s

अफ्रिकामा नक्कली नेपाली भिसा बनाउने गिरोह

अफ्रिकी देशहरूमा नक्कली नेपाली भिसा बनाउने गिरोह सक्रिय रहेको खुलेको छ । नक्कली भिसाका आधारमा नेपाल आएका तीन नाइजेरियन नागरिक पक्राउ परेपछि यस्तो तथ्य खुलेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले तीन साताअघि तीनजना नाइजेरियनलाई पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा अफ्रिकामै एक समूहले उनीहरूलाई सक्कली भनेर नक्कली नेपाली भिसा दिलाएको खुलेको हो ।

अध्यागमन कार्यालयले ३६ वर्षीय इमेका पान उडरे, २५ वर्षीय एन्थोटी एजेमा र २६ वर्षका एडेक्स नेबोचुबुलाई पक्राउ गरेको थियो । उनीहरू छुट्टाछुट्टै नेपाल आएका थिए । तीनैजना नक्कली भिसाका आधारमा आएको विभागले जनाएको छ । उनीहरूमध्ये दुईजनाले केन्याको राजधानी नैरोबीमा र एकजनाले दक्षिण अफ्रिकाको प्रेटोरियामा भिसा बनाएका थिए ।

दूतावास नहुँदा भिसा लिन समस्या

नाइजेरियामा नेपाली दूतावास नभएकाले उनीहरूलाई भिसा लिन समस्या छ । अर्काेतर्फ नाइजेरियाका नागरिकले नेपालमा ‘अन अराइभल’ भिसा पनि नपाउने भएकाले उनीहरूलाई समस्या थियो । एजेन्टमार्फत भिसा लिएको र उनीहरूले नक्कली बनाइदिएको खुलेको छ । पक्राउ परेका तीनैजनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको छ । तीनैजना नाइजेरियन नेपाल घुम्न भनेर आएका थिए । पक्राउ परेकामध्ये नेबोचुबुले फुटबल खेल्नसमेत नेपाल आएको बताएका छन् । यी घटनाले अफ्रिकी देशहरूमा नेपालको नक्कली भिसा बनाउने समूह सक्रिय देखिएकाले सचेतना अपनाइएको अध्यागमन विभागले जनाएको छ ।

इरानी आमा–छोरा पक्राउ

नक्कली पासपोर्टमा नेपाल छिरेर फ्रान्स जान लागेका इरानी आमा–छोरा पनि पक्राउ परेका छन् । जाहरा निजारियन र उनका छोरा अमिरमेसन हाजिरामेजानी बिहीबार पक्राउ परेका हुन् । उनीहरू क्रोएसियाको नक्कली पासपोर्टमा नेपाल आएका थिए ।

नेपालबाट दिल्ली हुँदै फ्रान्स जान खोज्ने क्रममा विमानस्थलमा पक्राउ परेका हुन् । उनीहरूको साथबाट इरानको पासपोर्टसमेत भेटिएको प्रहरीले जनाएको छ । नक्कली पासपोर्टमै नेपाली अधिकारीले भिसा र अराइभल स्टिकर लगाइदिएका थिए । पछि उनीहरू नेपाल हुँदै फ्रान्स छिर्न खोजेको सूचना आएपछि अध्यागमन कार्यालयले पक्राउ गरेको हो । प्रायः मध्यपूर्वी एसियाका नागरिकहरू नेपाललाई ट्रान्जिट बनाएर युरोपियन देश जाने क्रममा पटक–पटक पक्राउ परेका छन् । उनीहरूले युरोपियन देशको नक्कली पासपोर्ट बनाएर नेपाल हुँदै ती देश जाने गरेको अध्यागमनले जनाएको छ ।

Published on: 3 February 2019 । Nayapatrika

Back to list

;