s

एजेन्टको भरपर्दा गयो घरबार

मनिका झा

 

जनकपुरधाम : ७२ वर्षीय गंगाधर सदाको आँखामा आँसु टलपलाएका थिए। आँगनमा उभिएर माटोको झोपडी नियाल्दै थिए। ‘अब यो घर केही दिनका लागि मात्रै बस्ने ठेगाना हो’, उनले सानो स्वरमा भने। 

किन त ?

धन कमाउन विदेश जाने छोराको चाहनाले बुढेसकालमा उनको यो बास खोसिएको छ। घर र घडेरी साहूलाई जिम्मा लगाउनुपर्ने भएको छ। हजुरबुबा र बुबा यही घर–घडेरीमा बसेका थिए। गंगाधर पनि यहीं हुर्किए। तीन छोरा हुर्काए। वर्षात्का बेला कैयन् चोटी घर भत्कियो। लिपे, टाले। खरको छानो थियो। जस्ता हाले। तर, धनुषाको नगराइन नगरपालिका–२ का गंगाधरको परिवार अहिले घर न घाटको भएको छ। 

‘छोराछोरीले बुबाआमा र परिवारको कुरा नसुनेपछि यस्तै दशा लाग्छ,’ उनले भावुक हुँदै भने, ‘मैले भनेको थिएँ, आफ्नै गाउँघरमा मेहनत गर। यहीँ कमाउन सकिन्छ। तर, बढी लोभमा पर्दा आज न घर बच्यो न त घडेरी नै।’ 

सयकडा ३ प्रतिशत ब्याजले झन्डै डेढ लाख ऋण

परिवारको गुजारा जसोतसो धानिरहेको थियो। माइला छोरा ३० वर्षीय विष्णुदेवले चार वर्षअघि वैदेशिक रोजगारीमा जाने इच्छा व्यक्त गरे। एजेन्टको सम्पर्कमा पुगे। पासपोर्ट बनाए। गाउँकै साहूहरूबाट ३ रुपैयाँ सयकडा ब्याजमा १ लाख ४० हजार ऋण लिए। त्यो पैसा एजेन्टलाई बुझाए। तर, विदेश उड्नै पाएनन्। काठमाडौंमा अलपत्र छाडेर भागेका एजेन्ट अझै सम्पर्कमा आएका छैनन्। त्यही बेलाको ऋणले परिवारलाई सताइरहेको छ। 

ससुरालीबाट एजेन्टसँग भेट

विष्णुदेवको बिहे धनुषाकै सुगामधुकरहीमा भयो। उनलाई रक्सीको लत थियो। ससुराली जाँदा दुई साला राजिन्द्र र त्रिदेवका साथ भट्टीमा जान्थे। राजिन्द्र र त्रिदेव तीन वर्ष साउदी अबरमा काम गरेर फर्किएका हुन्। दुई भाइको कमाइले ससुराली परिवारमा आर्थिक उन्नति भएको थियो। यसबारे विष्णुदेव जानकार नहुने कुरै रहेन। 

उनी गाउँमा रोजगारी नपाएर रक्सीको लतमा लागेका थिए। जसलाई सालोहरूले विदेश गएर धन कमाउन सुझाव दिए। ‘उनीहरूले नै एजेन्टलाई पनि भेटाइदिएका हुन्’, विष्णुदेवले भने। एजेन्ट भनिएका भडरियाका मिथिला यादव सोही भट्टीमा आउँथे। 

एजेन्ट यादवले सुरु–सुरुमा त विष्णुदेवले खाएको रक्सीको पैसा पनि तिरिदिए। ‘मलेसियामा लेबरको काममा पठाइदिने भने। त्यहाँ तलब ३० हजार कम्पनीले दिने र खान बस्न पनि छुट्टै दिने भन्यो। त्यसैले मलाई विदेश जान रहर लाग्यो।’ विष्णुदेवले भने, ‘दुई महिनासम्म मेरो घर ओहोरदोहोर गथ्र्यो। उसको कुरामा विश्वास लागेरै पैसा दिएँ।’ एजेन्ट यादवले पहिला पासपोर्ट बनाउन भने। जसका लागि १० हजार रुपैयाँ ऋण लिए। त्यसपछि जनकपुरमै एजेन्टले स्वास्थ्य परीक्षण पनि गराए। 

‘यसलाई त मेडिकलले नै फेल भनेको थियो। तर, त्यो एजेन्टको कुरामा लागेर ऋण उठाई सबै पैसा उसलाई बुझायो,’ बुवा गंगाधरले भने, ‘मैले धेरै रोकेको थिएँ। एकै पटकमा सबै पैसा नदिन भनें। तर, यसले लुकाएर दियो। आज कर्जा सधाउने बेला सब मेरो टाउकोमा थुपारेको छ।’ 

विष्णुदेवले पैसा एजेन्ट यादवलाई उनको घर भडरियामै गएर दिए। त्यस बेला दुई सालो र केही स्थानीयवासी ‘देखिजान्ने’ थिए। तर, कुनै कागजपत्र गरेनन्। 

जब एजेन्टको फोन अफ भयो...

