s

अमेरिका पठाउने भन्दै ठग्ने पक्राउ, सिंगापुर र जापानको नाममा स्वदेशमै अलपत्र

अमेरिका पठाइदिन्छु भनि अफ्रिकन मुलुक टोगोमा पुर्याई अलपत्र पार्ने व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । सो मुद्दाका आरोपी पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नम्बर ६ का २७ वर्षीय सुरेन भनिने मोहन श्रेष्ठलाई सीआईबीको टोलीले नियन्त्रणमा लिएको हो । उनलाई विहीबार चितवनको भरतपुरबाट पक्राउ गरिएको थियो ।
 
उनले पीडितसँग मोटो रकम लिएर अमेरिका वा क्यानडाको मल्टीपल भिसा लगाईदिन्छु भन्दै अफ्रिका पुर्याइदिएका थिए । राम्रो कामको लोभ देखाएर मलेसिया, सिंगापुर, ईथियोपिया, नाईजेरिया र बेनिन हुँदै टोगोमा पुर्याई ६ महिनासम्म होटेलमा बन्धक जस्तो बनाई अलपत्र पारेको पीडितहरुको आरोप छ ।
 
पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसारपसार मुद्दामा सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको सीआईबीले जनाएको छ ।
 
यसैबीच, युवाहरुलाई सिंगापुर र जापान पठाइदिने भन्दै एक गिरोहले टर्कीको  नक्कली पर्यकट भीषा थामाएर १२ लाख असुली स्वदेशमै अलपत्र पारेको छ । गिरोहले धैरै कमाउने लोभ देखाएर शुरुमा सिंगापुर र पछि जापान  पठाइदिने भन्दै रामेछापका दिपक कुमार पन्थ, छुनाम कुमार बाल तथा केशव बहादुर शाहीको समुहले धनुषाका श्याम देव यादव, राम राउत र मुसाफिर राउतलाई ठगेको हो । उनीहरुले प्रतिव्यक्ति ४ लाख रकम फिर्ता दिलाइदिन आग्रह गर्दै जनकपुरस्थित सूचना तथा परामर्श केन्द्रमा निवेदन दिएका छन् ।
 
शुरुमा उनीहरुलाई सिंगापुर पठाइदिने, त्यसपछि जापान र अन्त्यमा युरोपेली मुलुक ग्रीसमा कृषि कामदारका रुपमा पठाउने भन्दै उक्त रकम लिएको पिडित दावी गर्ने युवाहरुले बताएका छन् । चार लाख तिरेर पाएको ग्रीसको भीषा पनि जाँच गराउँदा नक्कली भएको उनीहरुले बताएका छन् ।
 
ठगी प्रकरणमा भारतमा बस्ने अर्का एजेण्ट रोहित राना पनि संलग्न भएको पीडितको भनाइ छ । मेहनत नगरी छोटो समयमा धेरै कमाउने सपना देख्नेहरुलाई पछिल्लो समयमा टर्कीमा पर्यटकको भीषामा पठाएर अलपत्र पार्ने क्रम बढ्दै गएको प्रहरी भनाइ छ ।
 
Published on: 14 April 2018 | Madhyanha

Back to list

;