s

अमेरिकी राष्ट्रपतिको ‘ब्रेकफास्ट मिटिङ’ मा नेपालका म्यानपावर व्यवसायीहरु सहभागी हुँदै

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ तथा सल्लाहकार पदम पौडेल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले आयोजना गर्ने वार्षिक ब्रेकफाष्ट मिटिङमा सहभागिताका लागि अमेरिकाको वासिङट्नतर्फ प्रस्थान गरेका छन् ।
 
उनीहरु आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तना, महासचिव नरेश गेलाल, वैदेशिक रोजगार व्यवसायी तमु धीं समाजका पूर्व अध्यक्ष शम्सेर गुरुङ तथा संघ कार्यसमितिका सदस्यहरुले अध्यक्ष गुरुङ तथा सल्लाहकार पौडेललाई त्रिभुवन विमानस्थलमा पुगेर विदाई गरेका थिए । अध्यक्ष गुरुङले प्रथम उपाध्यक्ष भान्तनालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।
 
आगामी बिहीबार हुने उक्त ब्रेकफाष्ट मिटिङमा राष्ट्रपति टम्पसहित अमेरिकी सिनेटरहरु र सय भन्दा बढी राष्ट्रका राष्ट्रप्रमुख तथा विशिष्ट व्यक्तिहरुको सहभागी हुने अध्यक्ष गुरुङले प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बताए ।
 
अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने उक्त कार्यक्रममा नेपालका वैदेशिक रोजगार व्यवसायीहरुको तर्फबाट भाग लिन लागिएको यो पहिलो अवसर भएको भन्दै अध्यक्ष गुरुङले नेपाली कामदारको अधिकार तथा अवसरहरुका विषयमा सम्भव भएसम्म छलफल गर्ने बताए ।
 
अमेरिकी राष्ट्रपति कार्यालयले प्रत्येक वर्ष विश्वस्तरमा आपसी सद्भाव तथा मैत्रीपूर्ण सम्बन्धका लागि ४ दिने कार्यक्रमको आयोजना गर्ने गरेको छ । संघका सल्लाहकार पौडेलले आफूहरुले नेपाली कामदार लैजाने मध्यपूर्वका व्यक्तित्वहरुसँग छलफलमा बढी केन्द्रित हुने योजना बनाएको बताए ।
 
सल्लाहकार पौडेलले नेपालबाट वार्षिक ५ लाख बेरोजगार नेपाली यूवाहरु वैदेशिक रोजगारीमा गएको र उनीहरुको कमाई तथा अन्य अधिकार सन्तोषजनक नरहेको अवस्थामा नयाँ गन्तव्य पहिल्याउने विषयमा पनि आफूहरुले उच्चतम प्रयास गर्ने  जानकारी दिए ।
 
विश्वव्यापी तापमान बृद्धि, अवैध चेलीबेटी बेचविखन र लागू औषध  ओसार पसार जस्ता विषयमा सहकार्य उक्त ब्रेकफाष्ट मिटिङका एजेण्डा भएपनि हाल २५ करोड भन्दा बढी जनसंख्या आप्रवासनमा रहेको र भविष्यका दिनमा यो संख्या बढ्न सक्ने अवस्थामा यस विषय यस पटक सबैको ध्यानकर्षण हुने सल्लाहकार पौडेलको विश्लेषण छ ।
 
यस पटकको सहभागिता पहिलो भएकाले तत्काल उल्लेख्य उपलब्धि नदेखिन सक्ने भएपनि भविष्यका दिनमा नेपालको वैदेशिक रोजगार र सुरक्षित आप्रवासन विषयमा यो भ्रमणले ठूलो योगदान दिने अध्यक्ष गुरुङले टिप्प्णी गरे ।
 
Published on: 5 February 2018 | Madhyanha

Back to list

;