s

अफगानिस्तानमा २१ नेपाली नक्कली राहदानीसहित पक्राउ

सुरेन्द्र पौडेल

अफगानिस्तानको राजधानी काबुलमा नक्कली राहदानी र भिसासहित २१ नेपाली पक्राउ परेका छन्। दलालहरूको प्रलोभनमा काबुल पुगेका नेपालीसहित ६१ जनालाई अफगान प्रहरीले शनिबार पक्राउ गरेको हो।

'२१ नेपाली, २५ भारतीय र १५ श्रीलंकालीलाई नक्कली राहदानी र भिसा प्रयोग गरेको आरोपमा पक्राउ गरिएको छ,' अफगानिस्तान गृह मन्त्रालयका प्रवक्ता सेदिक सिद्धिकीले टेलिफोनमा नागरिकसँग भने, 'निकै दयनीय अवस्थामा रहेका उनीहरूलाई काबुलस्थित एक घरबाट पक्राउ गरिएको हो।' ६१ जनालाई नै नेपाली दलालले भारतीय बाटो हुँदै त्यहाँ पुर्‍याएका हुन्।

सिद्धिकीका अनुसार पक्राउ पर्ने क्रममा उनीहरू सबै एउटै घरमा भेटिएका थिए। उनीहरूको राहदानी र त्यहाँ लागेको भिसा जाँच गर्दा दुवै नक्कली भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो। अहिले उनीहरू सबैलाई प्रहरी निगरानीमा एउटै घरमा थुनेर राखिएको छ।

'पक्राउ परेका नेपालीलगायत सबैको स्वास्थ्य राम्रो छ,' प्रवक्ता सिद्धिकीले भने, 'थप जाँच प्रक्रिया अगाडि बढाएका छौं।' पक्राउ पर्नेमध्ये २१ नेपाली भएको पहिचान गरिए पनि उनीहरूको नाम भने अफगान गृह मन्त्रालयले बताउन चाहेन।

उनका अनुसार नेपाली दलालले केहीलाई अफगानिस्तानमा र केहीलाई युरोप तथा अमेरिकामा रोजगारी लगाइदिने प्रलोभन देखाई उनीहरूलाई काबुल पुर्‍याएका थिए।

'नेपाली पक्राउ परेकोबारे हामीले केही जानकारी पाएका छैनौं,' अफगानिस्तान समेत हेर्ने पाकिस्तानका लागि नेपाली राजदूत बलबहादुर कुँवरले टेलिफोनबाट भने, 'भोलि (सोमबार) यथार्थ बुझी उनीहरूको उद्धारमा लाग्छौं।'

दलालहरूले युरोप र अमेरिकाका ठूला सहरमा रोजगारी लगाइदिने बहानामा किर्ते कागजात थमाई बिभिन्न ट्रान्जिटमा कामदार अलपत्र छाड्ने गरेका छन्। एउटा कामदारसँग दलालले ५ लाखदेखि १५ लाख रुपैयाँसम्म लिने गरेको पक्राउ पर्नेले बताउँदै आएका छन्।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार पछिल्लो समय भारतबाट थाइल्यान्डको बैंकक, रुसको मस्को र अफगानिस्तानको काबुल हुँदै दलालहरूले नक्कली कागजातमा नेपाली कामदारलाई युरोप र अमेरिका पठाउँदै आएका छन्। यस्ता ट्रान्जिट पर्ने सहर पुर्‍याई दलाल भाग्दा केही नेपाली त्यहाँ रहेको नेपाली दूतावास पुग्ने र केहीलाई स्थानीय प्रहरीले पक्राउ गर्ने गरेको छ।

एक साताअघि मस्कोस्थित नेपाली दूतावासमा यस्तै चार कामदार पुगेका थिए भने बैंककस्थित दूतावासमा एकै दिन १४ जनासम्म आफूहरूलाई यूरोप/अमेरिका पुर्‍याइदिने प्रलोभनमा अलपत्र पारेको भन्दै पुगेको रेकर्ड छ।

'एक वर्षजति भयो, अफगानिस्तानमा नेपाली कामदार पक्राउ पर्ने क्रम बढेको,' पाकिस्तानस्थित नेपाली दूतावासका उपनियोग प्रमुख दुर्गाप्रसाद भण्डारीले भने, 'दलालका कारण यहाँ नेपालीले ठूलो दुःख पाएका छन्।' काबुल पुर्‍याएपछि दलालहरूले युरोप र अमेरिकाको भिसा लगाइदिने भन्दै कामदारसँग रहेको राहदानीसमेत लिएर भाग्ने गरेपछि उनीहरूको उद्धार गर्नसमेत अप्ठ्यारो पर्ने गरेको उनले बताए।

Published on: 13 February 2012 | Nagarik

Back to list

;