s

अफ्रिकामा १४ नेपाली अलपत्र

मणि दाहाल

भोर्लेटारका पूर्वभारतीय सैनिक हर्कबहादुर गुरुङ तीन महिनाअघि केन्या पुगे। राष्ट्रसंघीय मिसनमा सुरक्षागार्डको जागिर पाउने आशमा ८ लाख रुपैयाँ खर्चिएका उनी त्यतिबेला जिल्ल परे, जतिबेला उनलाई नैरोबीको एउटा गेस्टहाउसमा छाडेर दलाल फरार भए। '१५ सयदेखि २ हजार डलरसम्म तलब हुन्छ भनेर यहाँ ल्याए,' नैरोबीस्थित एक गेस्टहाउसमा अलपत्र गुरुङले नागरिकसँग फोनमा भने, 'न काम छ, न खर्च, हामी बर्बाद भयौं।'

गुरुङजस्तै वैदेशिक रोजगारको आशामा आठदेखि साढे आठ लाख खर्चेर नैरोबी पुगेका सात नेपाली त्यहाँस्थित ओपन न्यु गेस्टहाउसमा उद्धारको पर्खाइमा छन्।

गुरुङका अनुसार उनीहरुलाई त्यहाँ पुर्याइउने मोरङ शनिश्चरेका विजय भनिने चक्रबहादुर भट्टराई (राहदानी नम्बर २९०७६९९) सात दिनदेखि सम्पर्कविहीन छन्।

'आफूसँग भएको पैसा पनि सकियो, काम पनि छैन, हामीलाई ल्याउने मान्छे हामीलाईएक सातादेखि गायब छन्।'

उनका अनुसार त्यहाँ पुगेका सबै नेपाली भारतीय र नेपाली सेनाका पूर्वसैनिक हुन्।

चितवन माडीका होमबहादुर गुरुङ, लमजुङ भोर्लेटारकै हस्तबहादुर गुरुङ, नवलपरासी जरहरका नवराज गुरुङ र मीनबहादुर चन्द, कास्कीका अशोक रानाभाट र दोलखाका यज्ञबहादुर बस्नेत गुरुङसँगै गेस्टहाउसमा छन्।

चितवन माडीकै बलराम पौडेल भने नैरोबीमै अर्काे होटलमा रहेको उनले जानकारी दिए।

दलालले आफूहरुलाई एक महिनाअघि काम लगाइदिने भनेर युगान्डाको कम्पाला पुर्यािएर फर्काएको उनले सुनाए। 'युगान्डामा जागिर छ भनेर कम्पाला पुर्याभई १५ दिन राखेर फर्र्कायो,' गुरुङले भने, 'बल्ल ठागिएछौं भन्ने लागेर एनआरएनएसँग सम्पर्क गरेका छौं।'

युगान्डामा पनि भट्टराईकै समूहले थप छजना पूर्वसैनिकलाई

अलपत्र पारेको नुवाकोट त्रिशूलीका हिराबहादुर तामाङले जानकारी दिएका छन्।

कम्पालामा अलपत्र हिराबहादुरले नागरिकलाई फोनमा जानकारी दिए, 'शान्तबहादुर तामाङ, टुकबहादुर बस्नेत र अन्य तीनजना उद्धारको पर्खाइमा छौं।'

गैरआवासीय नेपाली संघ, केन्याका अध्यक्ष रामचन्द्र बस्यालले पनि युगान्डामा नेपाली अलपत्र रहेको पुष्टि गरे। 'युगान्डामा पनि भट्टराईकै समूहले नेपालीलाई अलपत्र पारेको खबर आएको छ,' उनले नागरिकसँग फोनमा भने, 'केन्या र युगान्डामा अलपत्रलाई कसरी स्वदेश फर्काउन सकिन्छ भनेर उनीहरुसँग भेटेर छलफल गर्दैछौं।'

एक साताअघि पनि अफ्रिकी मुलुक तान्जानियामा छजना नेपाली पक्राउ परेका थिए। उनीहरु एनआरएनएको सहयोगमा स्वदेश फर्कने क्रममा छन्। तान्जानियामा रहेका नेपालीले पैसा उठाएर अध्यागमनबाट छुटाएको र घरबाट थप पैसा मगाएर उनीहरु स्वदेश फर्किरहेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिमा तान्जानियाका प्रतिनिधि भरत रिजालले जानकारी दिए।

उद्धारपछि दिल्ली आइपुगेका उनीहरुमा कास्कीका बासुदेव तिमल्सिना, प्युठानका होमबहादुर केसी, बाग्लुङका दिलबहादुर सुनार, नवलपरासीका खड््गबहादुर कुँवर र रुपन्देहीका ओमप्रकाश थारू छन्।

रिजालका अनुसार भट्टराई युगान्डामा बसेर मानवतस्करीको सञ्जाल चलाइरहेका छन्। अलपत्र परेकाहरुले नेपालबाट थप मान्छे ल्याइरहेको भन्ने जानकारी आएको सुनाएको उनले बताए। त्यसबारे दूतावासको ध्यानाकर्षण गरेको उनले जनाए।

