s

अल्वानिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने प्रहरी फन्दामा

झापा : वैदेशिक रोजगारीका लागि युरोपको अल्वानिया पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका–२ स्थित पाराखोपी निवासी ३८ वर्षीय हरि भन्ने भीमप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

पौडेलले १५ लाख ७ हजार रुपैयाँ ठगेको भन्दै मेचीनगर नगरपालिका– ११ स्वतन्त्र शिवाकोटी, विनोदकुमार ढकाल, मनकुमार बगा र डाकबहादुर मिश्रले संयुक्त रुपमा वैदेशिक रोजगार विभागमा उजुरी दिए थिए । विभागको पत्राचार अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडले पौडेललाई पक्राउ गरेको डीएसपी चन्दले बताए । उनलाई आजै विभाग पठाउन लागेको उनको भनाइ छ ।

विगत लामो समयदेखि गाउँघरमा एजेन्टको काम गर्दै आइरहेका पौडेलले पीडितहरूलाई युरोपको अल्वानियामा वायर हाउसका लागि टुना मार्केटमा काममा लगाइदिन्छु भनी ठगी गरेको भनी खुलेको छ ।

उनले त्यहाँ जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र मासिक तलब १ लाख २५ हजार हुन्छ भनी विश्वास दिलाएका थिए ।
दुई वर्षको काम लागि उनले भिषा बापत सुरुमा प्रति व्यक्ति एक लाख रुपैयाँ लिएको पाइएको छ । ठगीमा परेको थाहा पाएपछि पीडितहरूले बैंक स्टेटमेन्टसहित विभागमा उजुरी दिएको पत्रमा उल्लेख छ ।

Published on: 6 May 2024 | Annapurna Post

Link

Back to list

;