s

अमेरिकाको नेपाली समुदाय अन्योल र अत्यासमा

१७ चैत, काठमाडौं । विश्व महाशक्ति अमेरिका कोरोना भाइरसको महामारीबाट सबैभन्दा आक्रान्त मुलुकहरुको सूचीमा शीर्षस्थानमा पुगेको छ । देशहरुको हिसाबले अहिले विश्वै सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । यद्यपि, मृत्यूदर त्यहाँ कम छ । 

कोरोनाको फैलावट दिन दुईगुना रात चौगुना भएपछि अमेरिकाको जनजीवन त्रस्त बनेको छ । सरकारले आधिकारिकरुपमा ‘लकडाउन’ घोषणा गरेको छैन । तर, पनि स्वैच्छिकरुपमा धेरै मानिसहरु घरभित्रै बस्न थालेका छन् । अत्यावश्यक वस्तुहरुको सेवा प्रभाव भने रोकिएको छैन । 

अमेरिकामा नेपालीहरु ठूलो संख्यामा छन् । उनीहरु पनि कोरोना प्रभावबाट बाहिर रहने कुरै भएन । अमेरिकामा कति नेपालीलाई कोरोना संक्रमण भएको छ भन्ने कुनै आधिकारिक तथ्यांक छैन । यद्यपि, कोरोनाले एकजना नेपालीको मृत्यु भएको समाचार आइसकेको छ । 

कोरोनाको सबैभन्दा बढी प्रभाव रहेको न्यूयोर्कमा पनि ठूलो संख्यामा नेपालीहरु छन् । अनलाइनखबरको सम्पर्कमा आएका केही नेपालीले आफूहरु अन्योल र त्रासको अवस्थाबाट गुज्रिरहेको बताए । 

यता, अमेरिकास्थित नेपाली राजदूतावासले भने कोरोनाबाट प्रभावित नेपालीहरुको एकिन तथ्यांक नरहेको जनाएको छ । 

के छ नेपालीको अवस्था ? 

कोरोनाबाट आइतबारसम्म अमेरिकामा करिब १ लाख २५ हजार व्यक्ति संक्रमित बनेका छन् भने २ हजारभन्दा बढीको मृत्यु भएको छ । यसमा कति नेपालीहरु परेका छन् भन्ने यकिन छैन । 

अहिलेसम्म एकजना गैरआवासीय नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान मृत्यु भएका अनिल लिम्बुको शुक्रबार दाहसंस्कार गरिएको थियो । उनको दाहसंस्कारमा परिवारका सदस्य र आफन्त पनि सहभागी हुन सकेनन् । न्युयोर्कमा रहेको ग्रिनउड सिमेट्री नामक निजी कम्पनीलाई दाहसंस्कारको जिम्मा दिइएको थियो । १२ सय अमेरिकी डलर लिएर सो कम्पनीले दाहसंस्कार गरेको हो । 

दुई दशकदेखि अमेरिकामा बस्दै आएको लिम्बुको परिवार उतैको नागरिक बनिसकेका छन् । उनीहरु पाँचथरका हुन् । लिम्बुका श्रीमती, दुई छोरा र एक छोरी छन् । 

परिवारका  अन्य सदस्य पनि भाइरसबाट संक्रमित रहेको चर्चा चले पनि पुष्टि भएको छैन । अमेरिकामा अन्य नेपालीहरु धेरै संख्यामा संक्रमित रहेको आशंका गरिएको छ, तर धेरै सार्वजनिक हुन चाहेका छैनन् । अमेरिकामा व्यक्तिगत गोपनियताको कानून कडा भएकाले पनि धेरै केसहरु बाहिर आउन नसकेको राजदूत अर्जुन कार्की बताउँछन् । 

‘मैले न्यूयोर्कको अस्पतालमा भर्ना भएका दुईजना संक्रमितसँग आफैंले फोनमा कुरा गरेँ, त्यसबाहेक अरु बिरामीहरु सार्वजनिक हुन चाहेका छैनन्,’ कार्कीले भने । न्यूयोर्कमा धेरै संख्यामा नेपालीहरु संक्रमित भएको हुन सक्ने उनको आशंका छ । साथै, टेक्सासमा पनि केही नेपालीहरुमा यो भाइरस भेटिएको राजदूत कार्कीले बताए । 

