s

अलपत्र परेका ५० श्रमिकको उद्धार

मनोहर पोखरेल 

राजविराज : कारखाना र यातायात बन्द भएपछि पैदल हिँडेर घर जाउन लागेका ५० जना श्रमिकको सप्तरीबाट उद्धार गरिएको छ ।  'लकडाउन 'को कारण विभिन्न कारखानामा काम गर्ने ५० जना श्रमिकको सप्तरीबाट उद्दार गरी आ-आफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईले जानकारी दिए । 

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामको लागि सरकारले गएको मङ्गलबारदेखि देशैभरि लकडाउन गर्दा कारखानाले समेत विदा दिएपछि श्रमिकहरु अलपत्र परेका थिए । खाद्यान्न अभाव तथा यातायात नपाउँदा सप्तरीसहित मोरङ्गको बिराटनगर, सुनसरीको इटहरी र दुहबीको विभिन्न कारखानामा कार्यरत मजदुरहरु घरका लागि पैदल हिंडेका थिए । 

लकडाउनका बेला सप्तरीस्थित पूर्व-पश्चिम राजमार्गमा हिंडिरहेका श्रमिकलाई राजमार्गको विभिन्न ठाउँमा फेला पारी सोधपुछ गर्दा अलपत्र परेको थाहा पाएपछि उद्धार गरिएको एसपी प्रसाईले जानकारी दिए ।       

उनीहरुलाई प्रहरीले कञ्चनरुप नगरपालिका, रुपनी गाउँपालिकालगायतसँग समन्वय गरी उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सडकमा पैदल हिंडिरहेका श्रमिकलाई स्थानीय तहले चिया, नास्ता खुवाई टिप्परको व्यवस्था गरेपछि सर्लाहीको लालबन्दीसम्म पठाइएको हो । प्रहरीका अनुसार सर्लाहीका ३८, रौतहट, बारा र सिरहाका चार÷चार जना श्रमिकहरुलाई उद्दार गरी सर्लाहीको लालबन्दी सम्म पठाइएको छ । 

श्रमिकलाई गन्तव्यसम्म पुग्न सजिलो होस भनेर गृह मन्त्रालयको आदेशमा ना.१ क ६२६७ नम्बरको टिप्परलाई पास उपलब्ध गराएर पठाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । 

'लकडाउन' को कारण सप्तरीको पूर्व-पश्चिम राजमार्गको विभिन्न ठाउँमा अलपत्र परेका श्रमिक । प्रहरीले स्थानीय तहसँग समन्वय गरी श्रमिकहरुलाई सर्लाहीको लालबन्दीसम्म पठाएको छ ।

Published on: 29 March 2020 | Annapurna Post

Link

Back to list

;