s

अहेवलाई साउदीमा फूलबारी गोड्ने काम

संगीता कर्ण

जनकपुर उपमहानगरपालि २५ लोहना गाउँका बसन्त कुमार कर्णले अहेव पढ्नुभयो । पढाइ पुरा भएपछि गाउँमै प्राथमिक उपचार गर्न थाल्नुभयो । केही समयमा जनकपुरको प्याराडाईज अस्पतालमा जागिर पनि पाउनुभयो ।

पढ्दा लाखौं लगानी गरेका बसन्तको तलब तोकेको थिएन । बिरामी हेरेका आधारमा पैसा पाउनुहुन्थ्यो । काममा चित्त बुझेपनि यो भन्दा धेरै कमाउन सकिन्छ भन्ने लागिरहेको थियो बसन्तलाई । 
 
खेतीपाती गर्ने जग्गा जमिन नभएकाले बसन्तको परिवारको कमाईको स्रोत भनेकै त्यही जागिर थियो । तर जागिरबाट आउने तलबले  दुई छोरा र एक छोरी सहितको पाँच जनाको परिवार पाल्न सजिलो थिएन बसन्तलाई । 
 
त्यतिबेलै उहाँले अहेव जस्तो मान्छेको त विदेशमा राम्रो कमाइ हुन्छ भन्ने सुन्नुभयो । चिने जानेकाहरुले पनि यस्तो प्राविधिक विषय पढेको मान्छे किन यति पैसामा अल्झिएको ? भनेपछि बसन्तको मन फेरियो । ‘विदेशमा मेडिकलमा काम गर्ने मान्छेले धेरै कमाई रहेको छ । तैंले पनि धेरै कमाउन सक्छस् भनेपछि मलाई पनि हो जस्तै लाग्यो ।’ बसन्त विदेश जाने मनस्थितीमा पुग्नुभयो।  
 
विदेश पठाइदिने एजेण्टलाई भेट्नुभयो । एजेण्टले पनि पठाइदिन्छु भने । तर बसन्तसँग एजेण्टले भनेको ८० हजार रुपैयाँ थिएन । कसरी जुटाउने होला भनेर सोचिरहेका बसन्तलाई एजेण्टले आफैं पैसा हालिदिने बताए ।
 
अस्पतालको काम अनि ६ सय रियाल तलब हुने भनेपछि बसन्तले एजेण्टसँग ८० हजार रुपैयाँ ऋण लिएको कागज बनाएर साउदी उड्नुभयो । ‘खान बस्न पनि कम्पनीले नै दिन्छ भनेपछि त यहाँबाट नउड्दै त्यहाँ पुगेर काम गर्न थालेको सोच्न थालेको थिएँ ।’ बसन्तले कल्पनाका कुरा सुनाउनुभयो । 
 
सन् २०१३ जुलाइ महिनामा उडेका बसन्तले एक दिन एयरपोर्टमै बिताउनुपर्यो । कम्पनीको कोही पनि लिन नआएपनि धनुषाकै चार जनासँग भएकाले बसन्तले आफूसँग पैसा नभएपनि साथीहरुसँग भएका खानेकुरा खानुभयो । 
 
कम्पनी पुगेको पाँच दिन बसेरै बित्यो । पाँच दिनपछि कम्पनीले काममा लगाउने भयो ।  बसन्त आफूले गर्नुपर्ने काम देखेर छक्क मात्रै मात्रै पर्नुभएन छाँगाबाट खसै जस्तै हुनुभयो । अहेव पढेर अस्पतालमा काम गर्न गएका बसन्तलाई माली ( फुलबारीको हेरचाह गर्ने )  को काम लगायो ।
 
‘यहाँ हस्पिटलमा काम गरेको अनि  त्यहाँ पनि त्यही काम भनेर गएको हो तर त्यहाँ त बगैंचामा सरसफाई गर्ने,पानी हाल्ने र फूलहरु कटिङ गरेर मिलाउने काम पो लगायो ।’ बसन्तलाई भनेको भन्दा फरक काम मात्रै परेन । सोच्दै नसोचेको काम गर्नुपर्यो । के गर्ने, के नगर्ने बसन्तले तत्काल निर्णय गर्न सक्नुभएन् । 
 