पैसा दिएको भोलि पल्टै एजेन्टले विष्णुदेव र अन्य दुई युवकको पासपोर्ट आफूसँग राखेर काठमाडौं लगे। काठमाडौं गएको दुई दिनपछि विदेश उडाउने आश्वासन यादवले दिएका थिए। काठमाडौंमा सिनामंगलको एउटा होटलमा विष्णुदेव र उनीसँगै आएका अर्को गाउँका दुईजनालाई राखेर एजेन्ट अर्को कोठामा बसे। दुई दिनसम्म सबै ठीक थियो। तर, जुन दिन विदेश उडाउने कुरा थियो त्यो दिन एजेन्ट यादव कोठा छाडेर फरार भयो। 

‘हामी २२ दिन त्यही लजमा बस्यौं। एजेन्टले फोन अफ गरेको थियो। ऊसँग सम्पर्क नै भएन। आफूसँग भएको ७–८ हजार रुपैयाँ पनि सक्यो। पछि खानसमेत पैसा नहुँदा शरीरमा लगाएको लुगा छाडेर अन्य सबै सामान खोस्यो। हामीलाई लजबाट निकालिदियो’, विष्णुदेवले भने, ‘भौतारिँदै गौशाला पुगेँ। त्यहाँ एक जना बसवालालाई निकै अनुनयविनय गरेपछि सित्तैमा जनकपुर ल्याइदियो।’ विदेश जान्छु भनेर ऋणकै पैसाबाट राम्रो लुगाहरू, स्विटर र ज्याकेट पनि किनेका थिए उनले। तर, लजवालाले सबै राखेको उनले सुनाए। भने, ‘त्यहाँदेखि अहिलेसम्म बाक्लो लुगा पनि किन्न सकेको छैन।’ 

पासपोर्ट र पैसा लिएर भागेका एजेन्ट यादव सम्पर्कमा आएका छैनन्। विष्णुदेव प्रत्येक महिना भडरिया गएर यादवको पत्ता लगाउने प्रयास गर्छन्। ‘उसको घरका मान्छेहरू ऊ विदेश गइसक्यो भनेर जवाफ दिन्छन्। सोध्न जाँदा उल्टै हप्काउँछन्। गाली गर्छन्। उसको कुनै अत्तोपत्तोनै छैन,’ विष्णुदेवले भने। 

ब्याजको स्याज, स्याजको ब्याज

ठगिएपछि ऋण बढ्दै गयो। ब्याजको स्याज र स्याजको ब्याज गरी रकम असुल्न खोजे। ब्याज बढ्दै गएपछि अन्तमा गंगाधरले आफूसँग भएको १० धुर घडेरी बेचेका छन्। दुई–तीन वर्षसम्म त अर्काको जग्गामा मजदुरीबापत पाएको धान र गहुँ बिक्री गरी ब्याज तिरे। तर, ब्याज धेरै बढी भयो। एजेन्टलाई दिने पैसाबाहेक पनि ऋण लिएका छन्। सबै साहू आएर पैसा माग्न थालेपछि यो घडेरी बिक्री गर्नुपरेको हो। 

‘अहिले पूरै पैसा नपाएकाले घर छाडेको छैन, पूरै पैसा आएपछि त्यसबाट केहीले ऋण चुक्ता गर्छु र केही बचाएर गाउँभन्दा बाहिर थोरै जग्गा किनेर फेरि अर्को झुपडी बनाउँछु,’ गंगाधरले भने। एजेन्ट यादवले पैसा ठगी गरेको कुनै प्रमाण नहुँदा उजुरी दिन नसकेको छिमेकी मनिचन्द्र सदाले बताए। ‘मुसहर जाति हो पढेलेखेका हुँदैनन्। हामीलाई के बिगार्छन् र भनेर नै ठगेको हो,’ मनिचन्द्रले भने, ‘एउटाको गल्तीले पूरा परिवार सडकमा आएको छ।’ 

