s

अलपत्र कामदारलाई सम्बन्धित जिल्लामा पुर्‍याइने

लकडाउनका कारण अलपत्र परेका निर्माण मजदुरलाई सरकारले उद्धार गरी सम्बन्धित जिल्लामा पठाउने भएको छ । कतिपय जिल्लामा उद्धार भइसकेको र अन्यमा जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

विभिन्न निर्माणसम्बन्धी कार्यहरू रोकिएका कारण कामदारका रूपमा कार्य गरिरहेका र हाल अलपत्र परेका नेपाली नागरिकलाई आ–आफ्नो गृह जिल्लासम्म उद्धार गरी पु-याइदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूलाई निर्देशन दिइसकिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।

रूपन्देही, बाँके, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, दैलेख, तेह्रथुमलगायतका जिल्लाबाट उद्धार भइसकेको छ भने अन्य जिल्लामा त्यस्ता अलपत्र परेका नागरिक भए उद्धार गर्ने कार्यमा समन्वय गर्न निर्देशन दिइएको गृहले जनाएको छ ।

सरकारले मुस्ताङ, कास्की, सोलुखुम्बुलगायतका विभिन्न जिल्लामा अलपत्र परेका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा हवाई तथा स्थल सवारीसाधनमार्फत बिहीबारबाटै उद्धार गरेर सम्बन्धित देशमा पठाउने निर्णय गरिरहेको जनाएको छ । 

गृह मन्त्रालयको बैठकले फोहोरमैला व्यवस्थापनसम्बन्धी समस्या समाधानका लागि  महानगरपालिकाले स्थानीय तहहरूसँग आवश्यक समन्वय गरी बाधा अवरोध हटाउने र फोहोरमैला विसर्जन गर्ने कार्यलाई सुचारु गराउन स्थानीय प्रशासन र सुरक्षा निकायहरूले आवश्यकताअनुसार सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ ।

सुरक्षा निकायका प्रमुखहरूसँग बैठक बसी मालबाहक सवारीसाधनको आवागमनका विषयमा देखिएको द्विविधा अन्त्य गर्न निर्देशन दिइएको छ । औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपंक्षी र माछाको दाना, कुखुराको चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारीसाधनलाई सुचारु गर्ने, यस्ता सवारीसाधनले यात्रु ओसारपसार गर्न नपाउने गरी कार्यान्वयन गर्न स्थानीयस्तरमा खटिएका सुरक्षाकर्मीलाई ड्युटीमा खटिनुभन्दा अगाडि दैनिक रूपमा जानकारी गराउनसमेत निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

Published on: 28 March 2020 | Nayapatrika

Link

Back to list

;