s

अमेरिकी कम्पनीद्वारा नेपालीसहित ३ देशका कामदारको तलब चोरी गरेको भन्दै मलेसियामा उजुरी

होम कार्की

काठमाडौँ — मलेसियास्थित अमेरिकी कम्पनी गुडइयर टायर एण्ड रबर उद्योगले नेपालीसहित तीन देशका कामदारको ५० लाख रिंगेट (झन्डै १५ करोड रुपैयाँ) चोरी गरेको भन्दै कम्पनीविरुद्ध श्रम अदालतमा उजुरी परेको छ । गुडइयर विश्वको ठूलो टायर उत्पादक कम्पनी हो ।

कम्पनीले विदेशी कामदारलाई नियमीत तलब भुक्तानी नगरेको, मलेसियाको श्रम कानुनविपरीत ओभरटाइम लगाएको र बलजफ्ती ढंगले काममा लगाएको भन्दै कामदारहरुले वकिलको सहयोग लिई कम्पनीविरुद्ध मलेसियाको श्रम अदालतमा मुद्दा दायरा गरेका हुन् । मुद्दा दायरा गर्नेमा नेपाली, म्यानमार र भारतीय कामदार रहेका छन् । रोयटर्सले आइतबार यसबारे समाचार सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय रुपमा कम्पनी दबाबमा परेको छ । यसअघि मलेसियामा रहेको टप ग्लोब कम्पनीले कामदारमाथि शोषण गरेको समाचार सार्वजनिक भएपछि अमेरिकाले टप ग्लोबबाट उत्पादित मेडिकल ग्लोबको अमेरिकामा ल्याउन रोक लगाइएको थियो ।

कामदारहरुले कम्पनीले राहदानी नदिई घर फिर्नबाट समेत वञ्चित गरेको आरोप लगाएका छन् । उजुरी हाल्नेमा कम्पनी छाडिसकेका र कार्यरत कामदारहरु रहेका छन् । श्रम अदालतले गत वर्ष नै कामदारको पक्षमा फैसला सुनाएको थियो । अदालतले मलेसियाको श्रम कानुन अनुसार बक्यौता तलब र ओभरटाइमको रकम भुक्तानी गर्नको लागि आदेश दिएको अदालतको वेभसाइटमा राखिएको फैसलामा उल्लेख छ । कम्पनीले भने अदालतको फैसला अनुसार रकम भुक्तानी नगरेर उच्च अदालतमा पुनरावेदन गरेको छ । उच्च अदालतले आउदो जुलाई २६ गते यसबारे फैसाला गर्ने अपेक्षा गरिएको छ ।

कामदारको वकिल चन्द्रा सेरगन राजेन्द्रनका अनुसार कामदारमाथि विभेद गरिएको छ । ‘मलेसियाको नियम अनुसार कामदारलाई कम्पनीबाट पाउने सेवासुबिधाबाट वञ्चित गरिएको छ,’ उनले रोयटर्सलाई भनेका छन् ।

कम्पनीबाट भएको दुर्व्यवहारबारे नेपाली कामदारहरुले अदालतमा मुद्दा दायर हुनुभन्दा ३ वर्षअघि नै दूतावासमा जानकारी गराएका थए । त्यस कम्पनीमा कार्यरत नेपाली कामदारको संख्या भने खुलेको छैन ।

रोयर्टसका अनुसार १८५ जना कामदारले श्रम अदालतमा तीन वटा उजुरी गरेका थिए । जसमा २ वटा २०१९ र एकवटा २०२० मा गरेको थियो । वकिलले झन्डै एकसय ५० जनालाई तलब नदिएको र महिनामा २२९ घण्टा काममा लगाएको प्रमाण पेश गरेका थिए । मलेसियाको स्थानीय कानुन अनुसार महिनामा कामदारलाई १ सय ४ घण्टा भन्दा बढी ओभरटाइममा लगाउन पाइने छैन ।

गुडइयरमा कम्पनीमा कार्यरत एक नेपालीले कामदारले आफूहरु निगरानीमा परेको भन्दै यसबारे बोल्न चाहेका छैनन् । ‘यो दुई वर्षअघि देखिको मुद्दा हो । साथीहरु मिलेर केश हालेका हुन् । हामीले कम्पनीमा काम गरिरहेका छौं । यसबारे अहिले थप नबोलौं,’ ती कामदारले भने,‘अदालतबाट कामदारको पक्षमा फैसाला आएमा यहाँ कार्यरत कामदारको हित हुन्छ भन्ने मैले ठानेको छु ।’

Published on: 1 June 2021 | Kantipur

Link

Back to list

;