s

एयर अरेबियाद्वारा चार्टर उडान नियम उल्लंघन

सुरज कुँवर

एयर अरेबियाले नेपाल सरकारले बनाएको चार्टर उडान नियम उल्लंघन गरेको पाइएको छ । यूएईको शारजाहबाट पीसीआर परीक्षण गरेका र नगरेका १ सय ६१ नेपाली यात्रु बोकेर भदौ ९ गते काठमाडौं अवतरण गरेको उडानमा एयर अरेबियाको त्रुटि देखिएको हो । 

उडानमा त्रुटि देखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयर अरेबियालाई सचेत गराउने निर्णय गरेको छ । २५ अगस्ट (भदौ ९ गते) को उक्त उडानमा एयर अरेबियाको त्रुटि देखिएकाले बुधबार पर्यटमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले सचेत गराउने निर्णय गरेको सहसचिव कमलप्रसाद भट्टराईले बताए । ‘२५ अगस्ट २०२० मा भएको एयर अरेबियाको उडानबाट पीसीआर जाँच गराई आएका १ सय ४२ जनाको होटल क्वारेन्टाइन बापतको रकम सम्बन्धित यात्रुहरुलाई फिर्ता दिन र अब उप्रान्त यस्तो कार्य नगर्न/गराउन एयर अरेबियालाई सचेत गराउने’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता समेत रहेका सहसचिव भट्टराईले मन्त्रालयको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई दिइएको बताए । उनका अनुसार, एयर अरेबियालाई प्राधिकरणले सचेत गराउनु पर्ने छ । यो घटना सार्वजनिक भएपछि पर्यटन सचिव केदारबहादुर अधिकारीले वायुसेवाको लापर्बाही भएको कारण देखाउँदै यात्रुहरुको उजुरी परेपछि पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा शुक्रबार तीन दिनभित्र प्रतिवेदन बुझाउन ३ सदस्यीय छानबिन कमिटी बनाएका थिए ।

सहसचिव भट्टराईले छानबिन समितिको प्रतिवेदनबारे विस्तृत अध्ययनबारे बोल्न चाहेनन् । ‘प्रतिवेदनबारे अहिले केही नबोलौं,’ सहसचिव भट्टराईले भने, ‘आज निर्णय भएर पनि आइसक्यो अब प्रतिवेदनमा किन जानु पर्‍यो ।’ स्रोतका अनुसार, उक्त उडानमा १ सय ४२ जनाको पीसीआर नेगेटीभ, १८ जनाले आरडीटी जाँच गरेका थिए भने एक जना यात्रु कुनै पनि जाँच नगरी नेपाल आएका थिए ।

एयर अरेबियाका नेपालस्थित प्रमुख गणेश आर्यनले उद्धार उडानको अनुमतिमा अति ढिलाई भएका कारण कठिनाई उत्पन्न भएको समितिलाई बयान दिएका छन् । त्यसैगरी नेपालस्थित यस एयरलायन्सको एजेन्ट कम्पनी प्रेसिडेन्ट ट्राभलका संचालक सिदार्थ थापाले उक्त उडान अनुमति पाउँदा अन्तिममा आएर सरकारले शत प्रतिशत पीसीआर नेगेटिभ भएको हुनु पर्ने बनाइदिएको जानकारी ढिलो गरी प्राप्त भएकाले आरडीटी र पीसीआर जाँच भएका दुबै प्रकारका यात्रु पर्न गएको स्पष्टीकरण दिएका छन् । उनले कुनै पनि यात्रुसँग रकम नलिएको तर रोजगारदाता कम्पनीले नै प्रतियात्रु ५ सय ६० दिरामसम्म होटल खर्च दिएको भनेका छन् ।

नेपाल सरकारले भदौ ४ गतेअघि चार्टर उडानमा स्वदेश फर्किने नेपाली यात्रुलाई पीसीआर र आरडीटी नेगेटिभ भएको वा चिकित्सकले बनाइदिएको ‘फिट–फर–फ्लाई’ डकुमेन्ट लेखिएको दिए मान्ने नियम बनाएको थियो । तर ४ गतेको मन्त्रिपरिषद् निर्णयले यूएईलाई पीसीआर सहज भएको मुलुकको सूचीमा राखेको थियो । उक्त निर्णयले जहाज चढ्नु ७२ घन्टाभित्रको अनिवार्य पीसीआर जाँच भनेको छ ।

भदौ १६ गतेदेखि खुला गरिएको नियमित उडानमा आरडीटी जाँच र चिकित्सकले बनाइदिएको ‘फिट–फर–फ्लाई’ डकुमेन्टका आधारमा नेपाल आउन रोक नै लगाइसकेको छ । समितिले उद्धार उडानमार्फत आएका यात्रुलाई होटल क्वारेन्टाइन राख्ने सम्वन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट छिटो–छिटो निर्णय परिवर्तन हुनुलाई पनि कमजोरी भनेको छ । ‘यसरी भएका निर्णयहरु सम्बन्धित वायुसेवा कम्पनी र नेपाली कूटनैतिक नियोगहरुमा स्पष्ट रुपमले समयमै नपुग्दा यात्रुहरुले पर्याप्त सूचना पाउन नसकेको देखियो,’ उच्च स्रोतले उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ । समितिले आगामी दिनमा उडान अनुमति दिँदा नै पीसीआर जाँचबारे स्पष्ट शर्तका रुपमा समयमै जानकारी गराउन सबै निकायलाई सुझाएको छ ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सूचनाअनुसार, परराष्ट्र मन्त्रालयमार्फत आबुधाबीस्थित नेपाली दूतावासबीच पनि समन्वय अभाव रहेको जनाएको छ । त्यस्तै पर्यटन मन्त्रालय र दूतावासले प्रकाशन गरेको सूचनामा पनि एकरुपता नभएको पाइएको छ ।

मन्त्रिपरिषद्, सीसीएमसी, संस्कृती, पर्यटन मन्त्रालय, परराष्ट्र मन्त्रालय, दूतावास, वायुसेवाबीच प्रभावकारी सूचना नभएकै कारण अघिल्लो मंगलबार यूएईको शारजहबाट आएका १ सय ६१ जना यात्रु ९ दिनदेखि काठमाडौंका दुइटा होटलमा बसिरहेका छन् ।

कुल १ सय ६१ मध्ये सिनामंगलको एयरपोर्ट होटलमा ८१ जना, गौशालाको आनन्द पशुपती होटलमा ७५ जना, लर्ड मिराजमा ३ जना र पार्क भिलेजमा २ जना बसिरहेका छन् । उनीहरु ७ दिनमै घर फर्किनु पर्ने थियो । तर, बुधबार बेलुकीसम्म उनीहरुको कहिले घर फर्किनेबारे अन्योल नै थियो ।

Published on: 2 September 2020 | Kantipur

Link

Back to list

;