s

अमेरिका लैजाने भन्दै पैसा उठाउनेहरू पक्राउ

तारा चापागाईं/ भूपराज बस्याल

काठमाडौं : नेपालबाटै ग्रिनकार्डसहित अमेरिका पठाइदिने भनी करोडौं रकम असुल्ने प्रेसिडेन्सियल इमिग्रेसन प्रालिका तीन सञ्चालक पक्राउ परेका छन्। अन्नपूर्ण पोस्ट्मा बुधबार ‘अमेरिका सपनामा भ्रमपूर्ण व्यापार’ शीर्षकमा समाचार आएपछि प्रहरीले कम्पनीको गैरीधारास्थित कार्यालयमा त्यही दिन छापा मारेको होे।

पक्राउ पर्नेमा कन्सल्टेन्सीका सञ्चालक ३५ वर्षका परविन राई, डेपुटी डाइरेक्टरद्वय ४६ वर्षका ओमकार गुप्ता र ३४ वर्षका सञ्जय तामाङ छन्। संखुवासभा सिलिचोङ गाउँपालिका–२ का राई काठमाडौं सरस्वतीनगर, नवलपरासी रामग्राम नगरपालिका–३ परासी बजारका गुप्ता गोठाटार र इलाम सूर्याेदय नगरपालिका–११ करफोकका तामाङ बसुन्धारामा बस्दै आएका थिए।

तीनै जनालाई शिक्षा ऐन, २०२८ र ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले बताए। उनका अनुसार उक्त कन्सल्टेन्सीका केही कागजपत्र नियन्त्रणमा लिइएको छ। प्रेसिडेन्सियल इमिग्रेसनका गतिविधि शंकास्पद देखिएपछि प्रहरीले निगरानी थालेको थियो।

यो कन्सल्टेन्सीले शैक्षिक परामर्श दिने भनी कम्पनी दर्ता गरेको भए पनि शिक्षा मन्त्रालयको शैक्षिक परामर्श शाखाबाट कुनै पनि अनुमति लिएको नदेखिएको अनुसन्धानबाट खुलेको छ। कम्पनी दर्ता गर्दाको उद्देश्यविपरीत वैदेशिक रोजगारका लागि जापान, क्यानडा, तथा अमेरिकाको ग्रिनकार्ड शतप्रतिशत ग्यारेन्टीका साथ उपलब्ध गराउने भनी ठगी गर्दै आएको जनाइएको छ। अदक्ष कामदारका रुपमा अमेरिका जान इमिग्रेन्ट भिसा र ग्रिनकार्डको प्रक्रियाका लागि दुई वर्ष समय र ५० लाखसम्म पैसा लाग्ने भनी दुई–तीन वर्षदेखि करोडौं रकम ठगी गर्दै आएको प्रहरीले जनाएको छ।

यो कन्सल्टेन्सीले ९९.९ प्रतिशतमा अमेरिकाको ग्रिनकार्ड नेपालमै उपलब्ध गराउने भन्दै पैसा असुल्दै आएको थियो। तर, अहिलेसम्म एक जना पनि पठाउन नसकेको उक्त कम्पनीले भिसा प्रक्रियाकै लागि दुईदेखि तीन वर्षसम्म लाग्ने बताउँदै आएको पाइएको थियो।

सेवाग्राही बनी पुगेको अन्नपूर्ण पोस्ट्को टोलीलाई गुप्ताले अहिलेसम्म करिब ५० जनाबाट २५ लाखका दरले करिब १३ करोड रुपैयाँ उठाएको जानकारी दिएका थिए। उनले भनेका थिए, ‘सबैले यसरी ढुक्क भएर पैसा लगानी गर्नुभएको छ। तपाईं पनि लगानी गरिहाल्नुस्। काम ९९.९ प्रतिशत हुन्छ।’ अफिस पुग्ने जोकोहीलाई एउटा अनलाइन साइट देखाएर भिसा प्रक्रियाबारे बुझाउने गुप्ताले अफिसमा अमेरिकाको झन्डासमेत प्रयोग गरेका थिए।

Published on: 26 August 2022 | Annapurna Post

Link

Back to list

;