s

अमेरिका छिर्न खोज्दा बिजोग कोस्टारिकामा २६ र ग्वाटेमालामा १६ पक्राउ

- चन्द्रशेखर अधिकारी, काठमाडौं
 
गोरखा स्थायी घर बताउने शिला लामिछाने (नाम परिवर्तन) दलालको भनाइ मान्दै हवाई, जल र स्थल मार्ग भएर मेक्सिकोबाट अमेरिका पुगिन् । अहिले त्यो यात्रा सम्झिंदा मुर्छा पर्छिन् । 
 
उनी काठमाडौंबाट थाइल्यान्ड हुँदै अफ्रिका, त्यसपछि जल र स्थल मार्ग हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको पुगिन् । त्यहाँबाट रेल र लरी चढेर अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परिन् । स्वदेश फर्कने सर्तमा ३७ दिनमा छुटिन् । फेरि अर्को प्रयासमा अमेरिका पुगिन् । जेलमा बिताएको समयसहित काठमाडौंबाट हिँडेको पाँच महिना २५ दिन लाग्यो । त्यसबीचमा आफ्नो अस्मितासहित ठूलो धनराशि सकिन् । उनको २३ लाख रुपैयाँ खर्च भयो । युवतीलाई २३ लाख लाग्दा युवालाई भने त्यसको दोब्बर लाग्नेसमेत थाहा पाइन् ।
अमेरिकास्थित नेपाली दूतावासमा केही वर्षयता महिनामा ४/५ जना पीडित आउने गरेका छन् । दूतावास अधिकारीका अनुसार दलालले बाटोमा यौनशोषण गर्छन् । जोखिमपूर्ण यात्राका कारण उनीहरूमा जीवनप्रति नै निरासा पैदा हुन्छ । स्नातक र स्नातकोत्तर गरिसकेका धेरै नेपाली अमेरिका जान चोरबाटो प्रयोग गरिरहेका छन् । ‘यो पीडा सुन्न नसकेर म दिल्लीस्थित दक्षिण अमेरिकी मुलुकका दूतावास पुगेर समस्याको निराकरणमा पहल गरिरहेको छु,’ नेपाली राजदूत अर्जुनकुमार कार्कीले भने । 
 
यसरी नेपालीलाई स्थल वा अन्य कुनै मार्ग प्रयोग गरेर अमेरिकालगायत विकसित मुलुक लैजाने ठूलो गिरोह छ । त्यसमा देखिने गरी कोही नभए पनि नेपालमा साना कन्सल्टेन्सी, गैरसरकारी संस्था, म्यानपावर केन्द्रहरू रहेको बुझाइ सरकारको छ । उनीहरूसँगको सम्पर्कमा भने डरलाग्दो समूह रहेको हुन सक्ने राजदूत कार्कीको शंका छ । दक्षिण अमेरिकी मुलुकका जेलमा ४ सयभन्दा बढी नेपाली छन् । 
उनीहरू कोस्टारिका, ग्वाटेमाला, भेनेजुयला, मेक्सिको, ब्राजिल, अर्जेन्टिनालगायत देश हुँदै अमेरिका जाने प्रयासमा थिए । त्यहाँको कानुनअनुसार धेरै नेपाली बढीमा डेढ महिना जेल परेर छुट्ने गरेका छन् । परराष्ट्र प्रवक्ता ताराप्रसाद पोखरेलले भने, ‘यति धेरै नेपालीले अवसरका लागि जोखिम मोलेको देख्दा छक्क लाग्छ ।’ पक्राउ पर्नेहरूसँग कुनै कागजात नहुने भएकाले भाषा र गाउँको अवस्था सोधेर नेपाली भन्ने पत्ता लगाउनुपर्ने अवस्था रहेको अमेरिकास्थित नेपाली दूतावासले परराष्ट्रलाई लेखेको पत्रमा उल्लेख छ । यस्तो धन्दामा केही पूर्व र वर्तमान कूटनीतिज्ञ वा साना कर्मचारी लागेको आशंकामा अनुसन्धान थालिएको छ । 
 
यसैबीच, अमेरिका जाँदै गरेका २६ नेपाली दक्षिण अमेरिकी मुलुक कोस्टारिकामा पक्राउ परेका छन् । उनीहरू ट्रक चढेर निकारागुवा, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिकातर्फ जाँदै थिए । कोस्टारिकाको ‘द टिको टाइम्स न्युज’ का अनुसार उनीहरूसँग अमेरिका जान आवश्यक कानुनी कागजात नभएपछि पक्राउलगत्तै अमेरिकास्थित दूतावासमा जानकारी दिएका थिए । ट्रकबाट निकारागुवातर्फ गइरहेका ५१ जनालाई आप्रवासन अभियोगमा प्रहरीले गिरफ्तार गरेकामध्ये २६ नेपाली छन् । अन्य ९ बंगलादेशी, ९ सोमालियाली, ४ इरिट्रियाली, दुई इराकी र एक पाकिस्तानी छन् । यसअघि दूतावासले ग्वाटेमालामा १६ नेपाली पक्राउ परेकोसमेत जानकारी गराएको थियो । त्यसअघि मेक्सिकोको जेलमा रहेका ५२ नेपालीलाई छुटाउने र नेपाल फर्काउन समेत दूतावासले प्रयास गरिरहेको छ । सरकारी अनुमानमा अहिले पनि चार हजारभन्दा बढी नेपाली अमेरिका र युरोप छिर्ने लोभमा कहीं कतै बाटोमा रहेको हुनसक्ने उल्लेख छ ।
 
Published on: 1 January 2016 | Kantipur

Back to list

;