s

अझै करिब दुई सय नेपाली दिल्लीमै अलपत्र

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपाल जान हिँडेका करिब दुई सय नेपाली अझै दिल्ली र आसपासको क्षेत्रमा अलपत्र परेका छन् । भारतमा कोरोना महामारीको त्रास बढ्दै गएपछि कामगर्दै आएको व्यापारव्यवसाय बन्द भएपछि नेपाल जान भनेर उनीहरु हिँडेका हुन् ।

कोरोना महामारी फैलन नदिन भारतको केन्द्रीय तथा राज्य सरकारहरुले लकडाउन गरेपछि भारतभरि नै व्यापारव्यवसाय ठप्प हुन पुगेको छ । जसका कारण भारतका दिल्लीलगायतका विभिन्न शहरमा काम गर्दै आएका नेपालीहरु घर जान बाध्य भएका छ्न । तर, यात्रुवाहक रेल र बससेवा बन्दसँगै पुरै भारतभर लकडाउन गरिएका कारण सबै जना दिल्ली र छेउछाउमा त्यसै अलपत्र परेका छन् ।

यिनीहरुमध्ये ८० भन्दा बढी नोयडा सेक्टरमा अलपत्र छन् । उनीहरुमध्ये पचासभन्दा बढी अधिकांश त्यही क्षेत्रमा क्यान्टिन, पसल र ठेलागाडा चलाउनेलगायतका पेशामा संलग्न थिए। धेरैजसो दैनिक ज्यालादारीमा काम गर्दै आएका कारण कोरोना महामारीको त्रासका कारण व्यवसायहरु बन्द उनीहरुको रोजगारी पनि गुमेको छ । त्यसमाथि उनीहरु घर जान समेत पाएका छैनन् । त्यसबाहेक २५ जना गोवाबाट आएकाहरु छन् ।

त्यसैगरी करीब पचासभन्दा बढी हरियाणाको गुवगावँको मेदान अस्पताल छेउछाउमा अलपत्र परेको बताइएको छ । बैंग्लोरबाट आएका २५ जना त दिल्लीकै छतरपुरमै विगत तीन दिनदेखिनै अलपत्र अवस्थामा छन् । यसका अतिरिक्त गोवाबाट आएका दश जना दिल्लीको पन्जाबी बागमा अलपत्र छन् ।

त्यसैगरी हरियाणाकाे फरिदावादमा काम गर्ने ३२ जना कम्पनी बन्द भएपछि नेपाल जान हिँडेकोमा सबैतिर बन्द भएपछि त्यत्तिकै अलपत्र परेका छन् । कम्पनीले काम बन्द भएपछि बस्न नदिएपछि सडकमा आएका हुन् ।

दक्षिण भारतको चेन्नईबाट एक महिने दूधे बालकसहित आएको ६ जनाको नेपाली टोली विगत तीन दिनदेखि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल छेउको जंगलमा रहेका अनकन्टार ठाउँमा बसिरहेका छन् । यसरी अलपत्र परेकाहरुको कोही सडकमा यत्तिकै बसेका छन् भने कोही भूखण्डहरजस्ता भवनहरुमा । त्योभन्दा पनि भारतीय प्रधानमन्त्री मोदीले मंगलबारसाँझ पुरै देशभर लकडाउन घोषणा गरेपछि त उनीहरुको थप बिचल्ली भएको छ ।

उक्त घोषणा पछि यसअघि खुल्ने गरेका किराना पसलहरु पनि बन्द भएका छन् । जसले गर्दा कतिपयसँग पैसा भएर पनि खानेकुरा किन्न सकेका छैनन् । यदि यही अवस्था लामो समयसम्म रहने हो भने आफूहरु भोकै मर्ने उनीहरुले बताए ।

नोयडामा एउटा क्यान्टिमा दैनिक ज्यालादारीमा काम गर्दै आएका अर्घाखाँची, मालारानी गाउँपालिकाका राजेश खनालले भोकै मर्ने अवस्था सिर्जना भएको बताए । ‘काम बन्द भएपछि यहाँ बस्ने अवस्था छैन । पुलिसले पनि बाहिर निस्कन दिँदैन, अलिअलि भएको खर्च पनि सकिइसक्यो,’ खनालले कान्तिपुरसँग भने ।

आफूहरुलाई दूतावासले जसरी भए पनि नेपाल पठाउन पहल गर्नुपर्ने खनालको माग छ । आफूहरु मध्ये कतिपय बिरामी पर्ने अवस्थामा पुगेको र यदि त्यस्तो भएमा उपचारका लागि कहाँ जाने भन्नेसमेत अन्योल रहेको उनले बताए । यसरी दिल्लीमा अलपत्र पर्नु भन्दा आफ्नै देशमा गएर बरु क्वारान्टाइनमा भए पनि बस्न तयार रहेको खनालको भनाइ छ ।

प्रवासी नेपाली संगठनहरुले पनि यसरी अलपत्र परेका नेपालीहरुलाई नेपाल सरकारले भारतसरकारसँग समन्वय गरेर उचित प्रबन्ध गर्नुपर्ने माग गरेका छन् । उनीहरुले अलपत्र परेका नेपालीहरुलाई सकेसम्म मेडिकल जाँच गराएर नेपाल पठाउनु नभए सबैलाई एउटा ठाउँमा अस्थायी क्याम्प बनाएर राख्ने व्यवस्था गर्न आग्रह गरेका छन् । ‘दूतावास र सरकारले भारत सरकारसँग समन्वय गरेर उनीहरुको केही न केही व्यवस्थापन गर्नुपर्छ,’ अखिल भारत नेपाल एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले भने ।

खडकाले यीबाहेक पनि दिल्ली र एनसिआरमा पाँचसयभन्दा नेपालीहरु केही समयका लागि आफन्त र चिनेजानेकोमा बसेको बताए । र, केही दिनपछि उनीहरुको पनि बिचल्ली हुने खड्काको भनाई छ । ‘तिनीहरु कतिदिन बस्छन् । पैसा भए पनि किन्ने अवस्था छैन । ती आफन्तहरुले पनि कति दिन पाल्छन् र ? केही दिन पछि त उनीहरुको विचल्ली हुनेवाला छ,’ खड्काले भने ।

तर, दिल्लीस्थित नेपाली दूतावासले भने अलपत्र परेका सबै नेपालीहरुलाई घर लैजान सम्भव नभए पनि आवश्यक परेको खण्डमा खाना र आकस्मिक उपचारको व्यवस्थ गर्न तयार रहेको बताएको छ । ‘अहिले नेपाल लैजाने अवस्था त छैन तर खाना र विरामीलाई तत्काल उपचार गर्नुपर्ने आएको अवस्थामा दूतावासले समन्वय गर्छ र सबै नेपालीहरुलाई दूतावासमा सम्पर्क गर्न अग्रह पनि गरेका छौं,’ दूतावासका प्रवक्ता हरि ओडारीले भने ।

Published on: 25 March 2020 | Kantipur

Link

Back to list

;