s

अमेरिकामा बस्ने नेपालीमा सम्बन्ध विच्छेद गर्नेकाे संख्या बढ्दै

चन्द्रशेखर अधिकारी

सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पती यहाँ आएको केही समयपछि एक्लाएक्लै बस्ने गरेका छन् । नवदम्पतीदेखि बच्चा भइसकेकाहरू सम्मको सम्बन्ध विच्छेद भएका घटना यहाँ देख्न सकिन्छ । सम्बन्ध विच्छेदपछि बच्चाको रेखदेख कसले गर्ने भन्ने विषयमा समेत मुद्दा पर्ने गर्छ । त्यसको वारेसनामा लिन नेपाली दूतावास धाउनेहरूको संख्या पछिल्लो समय बढेको छ । 

केही वर्षयता सम्बन्ध विच्छेदको घटना हवात्तै बढेको दूतावास अधिकारीहरू बताउँछन् । केही वर्षअघिसम्म महिनाको एक–दुई जोडी देखिएकामा अहिले महिनाको १० दम्पतीसम्मले वारेसनामा लिने गरेका छन् । दूतावासका अनुसार सन् २०१६ मा ५३ दम्पतीले वारेसनामा लिएका थिए । २०१७ को आरम्भमै ११ दम्पतीले त्यस्तो वारेसनामा लिइसकेको अधिकारीहरूले बताए । नेपाल गएको समयमा सम्बन्ध विच्छेद गरेर फर्कनेहरूको तथ्यांक भने दूतावाससँग हुँदैन । 

‘हामीले वारेसनामाका लागि प्रमाणित गर्ने हो । वारेसनामा राजदूतबाहेक अन्यले दिन पाउँदैन,’ दूतावास प्रवक्ता जीवनप्रकाश श्रेष्ठले कान्तिपुरसँग भने, ‘पछिल्लो समय औसतमा महिनाको ५ वटा वारेसनामा दिइरहेका छौं ।’ अवैतानिक दूतले त्यस्तो वारेसनामा दिन पाउँदैनन् । 

अमेरिका आएपछि काममा व्यस्त हुने र नेपालको जस्तो पारिवारिक माहोल कम हुनाले पनि परिवार टुट्ने अवस्था निम्तिएको हुन सक्ने दूतावास अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार चाहना र प्राथमिकता नै फेरिने गर्दा पनि समस्या परेको हुन सक्छ ।

खासगरी बच्चासहित अमेरिका बस्ने नेपालीमा दिउँसो श्रीमती काममा जाने र श्रीमान्ले बच्चा हेर्ने, राति श्रीमान् काममा जाने र श्रीमती बच्चाको साथमा रहने अवस्था धेरैको छ । बिदाको प्रकृति पनि फरक हुने भएकाले पारिवारिक माहोल कम हुने गरेको छ । धेरै कम नेपालीले ‘ह्वाइट कलर’ जागिर खान्छन् । यसरी हवाइट कलर अर्थात् माथिल्लो स्तरका जागिरेहरूको बिदा पनि शनिबार र आइतबार नै भएकाले पर्याप्त समय हुने र घुमफिर, मनोरञ्जन सबै हुने भएकाले त्यस्तो समस्या कम आउने गरेको छ ।

दूतावासका अधिकारीअनुसार कतिपयले नक्कली दम्पती तर सक्कली विवाह गरेर समेत आउने हुनाले सम्बन्ध विच्छेदका लागि वारेसनामा लिने गरेका हुन सक्छन् । तर, त्यो प्रमाणित हुँदैन । श्रीमान् अमेरिका र श्रीमती नेपालमा वा श्रीमती अमेरिका, श्रीमान् नेपालमा हुनेहरूको पनि सम्बन्ध विच्छेदको वारेस आएको उल्लेख छ । 

अहिले अमेरिकामा करिब तीन लाख नेपाली रहेको अनुमान छ । 


Published on: 26 February 2017 | Kantipur

Back to list

;