s

अमेरिका जानु, नेपालको बाटो ?

लीला श्रेष्ठ

काठमाडौँ — परिवार सम्पन्न थियो तर के गर्ने ? धर्मका नाममा लखेटिएपछि मुमताज बेगम पनि परिवारसँगै बर्माबाट दुई दशकअघि बंगलादेश पुगिन् । शिविरमै उनको बिहे भयो । देश छोडेर हिँडेकी उनको परिवार शरणार्थी शिविरमै फैलियो, ७ देखि १७ वर्ष उमेरका चार छोरी र एक छोरासहित जीवन गुजारा गरिरहेका श्रीमान्‌को असामयिक निधनले मुमताजको दुःखमा दुःख थपिदियो । 

ढाकाको शिविरमा संघर्ष गरिरहेका बेला अमेरिका लगिदिने, छोराछोरीलाई राम्रो शिक्षा र रोजगारी दिलाउने भन्दै प्रलोभन आयो । दलालको भनाइ थियो, ‘गन्तव्य हो अमेरिका, बाटो हो नेपालको ।’ पाँच सन्तानसहित दुई साता लामो यात्रापछि ४० वर्षीय मुमताज शुक्रबार कलंकी आइपुगिन् । ढाकादेखि काठमाडौंसम्मको यो यात्राका लागि उनले दलाललाई २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) अर्थात् झन्डै साढे तीन लाख रुपैयाँ बुझाइन् । तर कलंकी आएपछि दलाल सम्पर्कविहीन भयो, मुमताजको परिवार अलपत्र पर्‍यो ।

पाँच लालाबालासहित मुमताज बाटोमै थिइन्, रोहिंग्या शरणार्थी हुन् भन्ने थाहा पाएपछि कसैले उनलाई संयुक्त राष्ट्रसंघीय उच्चायुक्त कार्यालय (यूएनएचसीआर) को बाटो देखाइदियो । सोधपुछ गर्दै महाराजगन्जस्थित कार्यालयमा पुगेर कथा सुनाएपछि शरणार्थी कार्डसमेत पाएको उनले बताइन् । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय संरक्षण नीतिअन्तर्गत यूएनएचसीआरले शरणार्थीको हैसियतमा बस्न चाहनेहरूलाई परिचयपत्र दिँदै आएको छ । यस्तो पत्रले शरणार्थीहरूलाई सरकारले जबर्जस्ती फिर्ता पठाउनबाट रोक्ने विश्वास गरिन्छ ।

मुमताजजस्ता कति रोहिंग्या नेपाल पसेका छन् भन्नेबारे यूएनएचसीआरसँग यकिन तथ्यांक छैन । तर साढे तीन सय रोहिंग्या शरणार्थी आफ्नो सम्पर्कमा रहेको कार्यालयका एक अधिकारीले बताए । तर, कैयौं शरणार्थी भने परिचयपत्र पर्खाइमा छन् । सन् २०१२ मै नेपाल छिरेर बूढानीलकण्ठ–११ राममन्दिर र कपन लसुनटारमा मात्र चार सय शरणार्थी बस्दै आएका छन् । राममन्दिरमा मात्रै ८३ परिवारका १ सय ९६ जना र लसुनटारमा ८८ परिवारका २ सय ७ जना रोहिंग्याको बसोबास छ । कतिपय छरिएर डेरामा पनि बसेका छन् ।

नेपाल पुगे अमेरिका जान परिचयपत्र पाइनेमात्र होइन, मासिक भत्ता पनि राम्रो पाइने भन्दै दलालले झुक्याउने गरेका छन् । हुन त २०१२ देखि २०१४ सम्म मासिक प्रतिव्यक्ति पुरुषलाई ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ सुविधा दिने गरिएको थियो । अहिले ती सुविधा कटौती भएको अब्दुल उसमानले बताए । ‘लकडाउनपछि प्रतिव्यक्ति मासिक १ हजार रुपैयाँ दिएको छ । बालबालिकाको पढाइ सुविधा पनि कटौती भएको छ ।’ जीवन गुजारा गर्न रोहिंग्याहरू मजदुरी गर्छन् । तर भाषाको समस्या र पटकपटक हुने लकडाउन र निषेधाज्ञाले उनीहरूको जीवन कठिन बनाइदिएको छ ।

