s

अझै रोकिएन एयरपोर्टबाट फर्काउने क्रम

काठमाडौं : कामदार भिसामा श्रम गरेर वैदेशिक रोजगारीमा उड्न लागेका नागरिकलाई अध्यागमनले फिर्ता पठाउने क्रम रोकिएको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शुक्रबार पनि ३७ जनालाई उड्न रोक लगाएको हो।

यसअघि असार २६ गते बेलुका ३७, २७ गते बेलुका ८७ र २८ गते बिहान १४ जनालाई फिर्ता पठाइएको थियो। २६ गते अध्यागमनले फिर्ता गरेका कामदारमध्ये ३७ जनालाई बिहीबार फेरि अध्यागमनले फर्काएको हो। फकाईएका ३७ जना कामदारहरूलाई कम्पनीहरूले फेरि टिकट काटेर पठाउन लागेको थियो। तर, अध्यागमन भने उनीहरूले पेस गरेको कागजात शङ्कास्पद लागेर फर्काएको बताउँछ ।

निरकमल एचआर मेनपावरमार्फत जजिरा एयरलाइन्सबाट जान लागेका ११ जना र सलाम एयरबाट ४ जना उड्न लागेका थिए। युथ मेनपावरमार्फत् जजिराबाट १३ जना र सलाम एयरबाट ९ जना कतार जान लागेका थिए। २६ गते एयरपोर्टबाट फर्काइएका कामदारलाई पुनः टिकट काटेर पठाएकोमा बिहीबार सलाम र जजिरा एअरबाट कुबेत जान लागेका कामदारलाई एउटा पत्र थमाएर यात्रा अनुमति नदिइ फर्काइएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए।

सबै प्रक्रिया पूरा गरे पनि श्रमिकलाई कर्मचारीले दुःख दिने नियतले गन्तव्य मुलुक जान नदिएको उनले बताए। उनले भने, ‘यसमा अध्यागमन विभागका महानिर्देशकको एकल बदनियत देखिन्छ।’

कामदारलाई थमाएको पत्रमा, ‘२६ गते कागजातलगायतका विषय शंकास्पद भएको भनी प्रस्थान अनुमति नदिएकोमा निजको भिसालगायतका अन्य कागजातहरू छानविनको प्रक्रियामा रहेकाले अध्यागमन विभागका महानिर्देशकज्यूको निर्देशानुसार प्रस्थान अनुमति नदिइएको।’ भनेर उल्लेख गरिएको छ।null

सरकारका सबै प्रक्रिया पुरा गरी र श्रम लिएर वैदेशिक रोजगारीमा हिँडेका नागरिकलाई एयरपोर्टबाट पटकपटक फिर्ता गरिएपछि अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालको बेइज्जत भएको नेपाल वैदेशिक रोजगार व्यवसायीले जनाएको छ। संघका महासचिव मेघनाथ भुर्तेलले अध्यागमनको यस्तो कार्यले अन्तर्राष्ट्रिय बजारमा नेपाल सरकारप्रति अविश्वास पैदा हुने स्थिति आएको धारणा राखे। उनले नेपाल सरकारको एउटा निकायले प्रमाणीकरण गरेको डकुमेन्ट अर्को निकायले नक्कली भन्न थालेपछि अन्तर्राष्ट्रिय बजारमा नेपालकै बेइज्जत हुने अवस्था आएको धारणा राखे।

महासचिव भुर्तेलले यसअघि पनि यस्तै भिसामा कुवेत लाखौं नागरिक गइइसकेकोसमेत दाबी गरे। उनले भने, ‘यस्तै भिसामा यसअघि लाखौं नागरिक कुवेत पुगेका छन्। तिनलाई त्यहाँको सरकारले अवैधानिक भनेको छैन। यहाँको अध्यागमनले नाटक मात्रै गरेको छ।’ उनले अध्यागमनले आर्थिक चलखेलका लागि नाटक गरेकोसमेत दाबी गरे।

Published on: 17 July 2023 | Annapurna Post

Link

Back to list

;