s

अमेरिकी सहायक विदेशमन्त्रीले भनिन् 'तिब्बती शरणार्थीलाई पहिचान देऊ'

अमेरिकी सहायक विदेशमन्त्री वेन्डी आर. शर्मनले यहाँ रहेका तिब्बती शरणार्थीलाई सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण तय गरिदिन नेपाल सरकारसँग आग्रह गरेकी छन् ।

'तिब्बतीलाई नेपालमा लामो समयदेखि शरण दिइरहेकोमा र उनीहरूलाई भद्र सम्झौताअनुसार नेपाल हुँदै भारत जाने प्रबन्ध गरिदिएकोमा नेपाल सरकारलाई धन्यवाद भन्न चाहन्छु,' बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा शर्मनले भनिन्, 'तिब्बती शरणार्थीले पनि सम्मानपूर्वक जीवनयापनका लागि शिक्षा/स्वास्थ्यजस्ता आधारभूत सेवा पाउनु जरुरी छ ।

उनीहरूको अभिलेखीकरण हुनुपर्ने र शरणार्थीले परिचयपत्र पाउनुपर्नेबारेमा प्रधानमन्त्री तहमा कुराकानी गरेकी छु ।' शर्मनले प्रधानमन्त्री बाबुराम भट्टराईसँग बिहीबार बिहान सिंहदरबारमा भेटघाट गरेकी थिइन् । उनले काठमाडौंमा रहेका तिब्बती शरणार्थी पदाधिकारीलाई पनि बुधबार अपराह्न भेटेकी थिइन् । नेपालमा जारी शान्ति प्रक्रियाको प्रगति देखेर अत्यन्तै प्रभावित भएको बताउँदै उनले जेठ १४ भित्रमा यो प्रक्रिया टुंगिने र संविधान लेखनको कामसमेत पूरा हुने विश्वास व्यक्त गरिन् ।

'लामो द्वन्द्व र संक्रमणबाट गुज्रेको स्थितिमा शान्ति प्रक्रिया सहजरूपमा अघि बढ्नु सामान्य कुरा होइन, यसका लागि म सबै दल र नेताहरूलाई बधाई दिन चाहन्छु,' उनले अमेरिकी सन्देश सुनाइन् ।

सहायकमन्त्री शर्मनले चीन र भारतबीचमा नेपालले आफ्नै सार्वभौम र स्वतन्त्र अस्तित्व राख्दै आएको उल्लेख गर्दै विशाल दुई छिमेकीबीचमा

तिब्बती शरणार्थीसहितको गतिविधिमाझ आफूलाई सन्तुलित रूपमा राख्न सक्नुलाई विशिष्ट परिचय भन्दै प्रशंसा गरिन् ।

'यो एकदमै कठिन कुरा हो, दुई मुलुकबीचको पुल बन्नु र सन्तुलनको सम्बन्ध राख्नु,' उनले थपिन् । यसैबीच प्रधानमन्त्री भट्टराईसँग सिंहदरबारमा भएको भेटवार्तामा सहायक विदेशमन्त्री शर्मनले नेपालको विदेश नीतिबारे जिज्ञासा राखेकी थिइन् ।

'परम्परागत रूपमा नेपाल दुई छिमेकीको बीचमा पर्खालको रूपमा र आफ्नो स्वाधिनताको रक्षा गर्ने रहेकोमा अब सार्वभौमसत्ताको रक्षाका लागि दुई देशबीच गतिशील पुलको रूपमा रहनेछ,' प्रधानमन्त्री भट्टराईको जवाफ थियो ।

Published on: 6 April 2012 | Kantipur 

Back to list

;