s

अलपत्र परेका नेपालीलाई उत्तर प्रदेशका मन्त्रीले गरे सहयोग

सुरेशराज न्यौपाने 

नयाँदिल्ली — भारतको राजधानी दिल्लीबाट नेपाल जान हिँडे पनि बीच बाटोमै अलपत्र परेका ९० भन्दा बढी नेपालीहरुलाई उत्तरप्रदेशका एक मन्त्रीले खाने प्रबन्ध मिलाएका छन् । बासका लागि रामपुर प्रशासनले प्रबन्ध गरिदिए पनि खाने व्यवस्था भने उत्तरप्रदेशका जलशक्ति मन्त्री बलदेव ओलखले गरिदिएका हुन् । खानबस्ने प्रबन्ध भएपछि अलपत्र गरेका नेपालीहरुले तत्कालका लागि धेरै राहत महसुस गरेका छन् । 

तीन दिनअघि दिल्लीको फरिदाबादबाट सुदूरपश्चिम नेपालको गौरीफन्टा जान हिँडेका ९२ जना नेपालीहरु उत्तर प्रदेशको रामपुरमा अलपत्र परेका थिए । सबैजना फरिदावादमा कुक, वेटर र घरमा हेल्परको काम गर्दै आएका थिए । तर, कोरोनाको त्रासका कारण व्यापारव्यवसाय बन्द गएपछि साहुले पूरा तलब पनि नदिइ घर जान भनेको उनीहरुको गुनासो छ । ‘यो लकडाउन कहिलेसम्म भन्ने ठेगान भएन त्यही भएर नेपाल जान पाए हुन्थ्यो भनेर हिँडेका हौं बिचमा अलपत्र हुनुपर्यो,’ बझाङका राजन बानियाँले भने । 

बानियाँका अनुसार दिल्लीकै एक ट्राभल एन्जेसी सञ्चालक बिट्टु भाटियाले उनीहरुलाई नेपालको नाकासम्म पुर्याउने ग्यारेन्टी लिन्छु भन्दै सबैसँग भाडाबापत ४५ हजार भारतीय रुपैयाँ लिएर फरिदावादबाट हिडाँएका थिए । तर, बस सञ्चालकले स्थानीय प्रशासनबाट पूर्वस्वीकृति भने लिएका थिएनन् । जसले गर्दा रामपुरमा पुगेपछि स्थानीय प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै बसलाई नियन्त्रणमा लिएको थियो । बस नियन्त्रणमा लिए पछि उनीहरुको बिचल्लीमा परेका थिए । रामपुरबाट गौरीफन्टा दुई सय किलोमिटर टाढा भएकाले उनीहरु न नेपाल जान सक्थे न दिल्ली फर्किन नै । उनीहरुमध्ये २० जना साना बालबालिका, १५ जना महिला । तीमध्ये केही त भर्खरै सुत्केरी भएका र गर्भवती । 

उनीहरुको अलपत्र परेको खबर सार्वजनिक भएपछि दिल्लीस्थित प्रवासी नेपालीहरु र नेपाली कांग्रेस निकट विद्यार्थी नेता सन्दिप रानाले उद्धारका लागि तत्काल पहल सुरु गरेका थिए । रानाकै पहलमा स्थानीय प्रशासनले तत्कालका लागि उनीहरुलाई रामपुरकै राजकीय आश्रम पद्धति इन्टर कलेजमा राख्ने व्यवस्था गरिदियो । बस्ने ठाउँको प्रबन्ध भए पनि मुख्य समस्या खानाको थियो । 

त्यसमाथि लकडाउनका कारण सामान्य किन्न पनि सम्भव थिएन । त्यसमाथि नेपालीहरु ठाउँका बारेमा परिचित पनि थिएनन् । त्यसपछि रानाकै आग्रहमा मन्त्री ओलखले आफैले अग्रसरता देखाए । र, तत्काल नेपालीहरुका लागि खाने प्रबन्ध गरिदिएका छन् । साथै रानाका अनुसार नेपालीहरु जहिलेसम्म त्यहाँ बस्छन् त्यतिन्जेल खानाको व्यवस्था गरिदिने प्रतिबद्धतासमेत मन्त्री ओलखले व्यक्त गरेका छन् । ‘उहाँले नेपालीहरु बसुन्जेलमा खानाको चिन्ता गर्नुपर्दैन भन्नुभएको छ,’ रानाले भने । 

खान र बस्न व्यवस्था प्रति त्यहाँ रहेका नेपालीहरुले पनि सन्तोष व्यक्त गरेका छन् । ‘खाना बस्नको राम्रो व्यवस्था गरिएको छ, चित्तबुझ्दो छ, अब बाँकी दिन बस्न समस्या छैन,’ क्याम्पमा रहेका बझाङका राजन बानिँयाले कान्तिपुरसँग भने । यसैगरी स्थानीय प्रहरी अधिकारीरुले पनि नेपालीहरुलाई समस्या पर्न नदिने जनाएको छ । रामपुरका एसीपी शोगुन गौतमले लकडाउनको अवधिसम्म नेपालीहरुलाई कुनै समस्या हुन नदिने बताएका छन् । ‘हाम्रो जिम्मेवारी भयो, उनीहरुको खाने र बस्नेमा केही समस्या हुने छैन, त्यही हो लकडाउनसम्म चाहिँ बस्नुपर्छ,’ गौतमले कान्तिपुरसँग भने ।

Published on: 31 March 2020 | Kantipur

Link

Back to list

;