s

अमेरिकीलाई बहुप्रवेशीय भिसा

घनश्याम खड्का

नेपाल सरकारले अमेरिकी नागरिकलाई सोमबारबाट बहुप्रवेशीय भिसा जारी गर्न थालेको छ । आफ्नो नागरिकलाई पहिलो पाँचवर्षीय बहुप्रवेश पर्यटक भिसा हस्तान्तरण गरिएको प्रक्रिया अवलोकन गर्न अमेरिकी दूतावासका कन्सुलर शाखा प्रमुख माइक म्युस्सी अध्यागमन विभाग पुगेका थिए । 

अमेरिकाले नेपाली पर्यटकहरूलाई लामो समयदेखि बहुप्रवेशीय पाँच वर्षीय भिसा जारी गर्दै आइरहेको छ । नेपालले पनि उही मापदण्ड आफ्ना नागरिकलाई लगाएकामा अमेरिका प्रसन्न भएको दूतावासले जनाएको छ ।पारस्परिक भिसाको समान सर्तबारे सोमबार जारी अमेरिकी दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट अमेरिका र नेपालबीच अझै निकट र गहिरो सम्बन्धको सहजीकरण हुनेछ ।’
 
अमेरिकाले पारस्परिक भिसाको सुरुवातपछि आफ्नो देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीमाथि लगाउँदै आएको २ सय डलर हटाउने भएको छ । यसबाट आवेदन शुल्कको पचास प्रतिशत रकम हरेक विद्यार्थीको बचत हुने दूतावासले जनाएको छ ।
 
‘भिसा बहाल रहने अवधि विस्तार तथा खर्चमा कमी अमेरिका र नेपाल दुवैका लागि राम्रा कुरा हुन्,’ माइक म्युस्सीले भने, ‘यसले दुई देशबीच आर्थिक क्रियाकलाप र आदानप्रदानलाई बढावा दिनेछ ।’ भिसासम्बन्धी अन्तर्राष्ट्रिय सम्बन्ध बराबरी सर्तको नीतिमा अघि बढ्ने सिद्धान्त छ । यसै विश्व सिद्धान्तलाई आत्मसात् गर्दै नेपाल र अमेरिकाका सरकारले अक्टोबर २०१७ देखि नै सबै प्रकारका भिसामा पारस्परिकताका लागि काम गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । भिसासम्बन्धी यस्तो समरूपताले आफ्ना पर्यटकहरू नेपालमा ज्यादा आउने वातावरण बन्ने र त्यसले यहाँको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास दूतावासले लिएको छ ।
 
दूतावासका अनुसार गत वर्ष ९० हजारभन्दा बढी अमेरिकी नागरिकले नेपाल भ्रमण गरेका थिए, जुन सन् २०१७ को तुलनामा १५ प्रतिशत बढी हो । एक पटक पाएपछि पाँच वर्षसम्मका लागि मान्य हुने बहुप्रवेश सुविधासहितको पारस्परिक पर्यटक भिसाले अमेरिकी नागरिकलाई पटकपटक नेपाल आइरहन उत्प्रेरित गर्ने दूतावासका अधिकारीहरू बताउँछन् ।‘अमेरिकी विद्यार्थी र अध्येता पनि नेपालमा अध्ययन र अनुसन्धान गर्न उत्सुक छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘भिसा व्यवस्थामा समानता भएपछि धेरै अमेरिकीले नेपाली शैक्षिक संस्थामा अध्ययन तथा अनुसन्धान गर्न र शैक्षिक तथा सांस्कृतिक आदानप्रदानमा सहभागी हुन पाउनेछन् ।’
 
Published on: 2 April 2019 | Kantipur

Back to list

;