s

एम्बुलेन्स चालकको पीडा : घरबेटीले छिर्न दिँदैनन्, छिमेकीले छिछि गर्छन्

शिव उप्रेती

 

गोरखा : एम्बुलेन्स चालक हरिशरण गोदारले गत जेठ २७ गते गण्डकी गाउँपालिकाका पाँच जना कोरोना संक्रमितलाई गोरखा अस्पतालको आइसोलेसनमा ल्याए। संक्रमित ल्याएपछि प्रहरी र चिकित्सकले उनलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरे।

गरिखाने गाडी थन्क्याएर गोदार १० दिन घरभित्रै बसे। दैनिक ज्यालादारीमा काम गर्ने आफू १० दिनसम्म थन्किएर बस्नुपर्दा हातमुुख जोर्न समस्या भएको उनको गुनासो छ। ‘हामी त दैनिक ज्यालादारी गर्ने मजदुर हौं। एकफेर संक्रमित बोकेपछि यसरी घरभित्रै दुई हप्तासम्म थन्किएर बस्दा हातमुख कसरी जोर्ने, परिवार कसरी पाल्ने’, उनले भने।

संक्रमित बोक्ने एम्बुलेन्स चालकको विषयमा छिटो निकास निकाल्नुपर्ने गोदारको तर्क छ। संक्रमित बोकेर साँझ डेरामा जाँदा घरबेटीले छिर्न नदिने र छरछिमेकले पनि छिछि र दुरदुर गर्ने भन्दै उनले दुःखेसो पोखे। ‘आफ्नै ज्यूज्यान जोखिममा राखेर संक्रमितलाई बोकेर साँझ घर जाँदा घरबेटीको गनगन सुन्नुपर्छ। छिमेकीले पनि हामीलाई मात्र होइन, परिवारलाई समेत छिछि र दुरदुर गर्छन्’, गोदार भन्छन्, ‘कि हामीलाई पनि खाने बस्ने व्यवस्था गरेर सरकारले क्वारेन्टाइनमा राख्नुपर्छ, चाँडै पीसीआर गरेर काममा फर्कने व्यवस्था गर्नुपर्छ।’ उनले आफ्नो समस्या स्थानीय निकायसँग राख्न पाएका छैनन्।

सबै स्थानीय निकायले समन्वय गरेर संक्रमितलाई मात्र बोक्ने गरी केही निश्चित एम्बुलेन्सलाई प्रयोग गर्नुपर्ने हरिशरणजस्ता चालकको सुझाव छ। अहिलेको संकटमा आफूहरू जस्ता एम्बुलेन्स चालकले अमानवीय व्यवहार सहनु परेको कमल गोर्खालीको पनि गुनासो छ। ‘ज्यान जोखिममा राखेर कुदिरहेका हुन्छौं। बाटोमा भोक लाग्छ, तिर्खा लाग्छ। केही किनेर खानुपर्‍यो भनेर पसलतिर गयो भने साहुजीहरू ढोका लगाएर भित्र जान्छन्। खाजा त परको कुरा पानी पनि किनेर खान पाइँदैन’, उनी भन्छन्, ‘स्वाब लिएर काठमाडौं, पोखरा जाँदा पनि खाना, खाजाको व्यवस्था हुँदैन। आफैंले घरबाट झोलामा हालेर लगेको छ भने खान पाइयो, नत्र पाइँदैन।’

एम्बुुलेन्स चालकसँग गुणस्तरीय पीपीई नभएको र सरकारले सेवाग्राहीलाई प्रयोग गर्न नसिकाइएको नसिकाएको गोर्खालीको भनाइ छ। ‘भएको लोकल पीपीई लगाउन पनि जान्दैनौं, खोल्न पनि जान्दैनौं, कोही कोहीले पीपीई खोलेर सिटमुनि कोचेका हुन्छन्’, उनले भने। संक्रमित बोकेपछि अन्यत्र बिरामी आफ्नो एम्बुलेन्समा चढ्न नमान्ने र ग्यारेजमा समेत मर्मत सम्भार गर्न हिचकिचाउने चालकहरूको गुनासो छ।

Published on: 22 June 2020 | Annapurna Post

Link

Back to list

;