शरणार्थीलाई नेपाल सरकारले कुनै सुविधा दिएको छैन, खासमा उनीहरू कति छन् भनेर गणनासमेत गरेको छैन । तर नेपाल सरकारप्रति उनीहरूको कुनै गुनासो छैन, ‘नेपाल सरकारले केही दिएको छैन तर लखेटेको पनि छैन, हाम्रा लागि यो पनि ठूलो कुरा हो,’ उसमान भन्छन् । अहिले करिब साढे चार सय रोहिंग्या नेपालमा भए पनि हरेक दिन यो संख्या बढ्दै छ । किनकि अमेरिका जाने सपना देखेर शरणार्थी हरेक साताजसो काठमाडौं आइरहेका छन् ।

सन् १९८२ देखि म्यान्मारमा विभेद खेप्दै आएका रोहिंग्या समुदाय लगातार विस्थापित भइरहेका छन् । म्यान्मारमा बस्न नसकेका रोहिंग्या समुदाय भारत, बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, मलेसियासँगै अमेरिकासम्म पुगेका छन् । सुरक्षित र सम्मानजनक जीवनको खोजीका क्रममा उनीहरू नेपाल पनि आइपुगेका हुन् । नेपालीलाई ग्वाटेमाला, होन्डुरस र निकारागुआ पुर्‍याएजस्तै अमेरिका जान खोज्ने रोहिंग्या शरणार्थीलाई मानव तस्करले नेपाल ओसार्दै छन् । तर नेपाल आएपछि उनीहरूका दुःख कमी भएका छैनन् ।

ज्यान जोगाउन बंगलादेश हुँदै भारत पुगेकी बेगम बानु विभिन्न सहरमा ५ वर्ष हन्डर खाएपछि बंगलादेश फर्केकी थिइन् । ८ महिनाअघि रोहिंग्या शिविरमै आएका एक दलालले उनलाई अमेरिकाको सपना देखायो । त्यही सपनाको जालमा परेर ६ बच्चासहित उनी काठमाडौं आइपुगिन् । शनिबार कालीमाटी आइपुगेको उनको परिवार सिधै यूएनएचसीआरको कार्यालय पुगेको थियो । तर बिदाको दिन उनको काम भएन । आश्रयको खोजीमा उनी रोहिंग्याहरूले बनाएको शिविर खोज्दै लसुनटार पुगेकी थिइन् । तर महानगरीय प्रहरी प्रभाग कपनका प्रहरीले परिवारलाई नियन्त्रणमा लियो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार उनीहरूलाई सोही दिन अध्यागमन विभागमा बुझाइएको छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले रोहिंग्याको विषयमा अनुसन्धान भइरहेको र गम्भीरताका आधारमा मन्त्रालयसँग छलफल चलिरहेको बताए ।

महाराजगन्जस्थित यूएनएचसीआर कार्यालयमा रोहिंग्या शरणार्थी ।

कालीमाटीलगायत स्थानहरूमा थप रोहिंग्या भित्रिएको सूचना आए पनि यकिन तथ्यांक आइनसकेको एक प्रहरी अधिकृतले बताए । ‘खुला सीमा भएर भित्रिसकेका रोहिंग्यालाई अध्यागमन विभाग पठाउने हो, मानवताका हिसाबले पनि नियन्त्रणमा लिएर कुनै कारबाही गर्न सक्ने अवस्था रहन्न,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले भने, ‘सामाजिक अपराधजन्य गतिविधि नगर्नेलाई बस्ने छुट छ ।’

दुई साताअघि मात्र काठमाडौं आइपुगेका तीन रोहिंग्या परिवार बूढानीलकण्ठ–१३ चुनिखेलमा जग्गा भाडामा लिएर टहरामा बस्न थालिसकेका छन् । ‘हामीले यूएनएचसीआरको अस्थायी कार्ड प्राप्त गरिसक्यौं, मासिक २ हजार रुपैयाँ तिर्ने गरी टहरा भाडामा लियौं,’ अब्दुर रहमानले भने ।

३६ वर्षीय अब्दुर रहमान र २६ वर्षीया मोसना बेगम दम्पती छोरा र २ छोरीसहित आएका छन् । काठमाडौंसम्म आइपुग्न उनीहरूले स्वदुला आमिन नाम गरेको दलाललाई २२ हजार भारु (करिब ३५ हजार रुपैयाँ) बुझाएको बताउँछन् । ‘नेपालमा रोहिंग्याका लागि खाने–बस्ने राम्रो सुविधा छ, बालबालिकाको निःशुल्क पढाइ हुन्छ, भत्ता पाइन्छ भनेर आएको हो,’ उनले भने, ‘दलालले केही वर्ष नेपाल बसेपछि अमेरिका जान पाइन्छ भनेको छ ।’