रहरले विदेशिएको भए बसन्त सायद त्यतिबेलै फर्किनुहुन्थ्यो होला । ‘आफ्नो देश भएको  अहिलेको अहिले घर फिर्ता हुन मन लागि रहेको थियो । तर अर्काको देशमा कहाँ आफू खुशी गर्न पाइयो र’ बसन्त भन्नुहुन्छ । त्यसमाथि परिवारको आर्थिक अवस्था कमजोर थियो ।
 
अनि एजेण्टसँग लिएको ८० हजार रुपैयाँ ऋण पनि तिर्नु थियो । त्यसैले फलबारीमा मालीको काम गर्नुभयो । १० दिन काम गर्दा उहाँलाई न काम गर्न मन लाग्यो न त साउदीमा बस्न नै । १० दिनपछि कम्पनीले मेडिकल गर्न लाने थाहा पाएपछि बसन्तले त्यसमा फेल हुन जुक्ति लगाउनुभयो ।
 
मेडिकल फेल भए घर फर्किन पाइन्छ भन्ने थियो बसन्तको मनमा । ‘पिसाब जाँच गर्न सेम्पल माग्दा चिनी घोलेर दिएँ’ बसन्तले मेडिकल फेल हुन लगाएको जुक्ति सुनाउनुभयो । तर उहाँको जुक्तिले काम गरेन । उहाँ मेडिकल पास हुनुभयो । उपाय लागेन । 
 
साहुसँग बिन्ती गर्दा पो हुन्छ कि भन्ने सोचेर बसन्तले उसलाई पनि आग्रह गर्नुभयो । तर साहुले कम्तिमा पनि एक वर्ष त काम गर्नै पर्ने जवाफ दिएपछि बसन्तसँग दिन गनेर बस्नु बाहेक अर्को विकल्प रहेन । 
 
एक त कल्पनै नगरेको काम त्यसमाथि परिवारको याद । बसन्तलाई समय कटाउन साह्रै गाह्रो हुन्थ्यो । ‘त्यतिबेला म रुन्थें । कहिले आफ्नै भाग्यलाई दोष दिन्थें अनि कोही बेला एजेण्टलाई सराप्थें ।’ बसन्तले भन्नुहुन्छ ।महिनाको ६ सय रियाल पाउनुहुन्थ्यो ।
 
त्यसबाटै घरमा फोन गर्नेदेखि आफ्ना अरु खर्च पनि गर्नुपर्ने । एक वर्ष बस्दा उहाँले त्यही ८० हजार रुपैयाँ ऋण मात्रै तिर्नुभयो । एक वर्षपछि कम्पनीको सहयोगमा घर फर्किनुभयो । 
 
फर्किएर पुरानै काम, धेरै मानसम्मान 
 
एक वर्षपछि घर फर्किएका बसन्तलाई हेर्नेको मात्रै भीड लागेन । भोलि पल्टैबाट जचाउन आउनेहरुको पनि घुइँचो लाग्न थाल्यो । काम गर्न थाल्नुभयो । ठाउँ नभएकाले अप्ठ्यारो पर्न थाल्यो । यसमा गाउँहरुले नै सहयोग गरे उहाँलाई । ५० हजार रुपैयाँ सहयोग पाएपछि गाउँमै क्लिनिक खोल्नुभयो । 
 
क्लिनिकको कमाइले अहिले बसन्तको घर व्यवहार चलेको छ । ‘आफ्नै ठाउँमा त्यो पनि परिवारसँगै बसेर काम गर्न पाउँदा खुशी छु ।’ बसन्तले भन्नुभयो ।  क्लिनिकसँगै अहिले उहाँ सुरक्षित आप्रवासन परियोजनामा स्वयंसेवकको पनि काम गर्दै हुनुहुन्छ । 
 
आफू पढे लेखेको हुँदा हुँदै पनि ठगिएपछि बसन्त अहिले विदेश जान्छु भन्नेहरुलाई जानु अघि नै राम्रोसँग बुझ्न, सम्झौता पत्र राम्रोसँग हेर्न, सबै कागजात आफूसँग सुरक्षित राख्न र परिवारलाई पनि एकप्रति प्रतिलिपी राख्न दिन सुझाव दिनुहुन्छ ।  
 
Published on: 22 February 2018 | Ujyaaloonline

Back to list

;