s

अमेरिकामा सामाजिक सुरक्षा नम्बर नपाउनाको पीडा

 

"कुनै ठाउँमा काम खोज्न जाउँ, सामाजिक सुरक्षा नम्बर (सोसियल सेक्युरिटी नम्बर) माग्छ, आफूसँग छैन, काम पनि चाहिएको छ तर हामीलाई यहाँको सरकारले त्यस्तो नम्बर दिँदैन"- यो डिपेन्डेन्ट भिसामा अमेरिका आएकी विराटनगरकी निमा आचार्यको गुनासो हो।

 यहाँ मास्टर डिग्रीमा अध्ययनरत आफ्ना पतिले पाउने छात्रवृत्ति रकमले नपुगेपछि कामको खोजीमा भौँतारिएकी उनले आफूहरु जस्तालाई काम पाउन अत्यन्त गाह्रो भएको र काम पाइहाले पनि मनमा डर मात्र हुने र ढुक्कसँग काम गर्न नपाइने अनुभव सुनाइन्।

उनी भन्छिन्- "हामीजस्ता कुनै स्टाटस नभएकाका लागि अमेरिकी सरकारले सामाजिक सुरक्षा नम्बर दिँदैन, यो नम्बरबिना काम गर्नु गैरकानुनी मानिन्छ, त्यसैले काम पाउन गाह्रो भएको हो।" लुकीछिपी काम गरे पनि सरकारले थाहा पाउला कि भन्ने डर मनमा भइरहन्छ-उनले थपिन्।

विभिन्न कारणबाट अमेरिका आएकामध्ये कुनै हैसियत नभएका नेपाली यहाँ काम गर्नका लागि सामाजिक सुरक्षा नम्बर नपाउँदा लुकिछिपी काम गर्न बाध्य छन्। हैसियत नभएकालाई सरकारी वा अर्धसरकारी निकायमा काममा नराख्ने भएकाले उनीहरु निजी क्षेत्रबाट सञ्चालित निकायमा काम गरिरहेका छन्। नेपाली मात्र नभई अन्य मुलुकका नागरिकलाई पनि यही समस्या छ।

सामाजिक सुरक्षा नम्बर कानुनीरुपमा अमेरिका छिरेका व्यक्तिलाई कानुनी मान्यताका साथ काम गर्न दिइने नम्बर हो। यही नम्बरका आधारमा व्यक्तिले काम गर्न पाउँछ र सरकारलाई काम गरेबापत कर पनि बुझाउनुपर्छ। यहाँको सरकारले सोही नम्बरका आधारमा प्रत्येक व्यक्तिले राज्यलाई कर तिरेको छ कि छैन भनेर अनुगमन गर्ने गर्छ। व्यक्तिले यदि राज्यलाई कर तिरेको नदेखिएमा त्यस्ताको सेवासुविधा पनि कटौती गरिँदैजान्छ।

पढ्न आएका नेपाली विद्यार्थीसँगै डिपेन्डेन्ट भिसामा आउने व्यक्तिलाई भने उक्त नम्बर नदिइने हुनाले कतिले काम नै नपाउने त कतिले सम्बन्धित निकायमा अनुरोध गरेर काम पाए पनि लुकीछिपी गर्नुपर्ने अवस्था छ। फ्लोरिडा राज्यमा बस्दै आएकी मीना खड्काले भनिन्- "म यहाँ भारतीय मालिकले चलाएको एक होटलमा काम गर्छु, मालिकले मलाई आफन्त हो भनेर काम दिएको छ, धेरैपटक सरकारी अधिकारी हामीलाई जाँच गर्न आए तर मालिकले आफन्त भनेर जवाफ दिएपछि हामी जोगिएका छौँ।"

आफ्नो नाम नछाप्ने सर्तमा बस्नेत थरकी अर्की एक नेपाली युवतीले बेग्लै अनुभव सुनाइन्- एक वर्षअघि हामी तीन नेपाली महिला एक ठाउँमा काम गर्थ्यौं, हामीलाई पनि मालिकले सरकारी सोधपुछबाट बचाएर काम गराएका थिए, एकदिन मालिक बुढाबूढीको झगडा पर्‍यो, बूढीले मेरा बूढाले आफ्नो पसलमा सोसियल नम्बर नभएकालाई काममा लगाएका छन् भनेर प्रहरी बोलाउन लगाई हाम्रो काम खोस्न लगाइन्।

धेरैजसो नेपाली अवैधरुपमा यहाँका ग्यास स्टेसन, सब-वे, होटल, रेस्टुरेन्टलगायतमा काम गरिरहेका छन्। अमेरिकामा कामको स्तरीयकरण नभई सबै कामको एउटै सम्मान हुने भएकाले यो ठूलो यो सानो काम भन्ने छैन। सामाजिक सुरक्षा नम्बर नभएका धेरैजसो नेपाली दक्षिण एसियाली मुलुक भारत, बङ्गलादेश, पाकिस्तान, चीनलगायतका नागरिकले खोलेका स्टोरमा काम गर्छन्। दक्षिण एसियाली मुलुकका नागरिकले नेपाली भनेपछि माया पनि गर्छन्, काम पनि दिएकै छन्- त्यहाँ काम गर्दैआएका एक नेपालीले बताए।

सो नम्बर नभएकी अर्की एक नेपाली महिलाले एक वर्षदेखि बङ्गलादेशी मालिक भएको एक स्टोरमा काम गर्दैआएकी छिन्। अमेरिकामा १८ वर्ष नपुगेका व्यक्तिलाई मादकपदार्थ बेच्न बन्देज लगाइएको छ तर उनले अल्कोहलको नाम थाहा नपाउँदा झुक्किएर १८ वर्षमुनिको व्यक्तिलाई बेच्न पुगिन्। सरकारले सोही विषयलाई लिएर उनीविरुद्ध अदालतमा मुद्दासमेत दायर गरेको छ। एक महिनाभित्र अदालतमा आउने भनेर दिन तोकिएको पत्र आएको छ, मैले कानुनविपरीत काम गरिरहेकी थिएँ, त्यसमा पनि अल्कोहल बेच्यो भनेर मुद्दा चलाइएको छ, खै के हुन्छ अब-उनले चिन्तित हुँदै बताइन्।

सरकारले यहाँ जन्मेका नागरिक, ग्रिनकार्डप्राप्त व्यक्ति, आधिकारिकरुपमा विभिन्न मुलुकबाट अध्ययन र काम गर्न आएका व्यक्तिलाई उक्त नम्बर प्रदान गदैर्ैै आएको यहाँको नागरिकता तथा बसाइसराइ विभागले बताएको छ। विभागका अनुसार सो नम्बरबिना काम गरे गैरकानुनी ठहरिने र सम्बन्धित व्यक्तिलाई कारबाही हुन्छ, गैरकानुनीरुपमा काम गरेको फेला परेमा सिधै अदालतमा मुद्दा चलाइने र त्यसको छिनोफानो अदालतले नै गर्नेछ।

यहाँ गैरकानुनीरुपमा काम गरेबापत के कति नेपालीलाई कारबाही गरिएको छ भन्ने यकिन नभए पनि स्वदेश फिर्ता पठाउनेसम्मको कारबाही भएको उदाहरण १० वर्षदेखि यहाँ बस्दै आउनुभएका नेपाली कृष्ण श्रेष्ठले बताउनुभयो। 

Published on: 10 August 2012 | Nagarik

Back to list

;