s

अफ्रिकामा युवती पुर्या उँदै करोडपति

ट्राभल्स एजेन्सीको आवरणमा अफ्रिकी र खाडी मुलुकका डान्सबारमा जोखिमपूर्ण काम गराउन नेपाली युवती तस्करीमा सक्रिय समूहले साढे ३ करोड रुपैयाँ नेपाल भित्र्याएको खुलेको छ। आकर्षक रोजगारीको प्रलोभन दिएर आफ्रिकी मुलुकमा पुर्या ई नेपाली युवतीलाई जोखिमपूर्ण काममा लगाएको अभियोगमा ३ महिनाअघि पक्राउ परेका समूहको ८ जना सदस्यको आर्थिक गतिविधि अनुसन्धानमा उनीहरुले विभिन्न रेमिट्यान्स कम्पनीबाट सो रकम नेपाल भित्र्याएको खुलेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार गिरोहका ८ सदस्य र उनीहरुको श्रीमतीको नाममा अफ्रिकी र खाडी मुलुकबाट आएको रकमबारे अनुसन्धान अगाडि बढाएको थियो। ब्युरोकी एसपी किरण बज्राचार्यका अनुसार अनुसन्धानमा उनीहरुले विभिन्न मितिबाट आफू र आफ्नी श्रीमतीका नाममा विभिन्न रेमिट्यान्स कम्पनीबाट ३ करोड ४६ लाख ६० हजार भित्र्याएको खुलेको हो।

नेपालमै रहेका उनीहरु र उनीहरुको परिवारका नाममा रेमिट्यान्सबाट भित्रिएको रकमको स्रोतबारे पक्राउ अभियुक्तले खुलाउन नसकेपछि प्रहरीले सबैमाथि आपराधिक गतिविधि अवैध सम्पत्ति आर्जन गरेको थप अभियोगमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागलाई लेखी पठाएका छन्।

अफ्रिकी मुलुक तान्जानिया, केन्या, युगान्डा, खाडी मुलुक युएई, बहराइन, ओमान र मलेसिया लगायत देशका डान्सबारमा नेपाली युवती जोखिमपूर्ण रुपमा काम गरिरहेको सूचनाका आधारमा एक वर्षदेखि अनुसन्धान गरिरहेको ब्युरोले चैत २८ मा गिरोहका मुख्य नाइकेदेखि सहयोगीसम्मलाई पक्रेको थियो।

ब्युरोले राजेन्द्र सुवेदी, सविनराजा मानन्धर, तरुण रोजाना खनगवाल, ललितराजसिंह सुवाल, सुनिल अधिकारी, केदार खड्का र नवीन दाहाललाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउँदा उनीहरुले आकर्षक रोजगारीको प्रलोभन दिएर अफ्रिकी र खाडी मुलुकमा नेपाली युवती पठाएर डान्सबारमा जोखिमपूर्ण काममा लगाउने गरेको र यीमध्ये कतिपयको ती देशमा आफ्नै लगानीका डान्सबारसमेत रहेको खुलेपछि अनुसन्धान अगाडि बढाएको थियो।

एसपी बज्राचार्यका अनुसार अनुसन्धानमा ५ देखि ७ लाखसम्म लिँदै युवतीलाई डान्सबारको काममा लगाउने र एक देशबाट अर्को देशमा रहेको एजेन्टलाई बिक्री गर्ने गरेको खुलेपछि उनीहरुको आर्थिक गतिविधिबारे अनुसन्धान सुरु गरिएको थियो। ‘अहिले खुलेको सम्पत्ति विवरण उनीहरुले वैध बाटोबाट भित्र्याएको अवैध रकम मात्रै हो,' बज्राचार्यले नागरिकसँग भनिन्, ‘हुन्डी लगायतका अवैध बाटोबाट भित्रिएको रकम र सो रकमबाट खरिद गरिएको अचल सम्पत्तिबारे अनुसन्धान जारी नै छ।'

ब्युरोका अनुसार हालसम्मको अनुसन्धानमा गिरोहका मुख्य नाइके राजेन्द्रका नाममा ३६ लाख ५६ हजार र उनको श्रीमतीको नाममा ७ लाख २० हजार नेपाल भित्रिएको फेला परेको छ। सविनको नाममा ४४ लाख ४६ हजार, उनको श्रीमतीको नाममा ७२ लाख ८१ हजार, तरुणको श्रीमतीको नाममा १९ लाख ८४ हजार, ललितराजको नाममा ३२ लाख र उनको श्रीमतीको नाममा १२ लाख ८३ हजार, सुनिलको नाममा ७१ लाख ५४ हजार र श्रीमतीको नाममा १९ लाख, केदारको नाममा ८ लाख ३२ हजार र नवीनको नाममा २३ लाख ७८ हजार विभिन्न रेमिट्यान्स कम्पनीबाट नेपाल भित्रिएको तथ्य ब्युरोले फेला पारेको छ।

