s

अफगानिस्तानबाट फर्किएका नेपाली भन्छन्– ‘युद्धभूमिबाट शान्त भूमि आइपुग्यौं’

होम कार्की 

काठमाडौँ — ताप्लेजुङका सुवास गुरुङ मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको एक घण्टापछि आगमन कक्षबाट बाहिर निस्कँदा मुसलधारे पानी परिरहेको थियो । तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अपर्झट देश फिरेका उनलाई लाग्यो– पानीले स्वागत गर्‍यो ।

विमानस्थल उत्रेलगत्तै भने उनलाई केही फरक अनुभव भयो । पहिलेजस्तो यात्रु प्रतीक्षालय भरिभराउ थिएन । विगतमा प्रत्येक ५ वर्षमा बिदामा घर आउँदा उनलाई लिन परिवारजन त्यही प्रतीक्षालयमा पर्खिबसेका हुन्थे । तर यसपटक उनलाई लिन परिवारको साटो सेना–प्रहरी थिए ।

आगमन कक्षबाट बाहिर निस्किनेबित्तिकै सेना–प्रहरीको टोलीले एस्कर्टिङ गर्दै सेनाको बसमा चढाए । अन्य साथीहरूलाई पनि यसरी नै एस्कर्ट गरिएको थियो । सेनाले उनीहरूलाई बसमा चढाउँदै कोभिड–१९ परीक्षणका लागि सामाखुसीस्थित राधास्वामीतर्फ पठाइरहेको थियो । ‘काबुलमा त्रास फैलिएदेखि नै सेनाले साथ छोडेको छैन । चार दिनदेखि सुरक्षाकै घेरामा जीवन चलिरहेको छ,’ विमानस्थलको पार्किङस्थलमा रोकिराखेको बसको ढोका छेउमा भेटिएका गुरुङले भने, ‘पछिल्लो एक साताको समय मेरा लागि जीवनकै अविस्मरणीय समय बन्यो । जसको नुनपानी खाएको थिएँ, उसलै देश फर्काइदियो ।’

अमेरिकाले अफगानिस्तानको राजधानी काबुलबाट उद्धार गरेर उनीसहित १ सय १८ जना नेपाली र ९ जना भारतीयलाई कुवेत हुँदै मंगलबार काठमाडौं पठाएको हो । ३ सय ८५ जना नेपाली अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासको सुरक्षा गार्डमा तैनाथ थिए । दूतावास परिसरमा मात्रै ५ सय ६९ नेपाली थिए । १ सय ८४ जना घर बिदामा नेपाल आएका थिए ।

भारतीय सेनाबाट अवकाश लिएपछि गुरुङ रोजगारीका लागि अफगानिस्तान पुगेका थिए । ‘हामी दूतावासको सुरक्षाको तेस्रो लहरमा बस्थ्यौं । परिसरबाहिर अफगान प्रहरी नै बस्ने गरेको थियो । अमेरिकाले सेना हटाएपछि के हुन्छ होला भन्ने लागिरहेको थियो । एक्कासि काबुल छाड्नुपर्ने सूचना आयो,’ उनले भने, ‘यति छिट्टै काबुलबाट हिँड्नुपर्छ भन्नेचाहिँ लागेको थिएन ।’

तालिवानहरू काबुलतर्फ बढिरहेको सूचना पाउनासाथ अमेरिकी दूतावासको चहलपहल एक्कासि वेगमा बढेको थियो । तालिवान काबुल आउनु अघिल्लो रात नै दूतावास खाली भइसकेको थियो । ‘दूतावास परिसरभित्रै १० वटा हेलिकप्टर अट्ने हेलिप्याड छ । भित्र भएका सबैलाई सुरक्षित राख्न धमाधम हेलिकप्टरले उडाएर विमानस्थलको अमेरिकी सैन्य क्याम्पभित्र पुर्‍याउन थाल्यो,’ उनले भने, ‘मेरो पालो शनिबार राति मात्रै आयो । सम्भवतः हामी दूतावास छोड्ने अन्तिम टोली होला ।’

त्यसअघि दूतावासका कर्मचारीहरूलाई ल्याइसकिएको थियो । उनीहरूको सुरक्षाका लागि अमेरिकाले विशेष सैन्य टोली काबुल खटाएको थियो । ‘हामीले आफ्नो पोस्ट अमेरिकी सेनालाई जिम्मा दियौं । उनीहरूले टेकओभर गरे । जसको ड्युटी जतिखेर थियो, त्यतिखेर नै ड्युटी हस्तान्तरण गर्दै हामी सिधै दूतावास एरियाको हेलिप्याडमा गएर बस्यौं । त्यहाँबाट ५ मिनेटमा विमानस्थलस्थित सेनाको बेसक्याम्पमा ल्याइयो,’ तीन वर्षदेखि काबुलमा रहेका चितवनको भरतपुर–११ का सन्तोष अधिकारीले भने, ‘पहिला नै निस्कनुपरेकाले तालिवानसँग हाम्रो जम्काभेट भएन ।’ 

भारतीय सेनाका भूपू उनले दूतावासबाहिरको काबुलसँग कहिल्यै संगत गर्नु नपरेको बताए । ‘काबुलबाट विशेष सैन्य विमानमा दोहाको अमेरिकी सैन्य क्याम्पमा लगिएको थियो । त्यहाँ केही घण्टा राखेपछि हामीलाई कतार एयरवेजमा कुवेत पुर्‍याइयो । त्यहाँ ४ घण्टा बसेपछि अलजजिरा विमानमार्फत नेपाल आएका हौं,’ उनले भने ।

कतिपय सुरक्षा गार्डले ड्युटीमा बसेकै अवस्थामा फर्कनुपरेको छ । ‘ड्युटी बस्दाबस्दै झोला र सुटकेस बोकेर आउनुपर्‍यो,’ दुई वर्षदेखि काबुलमा रहेका डोलबहादुर गुरुङले भने, ‘डर थियो । नेपाल आउन पाइयो, यसमै खुसी छौं ।’

अमेरिकी कम्पनीले कामदारसँग करारपत्र गर्ने बेलामा नै आपत्कालीन अवस्था आइपरेमा उद्धार गर्ने जिम्मेवारी लिने सर्त राखेको हुन्छ । त्यही सर्त पूरा गर्ने भएपछि वैदेशिक रोजगार विभागले कम्पनीलाई अफगानिस्तानमा सुरक्षा गार्ड भर्ना गर्ने अधिकार दिइएको थियो ।

मंगलबार आएकामध्ये एक जनालाई कोभिड देखिएको छ । उनीसँग नजिकका ७ जनालाई क्वारेन्टाइनमा पठाइएको छ । एकै उडानमा आएका ९ जना भारतीयलाई काठमाडौंस्थित भारतीय दूतावासको जिम्मा लगाइएको परराष्ट्रले जनाएको छ । कन्सुलर सेवा विभागको वेब पोर्टलमा मंगलबार साँझ ५ बजेसम्म अफगानिस्तानमा रहेका २ सय ५६ जना नेपालीले आफ्नो विवरण दर्ता गरेका छन् ।

यसैबीच नेपाल सरकारले अफगानिस्तानको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै धारणा राखेको हो ।

Published on: 18 August 2021 | Kantipur

Link

Back to list

;