s

अमेरिका लैजाने प्रलोभनमा केन्यामा बन्धक गराएको आरोपमा थप ३ जना पक्राउ

३१ वैशाख, काठमाडौं । अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका थप ३ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ गाउँपालिकाका ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँकै ४८ वर्षीय जंगबहादुर विक छन् ।

तिनैजनालाई कञ्चनपुरको गड्डाचौकी नजिकैबाट आइतबार पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार सोही मुद्दामा पक्राउ परेका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई एजेन्टका रुपमा राखेर संगठित मानव तस्करी गर्दै आएका थिए । भारतको नयाँ दिल्लीमा बसेर उनीहरुले ठगी गर्दै आएको प्रहरीले आरोप लगाएको छ ।

पक्राउ परेकाहरुले अमेरिका जाने प्रलोभन देखाएर प्रतिव्यक्ति ४० देखि ५० लाख रुपैयाँसम्म र क्यानडा जान प्रतिव्यक्ति २२ देखि ३० लाख रुपैयाँसम्म लाग्ने विश्वास दिलाएर ठगी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेकाहरुले अमेरिकाका लागि दुबई ट्रान्जिट बनाएर केन्या, युगान्डा लगेर ९ महिनासम्म बन्धक बनाएको भन्दै प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा यसअघि ३ जना पक्राउ परेका थिए ।

पक्राउ परेकाहरुले केन्या र युगाडामा पनि सम्बन्धित देशका नागरिक समेतलाई एजेन्ट राख्ने गरेको पाइएको प्रहरी निरीक्षक रेग्मीले बताए । उनका अनुसार गिरोहले अमेरिका पु¥याउन ब्राजिल, कालम्बिया, मेक्सिकोमध्ये कुनै एउटा रुट प्रयोग गर्ने गरेका थिए ।

Published on: 14 May 2024 | Onlinekhabar

Link

Back to list

;