s

अमेरिकाबाट आउने रेमिट्यान्स बढ्यो, खाडी मुलुकबाट घट्यो

व्यापार घाटा चुलिँदै गएको नेपालको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहँदै आएको छ। भित्रिने रेमिट्यान्स रकम पनि बढ्दै गएको तथ्यांकले देखाउँछ। राष्ट्र बैंकका अनुसार यस आर्थिक वर्षको पहिलो पाँच महिनामा ३ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको यसै अवधिको तुलनामा अहिले ३१ प्रतिशतले रेमिट्यान्स बढेको देखिन्छ।

गत आर्थिक वर्षमा कुल ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। सबैभन्दा धेरै रेमिट्यान्स अमेरिकाबाट आउने गरेको तथ्यांकले देखाउँछ। अमेरिकाबाट आउने रेमिट्यान्स बढेको छ भने खाडी मुलुकबाट आउने रेमिट्यान्स कम भएको छ। यो वर्षको पाँच महिनामा पनि अमेरिकाले उछिनेको छ। देशअनुसार रकम भने वर्षको अन्तिममा मात्र छुट्याइन्छ।

तथ्यांकअनुसार खाडी मुलुकबाट गत वर्ष (२०७४/७५) मा २ अर्ब ६४ करोड डलर रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्ष (२०७३/७४) मा ती मुलुकबाट ३ अर्ब १ करोड डलर भित्रिएको थियो। खाडी मुलुकमध्ये प्रमुख रहेका साउदी, कतार र दुबईबाट आउने रेमिट्यान्स घट्दा समग्रलाई असर परेको हो। खाडी मुलुकमध्ये कुवेत र बहराइनबाट आउने रेमिट्यान्स भने बढेको छ। अमेरिकासँगै, जापान, कोरिया, मलेसिया तथा अन्य राष्ट्रहरुबाट आउने रेमिट्यान्स बढेको छ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अमेरिकाबाट १ अर्ब ५१ करोड ८ लाख अमेरिकी डलर रेमिट्यान्सको रुपमा भित्रिएको छ। अघिल्लो वर्ष पनि अमेरिका पहिलो स्थानमा थियो। राष्ट्र बैंक मुद्रा बिनिमय व्यवस्थापन विभागका प्रमुख भिष्मराज ढुंगानाका अनुसार अमेरिकामा अध्ययनका लागि जाने विद्यार्थीहरुले समेत प्रशस्त रकम रेमिट्यान्सका रुपमा पठाउने गरेका छन्। स्थायी बसोबासको अनुमति पाएकाहरुबाट आउने रकम झनै ठूलो छ।

अमेरिका, कोरियाजस्ता राष्ट्रहरुमा रेमिट्यान्स कम्पनी तथा एजेन्टको संख्या बढेसँगै ती देशबाट आउने रेमिट्यान्समा सुधार देखिएको ढुंगानाले बताए। यहाँ रहेका गैह्र सरकारी संस्थाहरुले ल्याउने कतिपय रकम रेमिट्यान्सका रुपमा आउने गरेकाले पनि बढेको हुन सक्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्। ‘गैह्र सरकारी संस्थाको चलायमान बढ्दा पनि रेमिट्यान्स बढी आएको हुन सक्छ’ उनले भने।

अमेरिकापछि दोस्रो स्थानमा साउदी अरब रहेको छ। दोस्रो स्थानमा रहे पनि साउदीबाट आएको रेमिट्यान्स घटेको छ। साउदीबाट गत आर्थिक वर्षमा ८८ करोड ७४ लाख अमेरिकी डलर रेमिट्यान्सका रुपमा भित्रिएको छ। अघिल्लो वर्ष १ अर्ब ३ करोड डलर भित्रिएको थियो।साउदी अरबमा भने कामका लागि धेरै नेपाली कामदार रहेकाले त्यहाँको रेमिट्यान्स उच्च हुने गरेको हो। साउदीपछि कतारबाट एक वर्षमा ७६ करोड ७० लाख अमेरिकी डलर भित्रिएको छ। कतार पछिल्लो समय रोजगारीका लागि नेपालीको पहिलो गन्तव्य बनेको छ।

अघिल्लो वर्ष पनि नेपालमा रेमिट्यान्स भित्रिने प्रमुख राष्ट्रहरुको सूचीमा अमेरिका, साउदी अरेबिया र कतार अगाडि थिए। धेरै रेमिट्यान्स पठाउनेमा मलेसिया र दुबई क्रमशः चौथो र पाँचौ स्थानमा छन्। मलेसियाबाट ६७ करोड ५ लाख तथा दुबईबाट ६६ करोड ८३ लाख डलर रेमिट्यान्स आएको छ। अघिल्लो वर्ष भने मलेसियाभन्दा दुबई अगाडि थियो।

Published on: 1 February 2019 । Setopati

Back to list

;