाडौँ उपत्यका बराबरको सिंगापुर पर्यटन व्यवसायबाट विकसित राष्ट्रको दाँजोमा पुगेको छ। विश्वको सर्वाधिक जनसंख्या भएका दुई देशको बीचमा अवस्थित नेपाललाई सगरमाथाको देश, गौतम बुद्धको देश तथा जानकी मन्दिरको देश नेपाललाई पनि सहजरूपमा विकसित राष्ट्रको दाँजोमा पुर्‍याउन सकिन्छ।

हामी हरेक दिन रासायनिक मल तथा विषादीबाट हुुने कुप्रभावको शिकार भइरहेका छौँ। यसैगरी हामीले तरकारीको पात, डाँठ, पराल खुवाइ हुर्काएको पशुपक्षीको दूध, मासु, फलफूलमा समेत मन्द विषको अवशेष पचाइरहेका छौँ। हामीले बसोबास गर्ने इँटाको पक्का भवन, एसी तथा फ्रिजले हाम्रो स्वास्थ्यमा प्रतिकुल प्रभाव पारिरहेको छ। हामी बसोबास गर्ने भवन प्राकृृतिक (वैदिक) हुनुपर्दछ। यसका लागि स्थानीय जातको गाईको गोबर, माटो तथा चूनको समिश्रणवाट काँचो इँटा प्रयोग गरी भवन बनाउनुपर्छ। यसरी बनाएको घरमा एसीको आवश्यकता पर्दैन। उक्त वैदिक भवन भारतको राजस्थान तथा गुजरात जस्ता बढी गर्मी हुने प्रान्तमा हेर्न पाइन्छ। फ्रिजमा राखिएको बासी खाद्यान्न, तरकारी तथा फलफूलको उपभोगले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्छ। तसर्थ जतिसक्दो ताजा खाद्यान्न खानु स्वास्थ्यका लागि उपयुक्त छ। जुन शहर तथा विदेशमा बस्ने मानिसले पाउने सम्भावना ज्यादै कम छ।

प्रदूषित शहरमा स्तरीय उपचार हुुन्छ भन्ने भ्रामक तर्क छ। यथार्थ के हो भने गाउँमा बसेर प्राकृतिक जीवनशैली अपनाउने हो भने रोग लाग्ने सम्भावना कम छ। एलोपेथिक उपचार, होमोपेथिक उपचार तथा आयुर्वेदिक उपचारमा खर्च बढी लाग्छ भने त्यसले हाम्रो शरीरमा साइड इफेक्ट उत्पन्न गर्छ। यसैगरी न्यून शुल्कमा प्राकृतिक उपचार पद्धतिमा औषधि प्रयोग नै नगरी खानपान, प्राकृतिक जीवनशैली तथा योगको प्रयोग गरी रोग निको पारिन्छ। यसलै कुनै साइड इफेक्ट गर्दैन। तसर्थ यो उपाचार पद्धति हाम्रा लागि प्रभावकारी तथा अन्तिम विकल्पका रूपमा छ।

गाउँले जीवन स्वास्थ्यका दृष्टिकोणले मात्र आकर्षक नभई आर्थिक दृष्टिकोणले समेत आकर्षक बन्दै गएको छ। रासायनिक खेती तथा प्राङ्गारिक खेती आर्थिक तथा वातावरणीय दृष्टिकोणले हानिकारक भएको हुँदा जापानिज वैज्ञानिक मासानोब फुकोकाद्वारा सन् १९७५ मा प्रतिपादन गरिएको प्राकृतिक खेती प्रणालीलाई भारतका सुभाष पालेकरद्वारा शून्य लागत प्राकृतिक खेतीको नाउँमा प्रचारप्रसार भइरहेको छ। मल्टिलेयर फामिङ्ग मेथर्ड भनिने यो प्रविधिअनुसार दुई–तीन वर्षमा कम्तीमा पाँच गुुणा उत्पादन बढाउन सक्नेछौं । जसका कारण आकर्षक तलब खाइरहेका भारतीयहरूसमेत शहर तथा विदेश छाडी गाउँमा आइ खेती गर्न थालेका हजारौँ उदाहरण छन्। अब हामीले पनि यस्ता उपायतर्फ ध्यान दिनै पर्छ।

वन क्षेत्रबाट नजिक रहेका जग्गामा कागती खेती अदुवा बेसार खेती गर्न सकिन्छ भने सोभन्दा तल्लो जग्गामा कोदो, तिते–फापर, मिठे–फापर, जुनेलो आदि अन्नबाली लगाउन सकिन्छ। यसैगरी तराई क्षेत्रमा कोदो, बाजरा, ज्वार जस्ता अन्न उत्पादन गर्न सकिन्छ जसलाई अंग्रेजीमा मिलेट भनिन्छ। मिलेट अन्न धान, गहुँको तुलनामा उच्च गुणस्तरको हुन्छ भने उत्पादन लागत (मल/जल) कम लाग्छ। नेपालको अधिकांश जग्गा असिँचित छन् तसर्थ उक्त जग्गामा मिलेट बाली ल्गाउनु उपयुक्त हुन्छ जसको माग स्वदेशमा मात्र नभई विदेशमा समेत बढिरहेको छ।

स्वास्थ्य, वातावरण तथा पर्यटन व्यवसायमा आघात पार्ने सिमेन्ट उद्योग, रबर उद्योग जस्ता प्रदूषण उत्पन्न गर्नेखालका उद्योग सञ्चालन नगरी कृषिजन्य तथा जडीबुटीजन्य उद्योगहरू प्रबद्र्धन गर्नुपर्दछ। वन जंगल मासेर चौडा बाटो तथा विमानस्थल बनाउन उपयुक्त छैन। पर्यटकहरू यहाँको चौडा बाटो तथा विमानस्थल हेर्न आएका नभई यहाँको प्राकृतिक वातावरणमा रमाउन र स्वादिष्ट तथा अर्गानिक खाना खान चाहन्छन्।

खाली रहेको ठाउँमा तथा जंगली क्षेत्रमा फलफूल तथा जडीबुटी खेती लगाउनुपर्दछ। जसले स्वास्थ्य, आर्थिक तथा वातावरण तीनै क्षेत्रमा फाइदा पुग्छ। त्यसैले नेपालमा युवाले गर्न सक्ने थुप्रै विकल्प छन्। अरूको देशमा बगाउने पसिना र श्रम आफ्नै देशमा लगाउँ। वास्तविकता मनन गरौँ र तत्कालै स्वदेश फर्केर केही गरौँ। गरे अवश्य प्रतिफल मिल्छ।

Published on: 3 June 2024 | Nagarik

Link

Back to list

;