s

एम्बुलेन्सचालकको पीडा : छिमेकी घर नआइज भन्छन्, पसलेले खाद्यान्न दिँदैनन्

मीना बुढाथोकी

 

सल्यानमा रहेका एम्बुलेन्सचालकहरूलाई छिमेकीले आफ्नै घर जान रोक लगाएपछि निराश बनेका छन् । कोरोना भाइरसविरुद्ध ज्यानको बाजी लगाएर लडिरहेको अवस्थामा समाजले उल्टै घृणा गरेपछि उनीहरू निराश बनेका हुन् ।

सल्यान अस्पतालका एम्बुलेन्सचालक मनोज थापाका अनुसार छिमेकीले घर जान नदिएपछि बाहिरै बस्न थलेका छन् । तर, किनमेल गर्न खोज्दा पसलेले समेत खाद्यान्न नदिने गरेको उनी बताउँछन् । उनले भने, ‘महामारीमा देश र समाजसेवाका लागि अग्रपङ्तिमा उभिएर कोराेनाविरुद्ध लडाइँ लडिरहेका छौँ । तर, हामीलाई राज्यले नै बेवास्ता गऱ्यो, समाजले त घरै जान दिएन ।’ घर जान वञ्चित भएकाहरूमाथि व्यापारीले समेत घृणा गरेको उनी बताउँछन् । ‘केही सामान किन्न पसलमा गयौँ भने कि सटर बन्द गर्छन्र, कि सामान छैन भनेर टार्छन्,’ उनले भने, ‘कतिपयले त गाउँमा एम्बुलेन्स पार्कसमेत गर्न दिँदैनन् ।’

अग्रजहरूले हौसला दिनुको साटो दुरुत्साहित गरेको र गाउँमै जान रोक लगाएकोमा उनले आपत्ति जनाए ।

दार्मा गाउँपालिकाका एम्बुलेन्सचालक तुल्सीराम बुढाथोकीले पहिला सँगै कोठामा बस्ने साथीहरूले कोरोना महामारी फैलिएपछि छोडेर गएको बताए । उनी गाउँपालिकानजिकै कोठा लिएर बस्छन् । उनी पनि डेढ महिनादेखि घर गएका छैनन् । उनले भने, ‘परिवारमा असर पर्छ कि भनेर घर गएको छैन ।’ 

गाउँ प्रवेशमै निषेध गर्नु गलत

संयुक्त एम्बुलेन्सचालक संघ नेपाल ट्रेड युनियन सल्यानका अध्यक्ष यज्ञबहादुर केसीले भने समाजले अहिले एम्बुलेन्सचालकप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु स्वाभाविक रहेको बताए । तर, एम्बुलेन्सचालकहरूलाई गाउँ प्रवेशमै निषेध गर्नु भने ठीक नभएको उनले बताए । उनले व्यापारी, व्यवसायी र जनप्रतिनिधिहरूलाई समेत एम्बुलेन्सचालकप्रति गलत व्यवहार नगर्न अनुरोध गरेका छन् । ‘चालकहरूले अहिले समयमा खानसमेत पाएका छैनन्,’ उनले भने, ‘लामो दूरीमा जानुपरेको समयमा एम्बुलेन्सचालकलाई खाना त के पानी पनि कसैले दिँदैन । यस्तो समयमा दिनभर भोकभोकै काम गर्नुको पीडासँगै अरूले गरेको व्यवहारले पनि थप पीडा हुँदो रहेछ,’ उनले भने ।

सल्यानमा ट्रेड युनियनमा आबद्ध १० जना एम्बुलेन्सचालक छन् । यसमध्ये अधिकांशले पूर्णकालीन कर्मचारीको रूपमा सेवा सुविधा पाएका छैनन् । जोखिममा काम गर्ने चालहरूलाई थप भत्ताको व्यवस्था गर्नुपर्ने उनको माग छ । सल्यानमा १७ वटा एम्बुलेन्स रहेकोमा नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स बिग्रिएको अवस्थामा छ ।

सावधानी अपनाएर अन्यसरह व्यवहार गर्न प्रमुख जिल्ला अधिकारीको आग्रह

प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले समाजमा गलत अफवाहहरू बढी फैलिरहेका कारण यस्ताे व्यवहार देखिएको बताए । उनले समाजका सबै व्यक्तिलाई यो बुझ्न अलि समय लाग्ने बताए । ‘एम्बुलेन्सचालकहरूलाई सामान बिक्री गर्दैमा कोरोना सर्दैन,’ उनले भने, ‘सावधानी अपनाएर अन्यसरह व्यवहार गर्नु नै मानवता हो ।’ आगामी दिनमा पनि यस्तो व्यवहार गरेको पाइएमा सम्बन्धित पालिका प्रमुखसँग समन्वय गरेर खबरदारी गर्ने उनले आश्वासन दिए ।

Published on: 10 June 2020 | Nayapatrika

Link

Back to list

;