s

अख्तियारको अनुसन्धान विरोधमा सामूहिक सरुवा माग्दै अध्यागमन कर्मचारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनावश्यक हस्तक्षेप गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ४० कर्मचारीले सामूहिक सरुवा मागेका छन्। उनीहरूले कार्यालयमा काम गर्ने उपयुक्त वातावरण पनि नभएको आरोप लगाएका छन्।

कर्मचारीहरूले अख्तियारको हस्तक्षेप रहिरहे अध्यागमनमा कामै गर्न नसक्ने चेतावनीसमेत दिए। पछिल्लोपटक विमानस्थल अध्यागमनले मागविपरीत एक सय ७२ जना नेपाली कामदारलाई दुबई र कतार पठाएको उजुरी परेपछि अख्तियारले छानबिन गरिरहेको छ।

रोजगारदाता कम्पनीले पठाएको माग र कामदारसँग भएको सम्झौता फरक भएको तथा विमानस्थलबाट सेटिङमा त्यस्ता कामदार पठाएको सूचना अख्तियारले पाएको थियो।

विभिन्न म्यान पावर कम्पनीले मागविपरीत कामदार पठाएको र त्यस्ता व्यक्तिलाई रोक्नुको सट्टा पठाउन अनुमति दिएको भन्दै अख्तियारले ती कर्मचारीमाथि छानबिन अघि बढाएको छ। अख्तियारले माघ १४ गते अध्यागमनलाई पत्र लेख्दै पुस १४ पछिको एक महिनामा दुबई र कतार गएका कामदारको विवरण मागेको छ। आयोगको पत्र पाएलगत्तै कर्मचारी आक्रोशित भएका हुन्।

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख वीरेन्द्रकुमार यादवले आफ्ना केही कर्मचारीले अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेललाई भेटी अख्तियारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको बताए। उनले भने, 'केही कर्मचारी विभाग जानुभएको थियो, सायद महानिर्देशकसँग छलफल गर्नुभयो होला।' यादवले आफ्ना कर्मचारीले कुनै गल्ती नगरेको दाबी पनि गरे।

महानिर्देशक पौडेलले भने अख्तियारसँग आफूले कुरा गर्ने भन्दै काममा फर्किन कर्मचारीलाई आग्रह गरेका थिए। उनले बढी विवाद गरे पाएको जिम्मेवारीसमेत गुम्ने चेतावनी दिँदै सतर्क हुन पनि निर्देशन दिएका थिए।

अध्यागमनका कर्मचारीहरू अख्तियारले पठाएको पत्र र सामूहिक सरुवाको मागसहितको पत्र लिएर गत सोमबार महानिर्देशक पौडेलसँग छलफल गर्न विभाग पुगेका थिए। छलफलमा सहभागी एक कर्मचारीले भने, 'विभागले अख्तियारको रबैया रोक्न सक्नुपर्‍यो, नत्र हाम्रो सामूहिक सरुवा गर्नुपर्‍यो।'

अध्यागमन कार्यालयका कर्मचारीले अन्तिम श्रम स्वीकृति दिने काम वैदेशिक रोजगार विभागको भएकाले त्यसको जिम्मा पनि उसैले लिनुपर्ने तर्क गर्दै आएका छन्।

Published on: 6 February 2014 | Annapurna Post

Back to list

;