s

ऐन कार्यान्वयनको माग गर्दै सडकमा सुते चिया श्रमिक

अर्जुन राजवंशी

श्रम ऐन कार्यान्वयनको माग गर्दै आन्दोलित चिया श्रमिकहरूले झापाको बिर्तामोडस्थित सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले मङ्गलवार बिर्तामोडको मुक्ति चोकस्थित सडकमा दिउँसो १ देखि २ बजेसम्म सुतेर एक घण्टा चक्काजाम गरी विरोध जनाएका हुन् ।

श्रम ऐन कार्यान्वयनको माग गर्दै ३८ दिनदेखि आन्दोलित चिया श्रमिक मङ्गलवार झापाको बिर्तामोडस्थित मुक्तिचोकको सडकमा सुतेर विरोध प्रदर्शनमा । सरकारले गत साउनदेखि लागू गरेको श्रम ऐन ०७४, श्रम नियमावली ०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गर्दै चिया श्रमिकहरू चैत १७ गतेदेखि सडक आन्दोलनमा छन् ।सरकारले ऐन लागू गरे पनि चिया उद्योगीले कार्यान्वयन नगरेको विरोधमा अनिश्चितकालीन सडक आन्दोलन सुरु गरेको चिया श्रमिकको भनाई छ । चिया बगान तथा कारखानामा काम बन्द गरी श्रमिकहरू मङ्गलवार ३८ दिनसम्म आन्दोलित बनेका हुन् ।

आन्दोलन थालेको ३८ दिनसम्म पनि माग पूरा नभएकोप्रति श्रमिक निकै आक्रोशित देखिन्छन् । उनीहरूले ऐन कार्यान्वयन नगर्ने उद्योगी व्यवसायीलाई कानुनी कारबाहीको माग समेत गरेका छन् । ‘हाम्रा श्रमिकहरू आन्दोलनका कारण भोकभोकै मर्न लागिसके । तर, उद्योगीहरूले अझै पनि हाम्रा कुराहरू सुनेका छैनन्’ अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश १ इन्चार्ज भूपाल सापकोटाले भने,‘हामी भोकभोकै मर्न तयार छौँ । तर, कानुनले तोकेको ज्याला र सेवासुविधा लिएरै छाड्छौँ ।’ उनले तत्काल आफूहरूको माग पूरा गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले चिया श्रमिकको मागप्रति उद्योगी र सरकारले बेवास्ता गरेको आरोप लगाए । उनले भने,‘ऐन कार्यान्वयनका लागि आन्दोलनको विकल्प भएन । आन्दोलनका कारण श्रमिकको घरमा चुल्हो बल्न छोडिसक्यो । तरपनि सरकार र उद्योगी हाम्रो मागप्रति जिम्मेवार देखिँदैनन् ।’ श्रमिकको माग तत्काल पुरा नभए आगामी दिनमा थप सशक्त आन्दोलनका कार्यत्रमहरु अघि बढाउने उनले बताए । श्रमिक आन्दोलनमा उत्रिदा बगानमा चियाको हरियो पत्ती झाँगिएको छ । जिल्लामा करिब ३० हजार श्रमिक कार्यरत छन् ।

Published on: 7 May 2019 | Kantipur

Back to list

;