पछिल्लो समय एकपछि अर्को गर्दै अफ्रिकी मुलुकमा नेपाली अलपत्र परेका घटना सार्वजनिक हुन थालेका छन्।

'नपढेका मात्र नभएर सरकारी जागिरबाट रिटायर्ड पनि परेका छन्,' दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अरुण धितालले नागरिकसँग फोनमा भने। उनका अनुसार अफ्रिकामा शारीरिक श्रम गर्ने मानिसको आवश्यकता छैन, विशेषज्ञका लागि मात्र रोजगारी छ।

राष्ट्रसंघीय मिसनमा रोजगारी दिने, युरोप छिराइदिने र अफ्रिकामै राम्रो रोजगारी दिने भन्दै दलालहरुले सोझा नेपालीलाई अफ्रिकाका विभिन्न देश पुर्यााएर अलपत्र पार्ने क्रम बढेको उनले बताए।

केन्या, युगान्डा र तान्जानियामा यस्तो समस्या बढी देखिएको छ। 'पछिल्लोपटक तान्जानियासहितका पूर्वी अफ्रिकी देशमा समस्या बढेको छ', रिजालले नागरिकसँग भने, 'राष्ट्रसंघीय मिसनमा जागिर लगाइदिनेदेखि युरोप पुर्या उने भन्दै अफ्रिकी देश पुर्या एर अलपत्र पार्ने क्रम पछिल्लो समयमा बढेको छ।'

अफ्रिका देशमा रोजगारीका लागि जाने अधिकांश व्यक्ति भारतीय बाटो प्रयोग गर्छन्।

'अफ्रिकाका केही देशमा नेपालीलाई अनएराइभल भिसाको सुविधा छ', रिजालले भने, 'तर त्यसलाई दुरुपयोग गर्दै दलालहरुले त्यहाँ पुर्यााएर अलपत्र छाडेर भाग्ने गरेका छन्।'

रिजालका अनुसार सोमालिया, दक्षिणी सुडानजस्ता देशको समस्याका कारण छिमेकी देशले आप्रवासी भएको स्थानमा छापामा मारिरहने र त्यही क्रममा नेपाली पक्राउ पर्ने गरेका छन्। 'टुरिस्ट भिसा भए पनि नेपालीसँग पैसा पनि नहुने र रिटर्न टिकट पनि नहुने हुँदा पक्राउ पर्ने गरेका छन्,' रिजालले भने, 'पाकिस्तानी, अफानिस्तानीलाई भन्दा नेपालीलाई राम्रै व्यवहार हुने भए पनि यस्तो अवस्था कति दिनसम्म हो भन्न सकिँदैन।'

जाम्बियाले भने पछिल्लो समय नेपालीका लागि अनएराइभल भिसा बन्द गरेको छ।

'जाम्बियामा नेपाली अलपत्र पारेको कुनै घटना भेटिएको छैन, तर नेपालीका लागि एक वर्षअघि अनएराइभल भिसा काटिएको छ', जाम्बियामा बस्दै आएका एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य एकनाथ खतिवडाले भने, 'छिमेकी देशमा देखिएको समस्याका कारण भिसा बन्द गरिएको हुनसक्छ।'

अनएराइभल भिसाको दुरुपयोगले समस्या बढेको उनले बताए। 'यो भिसा नेपाली पासपोर्टधारीका लागि सम्मानको विषय हो', उनले भने, 'यसको दुरुपयोग रोकिएन भने अफ्रिकाका अन्य देशमा पनि बन्द हुनसक्छ।'

एनआरएन अफ्रिकाका संयोजक हिक्मत थापाले अफ्रिकी मुलुकमा बढ्दो मानव तस्करी रोक्न छिट्टै कदम चालिने बताए।

'अफ्रिकामा मानवतस्करी रोक्ने उपाय खोज्न मार्च २ मा दक्षिण अफ्रिकास्थित दूतावास र एनआरएन अफ्रिकाको आयोजनामा कार्यक्रम गर्दैछौं', उनले भने।

राजदूत धितालले तीन वर्षयता अलपत्र एक सयभन्दा बढी नेपालीको उद्धार गरिसकेको जानकारी दिए। सन् २०१२ मा माडागास्कारमा अलपत्र नेपालीलाई दूतावासले अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) को सहयोगमा उद्धार गरेको थियो।

धिताल र थापा अफ्रिकामा रोजगारीका लागि आउने व्यक्तिले सबै विषय राम्रोसँग बुझेर मात्र आउन आग्रह गर्छन्।

'रोजगारीका लागि अफ्रिका आउने हो भने दक्षिण अफ्रिकास्थित दूतावास र एनआरएनएसँग सम्पर्क गरेर आउँदा सहज हुन्छ', थापाले भने, 'नेपाली धेरै रहेका १२ मुलुकमा एनआरएनएका राष्ट्रिय समिति छन्। नेपालीहरु नठगिऊन् भनेर सधैं सहयोग गर्न तयार हुनुहुन्छ।'

Published on: 2 February 2014 | Nagarik

Back to list

;