s

अमेरिका र माल्टा पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ — वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठ र मुगु छायानाथ रारा नगरपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ३४ वर्षीय प्रवीन खड्का रहेका छन् ।

श्रेष्ठले ओमनाथ मैनालीलाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिने र त्यसका लागि ३१ लाख लाग्ने भन्दै झुक्याएर सम्पर्कविहीन भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।यसबीचमा श्रेष्ठले पीडितबाट पटकपटक गरी जम्मा ६ लाख २१ हजार रकम लिई ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

यसैगरी, खड्काले कर्णबहादुर बुढासमेत दुई जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ११ लाख ५० हजार लाग्ने भन्दै उनीहरूबाट पटकपटक गरी जम्मा ९ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

Published on: 12 June 2023 | Kantipur

Link

Back to list

;