न्यूयोर्कको ज्याक्सन हाइट क्षेत्रमा व्यवसाय गर्ने भिडियोग्राफर शम्भु मोक्तान र अर्का व्यवसायी जीवन बमलाई संक्रमण पुष्टि भइसकेको छ । दुवै अहिले स्थानीय अस्पतालमा उपचाररत छन् । 

यस्तै भर्जिनिया राज्यको फेरफाक्समा बसोबास गर्दै आएकी ३८ वर्षिया महिला संक्रमण देखिएपछि सेल्फ क्वारेन्टाइनमा बसिरहेकी छन् । 

अमेरिकाको गृहमन्त्रालयमा काम गर्ने गुणराज लुईंटेलले फेसबुकमा स्टाटस लेख्दै न्यूयोर्कमा मात्रै अनुमानित २०० जना नेपाली कोरोनाबाट संक्रमित भएर उपचार गराइरहेको उल्लेख गरेका छन् ।  न्यूयोर्क एउटा अस्पतालमा ११ जना, अर्कोमा १२ जना र अर्कोमा ७ जना भर्ना भएको उनको दाबी छ । तर, यसको कतैबाट पुष्टि भने भएको छैन । 

रोजगारीको संकट 

कोरानाले अमेरिकाको नेपाली समुदायमा निम्त्याएको अर्को संकट हो रोजगारीको । धेरै उद्योग–प्रतिष्ठान, रेस्टुरेन्ट, मल, स्टोर लगायतका व्यवसाय अहिले बन्द रहेकाले धेरै नेपालीले रोजगारी गुमाएका छन् । अनि कतिपय चाहिँ स्वेच्छाले नै रोजगारी त्यागेर ‘होम क्वारेन्टाइन’मा बसेका छन् । 

कोलोराडोमा बसिरहेका अपूर्व सापकोटा एउटा स्टोरमा काम गरिरहेका थिए । स्टोर बन्द नभए पनि आफूलाई काममा जान डर लागेर एक हप्तादेखि घरमा बसिरहेको उनले बताए । 

‘ग्राहकहरुसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने भएकाले मलाई संक्रमणको डर भयो । तर, मालिकले यस्तो बेला छुट्टि दिन नमानेपछि कामै छोडिदिएँ । अब यो संकट समाप्त भएपछि अर्को काम पाइएला नि,’ उनले भने । 

आफ्नो क्षेत्रमा धेरै नेपालीहरु काम छोडेर बसिरहेको उनले बताए । 

‘कतिचाहिँ जोखिम मोलेर पनि गइरहनु भएको छ, सबैजना त्राशमा हुनुहुन्छ,’ सापकोटाले भने । 

अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्की सरकारको राहत प्याकेज वितरणको कार्यविधि आउन बाँकी रहेकाले अहिल्यै सबै स्पष्ट नभएको बताउँछन् । अमेरिकामा अध्ययन भिसामा रहेकाहरुलाई भने यो प्याकेजले नसमेट्ने उनको भनाइ छ ।

शिकागोमा बस्ने तारा नेपाल क्याब चलाउँछन् । कोरोनाको महामारी फैलिएसँगै आफू क्याब थन्क्याएर घरमै बसिरहेको उनले सुनाए । 

‘बाहिर दुध किन्न निस्कँदा त डर लाग्छ, कसरी काममा जाने ?’ उनले भने, ‘ज्यानभन्दा पैसा ठूलो कुरा होइन । बाँचियो भने पैसा त पछि पनि कमाइएला भन्ने लागेर अहिले चुपचाप घरमा बसेको छु् ।’ 

उनकी पत्नीले दुई महिना अगाडि मात्रै आफ्नै लगानीमा ब्यूटीपार्लर सञ्चालनमा ल्याएकी थिइन् । तर, एक महिनमै बन्द गर्नुपरेको छ । बन्द रहेको अवस्थामा पनि पार्लरको मासिक भाडा तिर्नुपर्ने हुन्छ । अर्कोतर्फ श्रीमान–श्रीमती दुवैजना काममा नजाँदा आर्थिक चुनौति थपिएको नेपालले बताए । 

सरकारको राहत प्याकेजले छुन्छ ? 

