s

अमेरिका पठाइदिने भन्दै ठगी

अमेरिका पठाइदिने भन्दै ठगी गर्ने तीन जनालाई जिल्ला अदालतले कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले खड्गभञ्ज्याङ–५ सिरुवाली घर भई हाल तारकेश्वर नगरपालिका बस्ने तुलसादेवी रिमाल, उनका पति ओमप्रसाद र बुहारी सुशीला तिमल्सिनाविरुद्ध उक्त फैसला गरेको हो ।

काभ्रे, भुम्लुसल्ले–६ र लमजुङ, प्याराजुङ–३ स्थानीय घर भई हाल टोखा नगरपालिका–९ बस्ने क्रमश: माया लामा र विष्णु गुरुङले जाहेरी दिएका थिए । उनीहरूलाई दलालले अमेरिकाको न्यूयोर्कमा सातदिने तालिममा सहभागी गराइदिने प्रलोभनमा पारी ठगेका हुन् । रिमाल दम्पती र तिमल्सिनाले ‘महिला विकास सहकारी संस्था लिमिटेड’ का नाममा ठगी गर्दै आएका थिए । 

निजहरूले विभिन्न राजनीतिक दलका नेता एवं मन्त्री लगेर कार्यक्रम गरिएको फोटो देखाई विश्वास जित्ने गरेका थिए ।  रिमाल दम्पतीले अमेरिका पठाइने भन्दै माया लामाबाट ८ लाख र विष्णु गुरुङबाट ११ लाख ७७ हजार रुपैयाँ सहकारीमा जम्मा गर्न लगाएको पाइएको छ । तर, पठाउने अत्तोपत्तो नभएपछि उनीहरूले रकम फिर्ता मागे । मायालाई नगदको सट्टा ८ लाख ५० हजार रुपैयाँ लेखिएको चेक दिइयो । बैंकमा साट्न जाँदा रकम नै नदेखिएपछि पीडितले आफू ठगिएको थाहा पाए । लगत्तै लामा र गुरुङले निजहरूविरुद्ध ठगी मुद्दा दर्ता गराए । जाहेरीपछि बुहारी सुशीला फक्राउ परिन् । सासू तुलसादेवी र सुसुरा ओमप्रसाद भने फरार छन् । 

अदालतले सुशीलाविरुद्ध मुलुकी ऐन ठगीको ४ नम्बर बमोजिम बिगो ८ लाख रुपैयाँ जाहेरवालालाई भराइदिने, बिगो बमोजिम जरिवाना र दुई वर्ष कैद तोकेको छ । त्यस्तै तुलसादेवी र ओमप्रसादविरुद्ध जाहेरवालालाई बिगो ११ लाख ७७ हजार भराइदिने, जनही बिगोबमोजिम जरिवाना र ३/३ वर्ष कैद फैसला गरेको स्रेस्तेदार उद्धवप्रसाद गजुरेलले बताए । 

Published on: 24 February 2017 | Kantipur

Back to list

;