पक्राउ परेकालाई सम्पत्तिको स्रोत खुलाउन तोकिए पनि उनीहरु असफल भएपछि प्रहरीले सो रकम आपराधिक गतिविधिबाट आर्जन भएको दाबी गर्दै सम्पत्ति शुद्धीकरणलाई अनुसन्धान अगाडि बढाउन पत्र पठाएको छ। ‘अहिले खुलेको विवरणकै आधारमा अभियुक्तहरुमाथि अवैध सम्पत्तिमा अनुसन्धान अगाडि बढ्न सक्ने देखिएकाले यसका लागि विभागमा पत्र पठाइसकेका छौं,' बज्राचार्यले भनिन्, ‘उनीहरुका आफन्त र उनीहरुकै नाममा रहेको अचल सम्पत्तिबारे अनुसन्धान अझै जारी छ।'
बज्राचार्यका अनुसार पक्राउ अभियुक्तबाट प्रहरीले युवती पठाएवापत कहाँबाट कति रकम आयो र कति लिन बाँकी छ भन्ने विवरण रहेको खाता नै फेला पारेको छ। खाताको विवरणबारे समेत अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिइन्।

ब्युरोको अनुसन्धानमा ललितपुरमा रहेको माउन्टेन टुर्सका सञ्चालक राजेन्द्रले नेपाल र दुबईमा डान्सबार खोली नेपाली युवतीलाई आफ्रिकी र खाडी मुलुकमा पठाउन सक्रिय रहेको खुलेको थियो। मैतीदेवीका सविनको कस्मेटिक र फोटो स्टुडियो थियो। तर, उनको मुख्य धन्दा विदेशमा रहेका एजेन्टबाट युवतीको डिमान्ड लिएर सोही अनुसार युवती खोजी उनीहरुलाई रोजगारीको प्रलोभनमा पारी डान्सबार पठाउने गरेको खुल्यो। यही धन्दाबाट उनले केन्या र तान्जानियामा डान्सबारमा लगानी गरेका थिए।
नयाँदिल्लीका भारतीय नागरिक तरुण इमाडोलमा बसेर अफ्रिकी र खाडी मुलुकमा पठाउने युवती छनोट गर्थे। केन्या र तान्जानियामा उनको आफ्नै डान्सबारसमेत थियो। स्वयम्भू ठुलो भर्यानङमा कम्प्युटर पार्ट्सका व्यापारी ललितराज सविनराजका पार्टनर थिए।

ललितपुर एकान्तकुनाका सुनिल अधिकारी राजेन्द्रको ट्राभल्सको मार्केटिङका कर्मचारी देखिए पनि उनी युवती खोज्ने र मागअनुसार छनोट गर्न सक्रिय रहेको ब्युरोको अनुसन्धानमा खुलेको थियो। सिनामंगलमा होटल चलाउने केदारको असली धन्दा युवतीलाई विदेश जान विमानस्थलमा सहजीकरण गर्ने गरेको खुल्यो। पछि अनुसन्धान गर्दै जाँदा उनी दुबई पठाइदिन्छु भनी सिरिया पठाएर महिला बेच्न सक्रिय देखिएका थिए।

नवीनको देखिने व्यापार कस्मेटिक रहे पनि उनी भारतीय नागरिक तरुणको मुख्य सहयोगी रहेको खुल्यो भने राजेन्द्र दुबई भन्दै युवतीलाई सिरिया पुर्यारउन सक्रिय देखिएपछि प्रहरीले उनीहरुलाई मानव ओसारपसार र बेचबिखनमा अनुसन्धान अगाडि बढाएको थियो। पक्राउ परेका सबै प्रतिवादी काठमाडौं जिल्ला अदालतको आदेशमा अहिले पुर्पक्षका लागि विभिन्न जेलमा थुनामा छन्।

पक्राउ अभियुक्तको सम्पत्ति र त्यसको स्रोत खोजीसँगै ब्युरोले एसपीको कमान्डमा अप्रेसन इगल नामकरण गरी गिरोहका अन्य सदस्य खोज्ने काम जारी राखेको थियो। सोही क्रममा सोमबार ब्युरोले सोही समूहका २ जना सदस्य सुरेन्द्रबहादुर बस्नेत र सुनिल मगरलाई पक्राउ गर्योल। यी दुवैको सम्पत्ति र त्यसको स्रोतको अनुसन्धान जारी रहेको ब्युरोले जानकारी दियो।

Published on: 31 May 2015 | Nagarik
 

Back to list

;