गंगाधरका जेठो छोरा ब्रह्मदेव ८ वर्षअघि नै विदेश गएका थिए। तर, उनी त्यसपछि घर फर्केका छैनन्। कहिलेकाहीँ फोन गरेर हालखबर सोध्छन्। तर, परिवारलाई कुनै आर्थिक सहयोग गरेका छैनन्। सबैभन्दा कान्छो राजदेव बेरोजगार छन्। उनले कामकाज नगर्दा घरमा बोझ भएको बुबा गंगाधरले बताए। 

ठगिने अधिकांश दलित र अशिक्षित

मधेस प्रदेशमा एजेन्टबाट विदेश पठाइदिने आश्वासन दिएर ठगिनेमध्ये अधिकांश दलित र अशिक्षित नागरिक छन्। ‘ठगीमा परेका अधिकांशसँग प्रमाणको अभाव हुन्छ। एजेन्टले फकाएर पासपोर्ट र पैसा लिन्छ। तर, त्यसबापतको कुनै रसिद वा भर्पाइ दिँदैन यस्तोमा प्रहरीकहाँ उजुरी गर्न जान पनि अप्ठ्यारो हुन्छ’, सुरक्षित आप्रवासन योजना धनुषाका संयोजक अनिरुद्ध मुखिया भन्छन्। एजेन्ट बनेर लोभ देखाउनेहरू आफ्नै चिनजानका वा चिनजानको व्यक्तिको माध्यमबाट परिचय भएकाहरू धेरै रहेको उनी बताउँछन्। 

२०७७/७८ मा धनुषामा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरूको माध्यमले ३ सय १८ वटा वैदेशिक रोजगारीमा ठगीसम्बन्धी मुद्दाहरू दर्ता भएको थियो। जसमध्ये १२७ वटामा पीडितलाई न्याय दिलाइएको छ। 

पीडितसँग ठगिएको कुनै कागजी प्रमाण नभएकाले यस्ता घटनामा पक्राउ पर्ने क्रम न्यून रहेको बताउँछन्, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे। ‘वैदेशिक रोजगारमा कोही ठगिएका छन् भने त्यो उजुरी पहिला जिल्ला प्रशासनमा जान्छ त्यहाँबाट प्रहरीको आवश्यकता पर्यो भने मात्रै हामीकहाँ घटना आइपुग्छ,’ उनले भने, ‘अधिकांश घटनामा पीडितसँग ठगिएको कुनै प्रमाण नहुँदा कानुनी रूपमा कमजोर हुने डरले प्रहरीसम्म आउँदैन।’ 

सुरक्षित छैन रोजगार

सुरक्षित आप्रवासन योजना धनुषाको तथ्यांकअनुसार गत वर्ष २० जना वैदेशिक रोजगारीमा गएका धनुषा जिल्लाका युवाहरूको शव नेपाल ल्याइएको छ। तीन जनाको शवलाई गन्तव्य मुलुकमै शदगत गरिएको छ। ठगीमा परेकाहरूलाई ८ करोड ३९ लाख ४ हजार ९ सय ४१ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको छ। चालू आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्ममा १ सय २२ वटा ठगीको मुद्दा दर्ता भइसकेको छ। जसमध्ये ५२ वटामा सहजीकरण गरी पीडितलाई न्याय दिलाइएको छ। पछिल्लो ५ महिनामा १० वटा शव नेपाल ल्याउन सहजीकण गरिएको छ। 

काठमाडौं लैजाँदै एजेन्ट भाग्दै

धनुषाको हरिहरपुरका सात युवाबाट साढे १० लाख रुपैयाँ उठाएर एजेन्ट राजेश दास सम्पर्कविहीन भए। स्थानीय जीवछ मुखिया, अशोक मुखिया, सोमन मुखिया, प्रदीप मखिया, सरोज मुखिया, जीवन मुखिया र लक्ष्मण दासले धनुषाकै हरैयाका राजेशलाई जनही डेढ लाखका दरले रकम बुझाएका थिए। राजेशले प्रमाणबापत सबैलाई कागजमा लेखेर आफ्नो हस्ताक्षर गरी एक\एक प्रति उपलब्ध गराए।  

उनले रकम हात पारेपछि सातै जनालाई काठमाडौं लगेर केही दिन लजमा राखे। ‘म्यानपावर कम्पनीसँग सम्पर्क हुँदै छ तिमीहरूको भिसा आउन ढिलो छ भनी एक सातासम्म राखे। पछि फोन अफ गरेर बेपत्ता भए’, पीडित अशोकले भने, ‘हामी सबै गरिब परिवारका छौं साहूसँग ऋण उठाएर एजेन्टलाई दिएका थियौं। विदेशमा कमाएर ऋण चुक्ता गर्ने सोचेका थियौं तर, यसरी ठगिएपछि ऋणको बोझ उल्टै टाउकोमा परेको छ।’ 