बर्माबाट लखेटिएपछि अब्दुरको परिवार सन् २०१२ मा बंगलादेश पुगेको हो । दुई वर्ष त्यहाँ बसेर उनको परिवार कामको खोजीमा भारतको जम्मु–कश्मीर पुग्यो । ज्यामी काम गरेर परिवार धानिरहेका बेला अब्दुरलाई नेपालमा पाइने सुविधा र अमेरिकाको सुन्दर भविष्यको प्रलोभनले तान्यो । चार दिनको यात्रापछि उनी सपरिवार महाराजगन्ज आइपुगेका हुन् ।

तर यसरी रोहिंग्या थपिँदै जाँदा सबैभन्दा दुःखी यही समुदायका शरणार्थी छन् । आफूले पाउँदै आएको सेवा सुविधाबाट वञ्चित हुने र बसोबास गर्दै आएको ठाउँ छोड्नुपर्ने डरले उनीहरूले नयाँ रोहिंग्यालाई तिरस्कार गर्छन् । ‘हामीलाई यूएनएचसीआरले दिने सुविधामा कटौती हुँदै आएको छ,’ राममन्दिर रोहिंग्या कम्युनिटीका संयोजक रोफिक आलमले भने, ‘रोहिंग्यालाई बस्तीका लागि ठाउँकै अभाव छ ।’ राममन्दिरलाई नै रोहिंग्या कम्युनिटीले वार्षिक ६ लाख रुपैयाँ भाडा तिर्दै आएको उनले बताए । त्यस्तै लसुनटारस्थित रोहिंग्या कम्युनिटीले भने बसोबासका लागि लिएको जग्गाको भाडा वार्षिक १ लाख २० हजार रुपैयाँ तिर्दै आएको उसमानले बताए ।

चुनिखेलमा नै भेटिए ३१ वर्षीय अब्दुल मलिक, २६ वर्षीया प्राविन अक्टेर दम्पती । २ वर्षको हुँदा म्यान्मारबाट आमासँगै बंगलादेश पुगेका उनी त्यहीँ हुर्किए । एक गैरसरकारी संस्थामा राम्रै कमाइ पनि गर्थे । ७ वर्षीया छोरीका पिता मलिक भन्छन्, ‘राम्रो कमाइ थियो, जीवन ठीकै चलेको थियो । तर लगातार चोरीडकैती भयो ।’ असुरक्षा भएपछि आफूहरू बंगलादेश छोडेर हिँडेको उनले बताए । तीन महिनाअघि भारतको नयाँदिल्ली आइपुगेका उनीहरूलाई आईएस भनिने भारतीय दलालले १० हजार भारुका लागि कलंकी ल्याइपुर्‍याएको रहेछ । उनले भने, ‘काँकडभिट्टासम्म त आईएससँगै आएका थियौं, त्यसपछि हामीलाई बस चढाएर ऊ फर्कियो ।’

एक रोहिंग्या शरणार्थीका अनुसार अहिले दलालको काम गरिरहेका स्वदुला आमिन तीन वर्ष लसुनटारमै बसेका थिए । अहिले प्रेम विवादले भारत फर्किए पनि उनी उतै मोटो रकम लिएर रोहिंग्या नेपाल छिराउने काममा सक्रिय छन् । ती शरणार्थीले स्वदुलाले मात्रै सन् २०२२ भित्रमा ११ सय थप रोहिंग्या नेपाल ल्याउने योजना सुनाएको बताए ।

संगठित मानव तस्करको गिरोहको पासोमा परेर बंगलादेशबाट रोहिंग्या शरणार्थीहरू नेपाल भित्रिरहँदा पनि सरकारी निकायलाई भने यसबारे पत्तो छैन । ‘रोहिंग्यालगायत शरणार्थी अन्तर्राष्ट्रिय नाकाबाट भित्रिन नदिन नेपाल प्रहरीलाई सुरक्षा व्यवस्था कडा गर्न निर्देशन छ,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, ‘तर के कति रोहिंग्या भित्रिए र कसरी भित्रिन्छन् भन्ने जानकारी छैन । भित्रिसकेका शरणार्थीलाई फर्काउन सजिलो छैन ।’

Published on: 16 September 2021 | Kantipur

Link

Back to list

;