कोरोनाको महामारीसँग लड्न अमेरिकी सरकारले २० खर्ब डलर बराबरको आर्थिक प्याकेज हालै अघि सारेको छ । यो अमेरिकी सरकारको अहिलेसम्मकै ठूलो प्याकेज हो । 

यो कानून ल्याउनुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘डिफेन्स प्रोडक्सन एक्ट’ लागू गरेका थिए, जसले निजी कम्पनीहरुलाई अत्यावश्यक वस्तु उत्पादनको निम्ति वाध्य पार्ने अधिकार सरकारलाई प्रदान गर्छ । 

घोषित राहत प्याकेजअनुसार प्रतिवर्ष ७५ हजार अमेरिकी डलरभन्दा कम कमाउनेहरुलाई १२ सय अमेरिकी डलर र प्रति बच्चा ५ सय अमेरिकी डलर दिने व्यवस्था गरिएको छ । तर, यो प्याकेजले आफूहरुलाई समेट्छ वा समेट्दैन भन्नेमा नेपाली समुदायहरु अन्योलमा नै छन् । 

अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्की सरकारको राहत प्याकेज वितरणको कार्यविधि आउन बाँकी रहेकाले अहिल्यै सबै स्पष्ट नभएको बताउँछन् । 

‘अमेरिकामा बैधरुपमा काम गरिरहेका नेपालीहरु यसबाट लाभान्वित हुनुपर्ने हो । तर, के–कसरी भन्ने कुरा चाहिँ कार्यविधिमा आउला,’ उनले अनलाइनखबरसँग भने । 

अमेरिकामा अध्ययन भिसामा रहेकाहरुलाई भने यो प्याकेजले नसमेट्ने उनको भनाइ छ । 

अमेरिकामा अनुमानित ५ लाख नेपालीहरु बसोबास गरिरहेका छन् । उनीहरुमध्ये कतिले उतैको नागरिकता लिइसकेका छन् । न्यूयोर्कमा मात्रै लाखौं नेपाली रहेको अनुमान भए पनि एकिन तथ्यांक छैन । 

अमेरिकामा प्राय नेपालीहरु स्टोर, रेस्टुरेन्ट, मलहरुमा काम गर्छन् । प्राध्यापक, डाक्टर, इन्जिनियरहरु पनि केही संख्यामा छन् । 

एनआरएनएको पहल 

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले कोरोना महामारीको कारण  समस्यामा परेका नेपालीहरुलाई ३०० अमेरिकी डलर बराबरको राहत सामग्री दिने भएको छ । एनआरएनए अमेरिकाको आपतकालीन भिडियो कन्फ्रेन्स बैठकले यसका लागि कोषसमेत खडा गरेको छ । 

बैठकमा कोरोनाले नेपाली समुदायलाई परेको असर र भविष्यको संकटबारे छलफल भएको थिो । अध्यक्ष सुनील साहका अनुसार वैठकले अत्यन्त जटिल आर्थिक अवस्था भएका अमेरिकावासी गैर आवासीय नेपालीहरुलाई र अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई कोरोनाको विशेष कोष सञ्चालनमा ल्याउने र सो कोषमार्फत महामारीको गाम्भीर्य र आवश्यकता अनुसार बढीमा ३०० अमेरिकी डलरको अति आवश्यक सामग्री सहयोग गर्ने निर्णय गरेको हो । 

साथै बैठकले कोरोना संक्रमणबाट नेपाली समुदायलाई यथासम्भव सहयोग गर्नका लागि साहको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ । 

यता न्यूयोर्कमा बस्ने नेपालीहरुले ‘कोरोनाविरुद्ध सचेतना एवम् सहयोग समुह, न्यूयोर्क’ को गठन गरेका छन् । नेपालीहरुका विभिन्न संघ–संस्था र अभियन्ताहरु मिलेर यसको गठन गरेका हुन् ।

Published on: 30 March 2020 | Onlinekhabar

Link

Back to list

;