प्रहरी प्रशासनमा पटक–पटक निवेदन दिँदा पनि एजेन्ट राजेशलाई पक्राउ नगरेको अशोकको गुनासो छ। ‘हामीले फोन गर्दा हाम्रो नम्बर नै ब्लाकलिस्टमा पारिदिएको छ,’ उनले भने। धनुषाको गोविन्दपुर १ का ४५ वर्षीय रुदल मण्डल १० कक्षा मात्र पास छन्। उनी ३० वर्षको उमेरमा पहिलो पटक कतार गएका थिए। तीन वर्ष त्यहाँ काम गरेपछि रुदल नेपाल फर्के। फेरि पाँच वर्ष मलेसिया गएर काम गरे। पछि काठमाडौं गई होटलमा काम गर्न थाले। कामकै क्रममा मण्डलको भेट गाईघाटका वीरेन्द्र साहसँग भयो। साहले आफू एजेन्ट रहेको परिचय दिई मण्डलसँग हिमचिम बढाए। 

३ महिनासम्म निरन्तर सम्पर्कमा रही एजेन्ट वीरेन्द्रले मण्डललाई रोजगारीका लागि युरोप पठाइदिने र त्यहाँ क्लिनरको काम दिलाएर महिनाको ७ सय डलरसम्म तलब दिलाउने आश्वासन दिए। राम्रो रोजगारीको आशमा मण्डलले आफू र ज्वाइँ सरोज मण्डलका लागि जागिर दिलाइदिन १० धुर घडेरी बेचेर साहलाई १० लाख रुपैयाँ भिसा र टिकट मिलाइदिन भन्दै दिए। 

रकम पाउनबित्तिकै एजेन्ट साह फरार भए। उनलाई खोज्दै मण्डलले प्रहरी प्रशासन चारैतिर उजुरी दिए तर, पछिल्लो दुई वर्षदेखि नत साह भेटिए, न त मण्डलको पैसो फिर्ता पाउने कुनै बाटो फेला परेको छ। ‘मलाई शंका लागेको थियो मजस्तो कम पढेलेखेकालाई युरोप पठाउने कुरामा तर, ३ महिनासम्म एउटै कुरा भनेर फकायो,’ जनकपुरको एक कार्यक्रममा भेटिएका मण्डलले गहभरि आँसु भर्दै भने, ‘भएभरको पुँजी पनि गयो अब जीवन कसरी चलाउने ?’ 

- छोराछोरीले बुबाआमा र परिवारको कुरा नसुनेपछि यस्तै दशा लाग्छ। मैले भनेको थिएँ, आफ्नै गाउँघरमा मेहनत गर। यहीँ कमाउन सकिन्छ। तर, बढी लोभमा पर्दा आज न घर बच्यो न त घडेरी नै। – गंगाधर सदा पीडित बुबा 

काठमाडौंमा लगेर लजमा राख्यो। २ दिनपछि एजेन्ट सम्पर्कविहीन भयो। २२ दिन लजमा बस्यौं। पछि खानसमेत पैसा नहुँदा लजवालाले सबै सामान खोस्यो। एक जना बसवालालाई भनेर सित्तैमा जनकपुर ल्याइदियो। – विष्णुदेव सदा पीडित छोरा 

- वैदेशिक रोजगारमा कोही ठगिएका छन् भने त्यो उजुरी पहिला जिल्ला प्रशासनमा जान्छ । अधिकांश घटनामा पीडितसँग ठगिएको कुनै प्रमाण नहुँदा कानुनी रूपमा कमजोर हुने डरले प्रहरीसम्म आउँदैन। – बसन्त रजौरे प्रहरी उपरीक्षक, धनुषा 

- ठगीमा परेका अधिकांशसँग प्रमाणको अभाव हुन्छ। एजेन्टले फकाएर पासपोर्ट र पैसा लिन्छ। तर, त्यसबापतको कुनै रसिद वा भर्पाइ दिँदैन यस्तोमा प्रहरीकहाँ उजुरी गर्न जान पनि अप्ठ्यारो हुन्छ। – अनिरुद्ध मुखिया संयोजक, सुरक्षित आप्रवासन योजना धनुषा 

  • एजेन्टले पैसा ठगी गरेको कुनै प्रमाण नहुँदा उजुरी दिन सकेका छैनन्। मुसहर जाति हो पढेलेखेका हुँदैनन्। हामीलाई के बिगार्छन् र भनेर नै ठगेका हुन्। एउटाको गल्तीले पूरा परिवार सडकमा आएको छ।

Published on: 31 January 2022 | Annapurna Post

Link

Back to list

;