s

अमेरिकी आर्मी हुँ भन्दै ५ करोड ठगी

प्रकाश ढुंगाना

पाँचथरकी २२ वर्षीया युवती बानेश्वरमा बस्छिन्। सामाजिक संजाल फेसबुकमा ‘ह्याण्डसम’ फोटो प्रोफाइल भएका एक युवकले उनलाई ६ महिना तिर रिक्वेष्ट पठाउँछन्।

फेसबुकमा उनीहरुबीच साथी भएपछि ‘च्याट’ हुन थाल्छ। ती युवकले आफू अमेरिकामा रहेको र विदामा नेपाल आउँदा भेट गर्ने वाचा दिन्छन्। फेसबुकमा साथी बनेको १५ दिनपछि ती युवक र युवती दरबारमार्गको एक महँगो रेष्टुरेन्टमा भेट्छन्। युवकले विदेशबाट ल्याएको भन्दै चकलेट र मोबाइल युवतीलाई गिफ्ट दिन्छन् । पहिलो भेटमा सामान्य गफगाफपछि उनीहरु छुट्न्छिन् ।
 
दरबारमार्गमा भेट भएको दोस्रो दिनमा उनीहरुबीच फेरि भेट हुन्छ। त्यो बेला भने उनी एक्लै आउँदैनन् । उनको साथमा विदेशी युवती पनि हुन्छिन्। धेरै साथीभाईलाई आफूले अमेरिका लगेको भन्दै ती युवकले युवतीलाई पनि अमेरिका जान आग्रह गर्छन् ।
 
अमेरिका जाने प्रक्रिया उनले मिलाइदिन्छिन भन्दै विदेशी युवती तिर इशारा गर्छन्। त्यसका लागि १५ देखि २० लाख रुपैयाँ खर्च लाग्ने युवकले सुनाउँछन्। युवतीले परिवारलाई सोधेर जवाफ दिने बताउछिन् ।
 
परिवारसँग सल्लाह गरेपछि अमेरिका छिर्न पाइने र कमाइ पनि राम्रो हुने लोभले युवतीले युवकलाई तत्कालका लागि ५ लाख दिन्छिन् । बाँकी रकम जोहो गर्न उनका परिवारले पाँचथरमा रहेको घर जग्गा बेच्न ग्राहक खोजिरहेका हुन्छन् ।
 
पैसा लिएपछि ती युवक एकाएक गायव हुन्छन्। आफू ठगिएको अनुभुति भएपछि ती युवती नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेर उजुरी हाल्छिन् । सिआइबीमा उनीजस्तै प्रकृतिले ठगिएका ९ जनाले यस अघि नै उजुरी दिइसकेका थिए। ठगिने मध्येमा ७ जना महिला थिए ।
 
सबैले ठगिएको प्रकृति एउटै किसिमको भएतापनि युवकको नाम भने फरक थियो। कोहीले मनिष भन्थे, भने, कोहीले सुलभ र नरेन्द्र । १० जनाबाट करोडौं रुपैयाँ ठगिएको अनुसन्धानपछि सिआइबीले ती युवक खोज्न डिएसपी कवित कटुवालको नेतृत्वमा विशेष अप्रेसन सुरु गर्छ । झण्डै एक महिनाको मेहनत पछि सोमबार ती युवक सिआइबीको फन्दामा पर्छन ।
 
प्रहरीले अहिलेसम्म उनको नाम पत्ता लगाउन सकेको छैन्। किनभने उनीसँग जिल्ला प्रशासन कार्यालयबाट जारी भएका २ वटा र सिन्धुपाल्चोकबाट जारी भएको एउटा नागरिकता छ। कास्कीबाट जारी भएको नागरिकतामा नरेन्द्र बस्नेत र मनिष बस्नेत छ भने सिन्धुपाल्चोकबाट जारी भएको नागरिकतामा सुलभ पण्डित छ। युवकले भने आफू मनिष बस्नेत हुँ भन्दै सिआइबीमा कोर्ट म्यारिजको प्रमाणपत्र पेश गरेका छन्।
 
आफू अमेरिकन आर्मी भएको बताउँदै विदेशी युवतीको सहयोगमा उनले बढीजसो नेपाली युवती ठग्ने गरेको सिआइबीले जनाएको छ। उनलाई सघाउने विदेशी युवती पनि आफूहरुले खोजीरहेको सिआइबीका एसपी जीवन श्रेष्ठले जानकारी दिए।
 
युवकले एकैजनासँग १७ लाख रुपैयाँसमेत ठगी गरेको खुल्न आएको छ। ‘कम्तीमा ५ देखि बढीमा १७ लाखसम्म एउटै व्यक्तिबाट उनले ठगी गर्न भ्याएका छन्,’ एसपी श्रेष्ठले भने।
 
श्रेष्ठका अनुसार ती युवकले ५ करोड रुपैयाँ बराबरको ठगी गरेका छन्। ती युवकले फेसबुकबाट युवती ठग्ने, रकम लिइसकेपछि युवतीलाई ब्लक गर्ने गरेको श्रेष्ठले बताए। फेसबुकसँगै पछिल्लो समय उनले इमो चलाउने गर्दथे।
 
जोरपाटीमा डेरामा बस्दै आएका उनले शानदार जीवन विताइरहेको उनले बताए। आफू अविवाहित भन्दै युवती ठग्ने गरेका उनको २ वटा श्रीमती भएको सिआइबीले पत्ता लगाएको छ।
 
एउटा श्रीमतीलाई जोरपाटी र अर्कीलाई उनले बानेश्वरमा डेरामा राख्दै आएका छन् । यसअघि उनी ठगीकै ५ करोड मुद्दामा फरार अभियुक्त भएको सिआइबीले जनाएको छ।
 
सामाजिक संजाल प्रयोगमा ध्यान नपुर्याउदाँ युवायुवती ठगीने घटना बढी पाइएको सिआइबीले जनाएको छ।
 
Published on: 5 February 2018 | Setopati

Back to list

;