s

अमरलाई मृत्युदण्डबाट जोगाउँछु: प्रधानमन्त्री

होम कार्की

प्रधानमन्त्री बाबुराम भट्टराईले युएईमा मृत्युदण्डको फैसला भएर ९ वर्षदेखि जेल परेका अमरबहादुर बमको जीवन जसरी पर्ने रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् । 'यसलाई गम्भीर ढंगले पहल गर्छौं,' दार्चुलाको धारी गाविसबाट प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आइपुगेकी अमरका पत्नी धनमती र बाबु कर्णबहादुरसमक्ष उनले भने, 'जे सम्भव हुन्छ । सबै उपाय प्रयोग गरेर उहाँको जीवनरक्षा गर्छु ।'

दार्चुलाका सभासद, पूर्वमन्त्री, मानव अधिकारकर्मी संलग्न अमर बचाउ अभियान टोलीका साथ धनमती र कर्णबहादुरले बुधबार प्रधानमन्त्रीलाई भेटेका थिए । उनीहरूले अमरको जीवन प्रधानमन्त्रीको हातमा रहेको भन्दै रक्षा गर्न अनुरोध गरेका थिए ।

'तपाईं आफ्नो बहिनीलाई जति माया गर्नुहुन्छ । मलाई पनि बहिनी नै सम्भिmनुपर्‍यो । मेरो मर्का तपाइर्ंले बुझ्नुहुन्छ,' धनमतीले प्रधानमन्त्री- समक्ष भनिन्, 'विवाह गरेर लोग्नेको घर आइयो । उहाँलाई पर्खेर बसेको १० वर्ष भयो । माइती कसरी जाऊ ?'

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका दार्चुलाका सभासद चन्द्रदेव जोशीले अमर परिबन्दमा फसेकाले दरिलो कूटनीतिक पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

त्यसअघि उनीहरू अमरको जीवनरक्षाको पहल गर्न राष्ट्रपति रामवरण यादवसमक्ष पुगेका थिए । 'यो विषयमा सम्भावनाको विषयमा प्रधानमन्त्रीसँग तुरुन्तै छलफल गर्छु,' राष्ट्रपति यादवले भने, 'हाम्रै पहलले कतारमा चन्द्रशेखर यादवको जीजनरक्षा भयो । अमरको विषयमा पनि छलफल गर्छु ।'

राष्ट्रपति यादवले अमरको जीवनरक्षाका लागि अहिलेसम्म सरकारी तहबाट भएको पहलकदमीको विषयमा तुरुन्तै परराष्ट्र सचिवलाई बोलाएर सोध्ने बताए । सरकारीस्तरबाट भइरहेको ढिलासुस्तीको विषयमा टोलीले कुरा उठाएपछि राष्ट्रपतिले युएईस्थित नेपाली दूतावासको भूमिकाको विषयबारे जिज्ञासा राखे । 'राजदूत के गरी बसिरहेका छन् ?', टोलीसमक्ष उनले सोधे, 'प्रभावकारी भूमिका खेलिरहेका छन् कि छैनन् ?'

बाबु कर्णबहादुरले राष्ट्रपतिसमक्ष भने, 'हजुर अमर तपाईंहरूकै छोरो हो, बचाइदिनुपर्‍यो ।'

पूर्वमन्त्री दिलेन्द्र बडुले युएईको परराष्ट्र मन्त्री नेपाल आउन लागेकाले अमरको विषयलाई मुख्य सूचीमा राखेर छलफल गर्न अनुरोध गरे । 'युएईको शेखलाई सरकारप्रमुख वा राष्ट्रप्रमुखले भेटेर माफी दिन अनुरोध गरे अमरको जीवनरक्षा हुनुका साथै स्वदेश ल्याउन सकिन्छ', बडुले प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष भने ।

भारतीय नागरिक शरद सेट्ठीको हत्या गर्ने भारतीय नागरिकहरू मनोज मुदाना, करनसिंह राजपुतको गाडी अमरले चलाएका थिए । त्यही मुद्दामा सबै जनाले मृत्युदण्ड पाएका थिए । मनोज र करनसिंहले 'आफूहरूको योजनाबारे अमर बेखबर रहेको र उनी दुबईमा व्यवसायिक चालकको भूमिका मात्रै निर्वाह गरेकाले अमर निर्दोष रहेको' ले माफी दिन दुबई अदालतलाई पत्र लेखिसकेका छन् ।

यसैबीच गैरआवासीय नेपाली संघले विदेशमा रहेका सबै नेपालीलाई अमर बचाउ अभियानमा सहयोग गर्न अपिल गरेको छ ।

संघका अध्यक्ष जीवा लामिछानेले आफ्ना सबै राष्ट्रिय समन्वय परिषद्लाई अनुरोध गर्दै अपिल गरेका छन् । 'विदेशमा रहेका नेपाली नागरिकको जीवनरक्षाका लागि पहिलेदेखि नै सहयोग गर्दै आएको कुरो यहाँहरू सबैलाई अवगत नै छ', ५६ देशका राष्ट्रिय अध्यक्षहरूलाई उनले अपिल गरेका छन्, 'हामीले यसभन्दा अगाडि नेपाली चेली डोल्मा शेर्पाका लागि डोल्मा बचाउ अभियान सञ्चालन गरेर सहयोग गरेका थियौं । त्यसरी नै पुनः आज एकअर्का नेपाली नागरिकको जीवनरक्षाका लागि सबै गैरआवासीय नेपालीसमक्ष सहयोगका लागि हार्दिक अपिल गर्दछ ।'

Published on: 10 May 2012 | Kantipur

Back to list

;