s

अमेरिका र कोरिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा पवन राणा पक्राउ

२९ चैत, काठमाडौं । अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंका पवन राणा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत २८ गते काठमाडौंबाटै पक्राउ गरेको हो ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको कपन बस्ने ४२ वर्षीय राणाले सयौं व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका र दक्षिण कोरिया पठाइदिन सक्छु भनी करोडौं रकम लिई सम्पर्कविहीन भई ठगी गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागले नै राणालाई पक्राउ गरी कार्यालयमा उपस्थित गराइदिन पत्राचार गरेको थियो । सोही पत्रअनुसार राणालाई चैत २८ गते कपनबाट पक्रेर थप कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

Published on: 13 April 2023 | Onlinekhabar

Link

Back to list

;