s

अफगानिस्तानबाट चाँडै होस् नेपालीको उद्धार

तालिवानले अफगानिस्तानमा पुनः कब्जा जमाएको छ। सन् २००१ मा अमेरिकाको आक्रमणपछि सत्ताच्यूत भएको तालिवानले अमेरिकी सेना फिर्ता गएसँगै अफगानिस्तानलाई हातमा लिएको हो। यो समय अमेरिकी सेनाले २० वर्षसम्म त्यहाँ लडाइँ गर्‍यो। अहिले आफ्नो नागरिकलाई फिर्ता लैजान मात्रै थप पाँच हजार सैनिक काबुलमा पठाएको छ। युद्धकै यो समयमा सो सेनाले अमेरिकी नागरिकलाई सुरक्षित फिर्ता लानेछ। तर, त्यहाँ अमेरिका मात्र नभई नेपालसहित विश्वका धेरै राष्ट्रका नागरिक छन्। उनीहरू यो परिवर्तनले अप्ठ्यारोमा परेका छन्। सत्ता नै तालिवानको हातमा पुगेपछि त्यहाँ रहेका नागरिकलाई चाँडो फिर्ता बोलाउन असहज भएको विभिन्न देशले जनाएका छन्। नेपाली नागरिकले पनि सरकारसँग आपूmहरूलाई चाँडो फिर्ता बोलाउन अपिल गरेका छन्।

काबुल तनावग्रस्त छ। राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। तालिवानको कडा दबावपछि उनी ताजिकिस्तानका लागि उडे। अब के हुन्छ ? त्रासमा अफगानिस्तानमा रहेका विदेशी नागरिक छन्। यहाँ विभिन्न बाटो भएर विदेशी नागरिक पुगेका छन्। त्यसमा नेपालीको संख्या पनि ठुलो छ। कोही जोखिम मोलेर अनौपचारिक रूपमा पुगेका छन् भने कोही अमेरिकी सेनाको क्याम्पमा काम गर्छन्। तनावग्रस्त अवस्था भएकाले उनीहरू सबै जोखिममा छन्। विद्रोही समूह तालिवान काबुल प्रवेश गरेपछि आफूहरू तनावमा रहेको नेपालीहरूले विभिन्न माध्यमबाट बताइरहेका छन्। अफगानिस्तानमा नेपाली राजदूतावास नभएकाले उद्धारका लागि कहाँ कोसँग पहल गर्ने उनीहरूमा अन्योल कायमै छ।

विद्रोहीहरू राजधानीभित्र छिरिसकेकाले जति बेला जे पनि हुनसक्छ। यो समस्या आइसक्दा पनि नेपाल सरकारले भने तत्काल उद्धारको कुनै योजना बनाएको छैन। आफ्ना नागरिक जुनै स्थानमा भए पनि उनीहरूको रक्षा गर्ने दायित्व सरकारको हो। अझै सत्ता कब्जा र युद्धको चपेटामा रहेका मुलुकबाट नागरिकलाई चाँडो फिर्ता ल्याउनुपर्नेमा सरकार चनाखो बन्नु पर्ने हो। राजदूतावास नभएकाले समय लागेको बहाना सरकारको छ। अफगानिस्तानबाट नागरिकको गुहारसँगै सदन र सडकमा पनि चाँडो फिर्ताका लागि पहल गर्न आवाज उठेका छन्। तर, सरकारले हालसम्म कुनै प्रकृयाको सुरुआत नगर्नु दुःखद् पाटो हो। अफगानिस्तानमा जोखिम मोलेर अनौपचारिक रूपमा पुगेका नेपाली झनै त्रासमा छन्। औपचारिक रूपमा पुगेकाहरू धेरै अमेरिकामार्फत पुगेका छन्। अमेरिकाले आफ्ना नागरिकलाई मात्रै फिर्ता लैजान चासो दिएकाले नेपालीलाई थप तनाव सृजना भएको छ।

काबुलमा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समितिसमेत छैन। अमेरिकी सेना काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा अझै कार्यरत छन्। उनीहरूले नेपाली कामदारलाई उच्च सतर्कता साथ बस्न भनेका छन्। यसले पनि नेपालीलाई दिनरात काट्न समस्या छ। तालिवान विद्रोहीले शान्तिपूर्ण तवरले सत्ता प्राप्तिको पक्षमा रहेको बताइरहे पनि ढुक्क हुन सक्ने अवस्था त्यहाँ छैन। क्याम्पमा काम गर्न पुगेका धेरै नेपाली अमेरिकी सेनासँग भएकाले केही राहत त महसुस गरेका छन् तर तालिवानले राजधानीसमेत कब्जा गर्दै आएकाले तत्काल शान्ति हुने अवस्था छैन। वैदेशिक रोजगारीका क्रममा बर्सेनि हजारभन्दा बढी नेपाली अफगानिस्तान पुग्ने गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार यहाँ औपचारिक रूपमा एक हजार चार सय नेपाली कार्यरत छन्। संस्थागतभन्दा व्यक्तिगत रूपमा जाने कामदारको संख्या धेरै छ। यस्ता कामदारको रेकर्ड पाउन मुस्किल पनि पर्छ। अब ढिला नगरी सरकारले यहाँ रहेका नेपाली नागरिकको तथ्यांक निकालेर हवाईलगायत अन्य माध्यमबाट तत्काल उद्धार गर्नुपर्छ। धेरै नेपाली काबुलमा रहेका र त्यहाँ पनि तालिवान समूहले हिंसा गर्दैन भन्न सकिने अवस्था छैन। त्यसैले नेपालीको उद्धारमा ढिला नहोस्।

Published on: 17 August 2021 | Annapurna Post

Link

Back to list

;