s

अमेरिका गएकाले बिर्सिए, दाताले दिन छाडे

लोकनाथ रिजाल

५३ वर्षीय डुकबहादुर विष्ट भुटानी शरणार्थी हुन्। उनी झापाको दमकस्थित बेलडाँगी शिविरमा बस्छन्। उनी हिँडडुल गर्न सक्छन् तर उनका दुवै हात राम्ररी चल्दैनन्। ‘चिकित्सकले भित्रको हाड मक्किएको बताएका छन्’, उनी भन्छन्, ‘बुढ्यौलीसँगै रोगले च्याप्दै गयो। उपचार गर्न ऋण काढेको छु।’

दुई छोरा र बुहारी तीन वर्षअघि अमेरिका गए। शरणार्थी समस्या समाधानअन्तर्गत छोराबुहारीले तेस्रो देश पुनर्वासको विकल्प रोजेपछि उनी शिविरमा एक्लै छन्। गुजारा चलाउन कठिन भएको उनी सुनाउँछन्। ‘उताबाट पैसा पठाउँदैनन्’, उनी भन्छन्, ‘छोराबुहारी आफ्नो कमाइ खाँदा–बस्दा ठिक्क हुन्छ भन्छन्।’ अरूले अमेरिकाबाट टन्न पैसा आउँछ भने पनि आफ्नो जीवन दुःखदायी रहेको उनको दुखेसो छ। स्वास्थ्य परीक्षण गर्न उनी हरेक २० दिनमा भारतको सिलिगढी जान्छन्। हातको उपचार गर्न ८० हजार ऋण लागेको उनको भनाइ छ।
 
दाताले सहयोग कटौती गर्दै लगेपछि शिविरमा बाँकी शरणार्थी अत्तालिएका छन्। विश्व खाद्य कार्यक्रमले आउँदो मार्चदेखि सहयोग नदिने घोषणा गरेको छ। शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगले पनि सेवा–सुविधा कटौती गरेको छ। पहिले शरणार्थीले नुन, दाल, चामल, तेललगायत आवश्यक सबै प्रकारका खाद्य सामग्री सहयोग पाउँथे।
 
‘अहिले त जनाको प्रतिमहिना ६ सय ५० रुपैयाँ मात्र दिन्छन्’, ८५ वर्षीय जितबहादुर तामाङ भन्छन्, ‘यसले के गर्ने के नगर्ने ? बडो अन्योल छ।’ मजदुरी गरौं भन्दा काम गर्न नसक्ने अवस्थामा पुगेको उनी बताउँछन्। उनका अनुसार छोरीले कारितास नेपालमा जागिर खाएर कमाएको पैसाले घरपरिवार जेनतेन चलिरहेको छ।
 
तेस्रो देश पुनर्वास प्रक्रिया सुरु भएपछि शिविरमा जीवनशैली कठिन बन्दै गएको उनीहरूको भनाइ छ। पुनर्वास कार्यक्रमकै कारण शिविरमा पाउँदै आएको सेवा–सुविधा धेरै कटौती भइसकेको छ। पुनर्वास रोजेकाहरूले जीवनयापन सहज नभएको बताएका छन्। बेलडाँगी–३ की ५० वर्षीया निर्मला गुरुङ आठ वर्षपछि अमेरिकाबाट फर्किएकी छन्। अमेरिकाको दुःख झन् कहालीलाग्दो भएको उनी सुनाउँछिन्। नेपालमा छुटेका परिवारको यादले सताएर फर्किएको उनको भनाइ छ।
 
‘अमेरिकामा कमाइ हुन्छ तर यहाँभन्दा झन् धेरै दुःख भोग्नुपर्छ’, उनी भन्छिन्, ‘कमाएजति घरको ऋण, इन्स्योरेन्स, कर, बिजुली, गाडी र खाद्यान्नमा सकिन्छ।’ यसले गर्दा नेपालमा रहेका परिवारका सदस्यलाई पठाउनै नसकिने उनी सुनाउँछिन्।
 
बेलडाँगी–३ कै ७६ वर्षीया मोतीमाया गुरुङ अमेरिकामै रमाइलो भए पनि आफन्त सबै यतै भएकाले नरमाइलो लाग्ने बताउँछिन्। उता मीठोमसिनो खाए पनि यता रहेका परिवारले के खाए होला भन्ने चिन्ता लागिरहने उनको भनाइ छ। ‘अमेरिका ! अमेरिका ! भनेर मरिहत्ते गर्दै त पुगियो तर जीवन जीउन त्यति सहज रहेनछ’, उनी भन्छिन्।
 
पथरी–शनिश्चरे शिविरका ध्रुव गुरुङका तीन छोरा र दुई छोरी अमेरिकामै छन्। पाँच वर्षमा ५ सय डलर पठाइदिएको उनी सुनाउँछन्। ‘यहाँ भएजति सुविधा सबै काटिएपछि घर चलाउनै गाह्रो हुन्छ’, उनी भन्छन्, ‘दुःख–बिराम पर्दा फोन गरेर छोराहरूसँग पैसा माग्छु। उनीहरू कमाएजति यतै खर्च हुन्छ के गर्नु भन्दै गुनासो गर्छन्।’
 
शरणार्थीलाई लागि दिइएको तीन विकल्प तेस्रो देश पुनर्वास, स्वदेश फिर्ती र स्थानीयकरण छन्। तर, १ लाख २० हजारले पुनर्वास रोजेका छन्। उनीहरू अमेरिका, क्यानडा, डेनमार्क, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत आठ देशमा गएका छन्। शिविरमा बाँकी रहेकाहरूले भने स्वदेश फर्काउन पहल हुनुपर्ने माग छाडेका छैनन्। युवाजति बाहिरिएका छन्। स्वदेश फिर्तीको आस गर्दै केही बूढापाका र अशक्त मात्र शिविरमा छन्।
 
दर्ताविहीन शरणार्थीको पनि आफ्नै पीडा छ। १ हजार ६ सय ५० जना दर्ताविहीन छन्। खाद्यान्न सहयोग कटौती गरेर अहिले अशक्त, वृद्ध तथा केटाकेटीका लागि प्रतिमहिना १ हजार ३ सय ५० र अन्यका लागि ६ सय ५० रुपैयाँ दिँदै आएको शिविर व्यवस्थापन समितिका सचिव चम्पासिंह राईको भनाइ छ। रासन कटौतीका विषयमा स्थानीय तहदेखि केन्द्रीय सरकारको ध्यानाकर्षण गराए पनि सुनवाइ नभएको उनको गुनासो छ। सहयोग कटौतीले शरणार्थीको बिजोग भएको दमक दुम्सेका भीमबहादुर विष्ट बताउँछन्। मोरङको पथरी शनिश्चरे र झापाको बेलडाँगी शिविरमा ६ हजार ५ सय शरणार्थी छन्।
 
Published on: 16 December 2018 | Annapurna Post

Back to list

;