s

अफ्रिकामा नेपाली डाक्टरहरू

स्वास्थ्यमन्त्री राजेन्द्र महतोले एउटै मन्त्रालयमा दुई सचिव नियुक्त गरेपछि उत्पन्न भद्रगोलबाट उम्कन राजीनामा दिएकी तत्कालीन सचिव सुधा शर्मा यतिखेर तान्जानियाको दारेसलाममा युनिसेफ जागिरे छिन् । उनका चिकित्सक पति विजय पनि स्थानीय टीएमजे अस्पतालमा चिकित्सक छन् । ६२ वर्षीया शर्मा वीर अस्पतालकी पूर्वचिकित्सक पनि हुन् । 

यी चिकित्सक दम्पती प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय अवसरको खोजीमा विभिन्न अफ्रीकी मुलुक पुग्ने नेपाली चिकित्सकको संख्या करिब १ सय छ । शर्माका अनुसार 'काम गर्ने वातावरण, पाएको अवसर र राम्रो कमाइ' का कारण यति टाढाको दुनियाँमा रमाउँदै काम गर्नुपर्ने अवस्था उनीहरूसँग छ । अँध्यारो महादेशका रूपमा चिनिने अफ्रीकामा नेपाली चिकित्सकहरू स्वास्थ्य सेवाको उज्यालो फैलाउँदै छन् । 

स्वास्थ्य मन्त्रालयकै अर्का चिकित्सक विन्देश्वरप्रसाद यादव अर्को उदाहरण हुन् । जो, दक्षिण अफ्रीकी मुलुक बोत्स्वानामा ४ वर्षदेखि 'मेडिकल जागिरे' छन्, बढुवामा भएको अन्याय सहन नसकेर राजीनामा दिई उनी त्यता हानिएका हुन् । वीरगन्जवासी उनले स्थानीय सहरमा क्लिनिक खोलेका छन् । 

अर्को अफ्रीकी मुलुक केन्या पुगेका कृष्णदत्त भट्ट पनि नैरोबीस्थित एक निजी अस्पतालमा 'रेडिएसन उपचार पद्धति' मा काम गरिरहेका छन् । भरतपुर क्यान्सर अस्पतालका चिकित्सक उनी २ वर्षे बिदामा यता आएका हुन् । 'आर्थिकभन्दा प्राविधिक क्षमता र ज्ञान विस्तारको अवसर यता छ,' उनले फोनमा भने । नाइजेरियाकै उत्तरी कादोना क्षेत्रमा विश्व स्वास्थ्य संगठनको पोलियो उन्मूलन कार्यक्रममा आएका चिकित्सक ताराप्रसाद श्रेष्ठ पनि ५ वर्षदेखि यतै रमेका छन् । अफ्रिकी मुलुक लाइबेरिया र जाम्बियामा काम गरेपछि नाइजेरिया आएका उनी पनि कामको अवसर र वातावरणबाट निकै सन्तुष्ट छन् ।

बीस वर्षदेखि दक्षिण अफ्रिकालाई कर्मथलो बनाएका सल्यानवासी चिकित्सक सुवर्ण प्रधानसँग शिक्षण अस्पतालदेखि परिवार नियोजनका जिल्लास्थित स्याटलाइट क्लिनिकसम्म कामको अनुभव छ । एड्स नियन्त्रण परियोजनाअन्तर्गत ताप्लेजुङदेखि जाजरकोटसम्म 'पोस्टिङ' मा परे । पूर्वसूचनासमेत नदिई  गरिने पोस्टिङ र सेवासुविधाको विभेद खप्न नसकेर उनी अफ्रीका छिरे । 'नेपालमा रोजाइका थप विकल्प थिएनन्,' प्रधान भन्छन्, 'इच्छाअनुसार अवसरको खोजी र विकल्प छनोट गर्न पाइने भएर धेरै चिकित्सक अफ्रीका आइपुगेका हुन् ।' उनका अनुसार अफ्रीकी मुलुकबाट पनि केही नेपाली चिकित्सक क्यानडा पुगिसकेका छन् । 

दक्षिण अफ्रिकामात्रै केएस गैरे, नारद पाण्डे, हरिगोपाल वैद्य, साधुराम पाण्डे, अमर देउजा, रामेश्वर गंगोल र निर्झर भट्टलगायत नेपाली चिकित्सक कार्यरत छन् । सन् १९८६ मै दक्षिण अफ्रीका आइपुगेका साधुराम समुद्री किनारको इस्टलन्डन सहरका बासिन्दा हुन् । उनकी छोरी कमलासमेत अफ्रीकामै व्यावसायिक चिकित्सा दुनियाँमा प्रवेश गरिसकेकी छन् । उनका अनुसार आफूजस्तै ८ नेपाली परिवार डाक्टरी पेसामा संलग्न रहेर उक्त सहरमा जीविकोपार्जन गरिरहेका छन् । वीर अस्पतालका पुराना डाक्टर नारद पाण्डे पनि दक्षिण अफ्रीकाको इस्टर्न केभस्थित सरकारी अस्पताल बटरवर्थमा काम गर्छन् । स्याङ्जावासी पाण्डेले सोभियत संघ -हाल युक्रेन) बाट सन् १९७८ मा एमबीबीएस गरेका हुन् । 'अलिक राम्रो अवसर खोजिरहेका बेला सन् १९८० मै म यता आएको हुँ,' उनले फोनमा भने, 'काम गर्दै जाँदा यतैको कार्यक्षेत्र र दायरा बढ्दै गयो, यतैको बानी बस्यो ।' अहिले नारदकी छोरी मधु पनि इस्टर्न केभकै एक निजी अस्पतालमा चिकित्सक छिन् । पुरानो बासस्थान पाल्पा भएका गंगोलले पनि वीर अस्पतालमा छोटो समय काम गरेका हुन् । हाडजोर्नी विशेषज्ञ गंगोल २० वर्षयता डर्बनस्थित एक सरकारी अस्पतालमा कार्यरत छन् । 'देशबाहिर आएर काम गर्नुमा इच्छाको मात्रै कुरा आउँदैन, परिस्थितिले पनि बाध्य बनाइरहेको हुन्छ,' पाण्डेले भने । उनको बुझाइमा अफ्रीकी मुलुकहरूमा छरिएर बसेका नेपाली चिकित्सक 'इच्छा' भन्दा बढी परिस्थितिका कारण यहाँसम्म आइपुगेका हुन् । 

विगत ३५ वर्षदेखि दक्षिण अफ्रीकाको उमटाटामा बस्दै आएका पाल्पाबासी चिकित्सक खिमानन्द शर्मा गैरेसँग काठमाडौंको कान्ति अस्पतालमा कामको अनुभव छ । उनकी पत्नी विमला श्रेष्ठ नेपालकै पहिलो नाक, कान, घाँटी विशेषज्ञ हुन्् । ६५ वषर्ीय गैरे अहिले स्थानीय सरकारी अस्पतालको पेडियाटि्रक विभाग प्रमुख छन् । 'पैसाभन्दा बढी सेवामा पाइने सन्तुष्टिले यता आएको थिएँ,' गैरेले फोनमा भने, 'नेपालमा अलिक बढी अवसरसहितको सन्तुष्टि पाएको भए सायद उतै बस्थें ।'

Published on: 10 August 2013 | Kantipur

Back to list

;