s

अफगानिस्तानमा कति छन् नेपाली ?

जनकराज सापकोटा 
  
आतंकवादी हमलामा अफगानिस्तानको राजधानी काबुलमा नेपालीको ज्यान गएपछि त्यहाँ कति नेपाली छन् भन्नेबारे चासो बढेको छ ।
 
२०६१ भदौ १६ मा इराकमा १२ नेपाली कामदार मारिएपछि सरकारले त्यहाँ जान प्रतिबन्ध लगाएको थियो । तर वैधानिक रूपमा नेपाली कामदार जान रोकिए पनि अवैध बाटोबाट नेपाली जाने क्रम रोकिएको छैन । घटना सेलाएलगत्तै वैदेशिक रोजगार व्यवसायीको दबाबमा सरकारले अफगानिस्तानलाई आंशिक रूपमा खुल्ला गरेको छ ।
 
वैदेशिक रोजगार विभागका अनुसार १२ मेनपावर व्यवसायी नेपालीलाई अफगानिस्तान पठाउन सक्रिय छन् । वैदेशिक रोजगार विभागका अनुसार गत वैशाखमा मात्रै १ सय ४९ नेपाली कामदार श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेको देखिन्छ । अर्थात् औसतमा दैनिक पाँच जना नेपाली श्रमका निम्ति वैधानिक बाटोबाट त्यहाँ पुग्छन् ।
 
आर्थिक वर्ष २०७२/७३ को वैशाख मसान्तसम्म १ हजार २ सय १३ नेपाली कामदार कानुनी रूपमै अफगानिस्तान पुगेका छन् । जसमा व्यक्तिगत स्वीकृतिमा जाने कामदारको संख्या १ हजार ५५ छ भने संस्थागत स्वीकृतिमा १ सय ५८ जना । तीमध्ये अधिकांश पुरुष छन् । चालु आर्थिक वर्षमा २ जना महिला मात्रै वैधानिक रूपमा अफगानिस्तान पुगेको देखिन्छ ।
 
विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीका अनुसार राष्ट्रसंघ र कूटनीतिक नियोगमा मात्रै नेपाली पठाइने गरेका बताए । त्यसका अलवा व्यक्तिगत श्रम स्वीकृतिमा जाने डाक्टर, इन्जिनियर र प्रोफेसरको पनि सानो संख्या छ ।
 
वैधानिक तबरबाट भन्दा दुबई र भारतको बाटो हुँदै अवैध रूपमा अफगानिस्तान पुगेका नेपालीको संख्या निकै छ । जानकारहरूका अनुसार १० देखि १५ हजार हाराहारीमा नेपालीहरू अफगानिस्तानमा छन् । ‘अब के गर्ने भन्नेबारे मन्त्रालयस्तरमा छलफल गरेपछि मात्रै टुंगोमा पुग्छौं,’ पुडासैनीले भने ।
 
श्रम तथा रोजगार मन्त्री दीपक बोहोरा काठमाडौं बाहिर रहेका कारण मन्त्रालयले यस विषयमा कुनै ठोस निर्णय लिइसकेको छैन् । वैदेशिक रोजगारीको क्षेत्रमा लामो समयदेखि अध्ययन गरिरहेका गणेश गुरुङ २०६१ को घटनापछि सरकारले लगाएको प्रतिबन्ध किन खुला गरियो भन्ने जवाफ दिनुपर्ने बताउँछन् ।
 
गुरुङको अनुभवमा त्यसलगत्तै व्यवसायीको चर्को दबाबमा सरकारले अफगानिस्तालाई आंशिक रूपमा खुला गरेको थियो । आवधिक सूचना लिएर त्यहाँको सुरक्षा स्थिति र नेपाली कामदारको अवस्था बुझ्ने सरकारी परिपाटीका नभएका कारण नेपाली कामदारले समस्या भोग्नुपरेको उनले बताए ।
 
‘घटनापछि आवेशमा आएरभन्दा पनि त्यहाँको सुरक्षा अवस्थाबारे सुरक्षाविज्ञबाट विस्तृत अध्ययन गरेर कामदार पठाउन रोक्ने वा खुला राख्ने भन्ने निर्णय गर्नुपर्छ,’ उनले भने ।
 
निर्णय पुनर्विचार हुन्छ : श्रममन्त्री
 
अफगानिस्तानमा नेपाली कामदार मारिएपछि ‘ग्रिन जोन’ मा मात्रै कामदार पठाउने सरकारी निर्णय पुनर्विचार हुने भएको छ । श्रम तथा रोजगार मन्त्री बोहोराले कान्तिपुरसँग भने, ‘घटनापछि हामी पूर्ववत् निर्णय पुनर्विचार गर्ने निष्कर्षमा पुगेका छौं ।’
 
मन्त्री बोहोराका अनुसार अबका दिनमा अफगानिस्तानका निम्ति श्रम स्वीकृति रोकिन सक्छ । के कारणले नेपाली कामदार ‘टार्गेट’मा परेका हुन् भन्ने विषयमा विस्तृत अध्ययन गरेपछि मात्रै आगामी कदमबारे भन्न सकिने उनले बताए ।
 
अफगानिस्तान कति नेपाली छन् ?
 
आर्थिक वर्ष ०५९/६० : ७२
आर्थिक वर्ष ०६०/६१ : ३२७
आर्थिक वर्ष ०६१/६२ : ०
आर्थिक वर्ष ०६२/६३ : ३२
आर्थिक वर्ष ०६३/६४ : १८२
आर्थिक वर्ष ०६४/६५ : १४००
आर्थिक वर्ष ०६५/६६ : १५३८
आर्थिक वर्ष ०६६/६७ : ७३५
आर्थिक वर्ष ०६७/६८ : ६५५
आर्थिक वर्ष ०६८/६९ : ८२३
आर्थिक वर्ष ०७० /७१ : ६०५
आर्थिक वर्ष ०७१/७२ : १५०१
आर्थिक वर्ष ०७२/७३ वैशाख मसान्तसम्म : १२१३
 
स्रोत : वैदेशिक रोजगार विभाग
 
Published on: 21 June 2016 | Kantipur

Back to list

;