s

अफगानिस्तानबाट ८४७ नेपाली फर्किए

तुलसी सुवेदी

 

काठमाडौँः अफगानिस्तानबाट ८ सय ४७ नेपाली स्वदेश फर्किएका छन् । तालिबानले सत्ता कब्जा गरेपछि असहज परिस्थिति सिर्जना भएसँगै नेपालीहरू स्वदेश फर्किने क्रम जारी छ ।

तालिबानले अफगानिस्तानमा सत्ता गरेयता त्यहाँ कार्यरत हजारौँ नेपाली त्रसित छन् । काबुल अशान्त भएसँगै त्यहाँ रहेका नेपालीहरू उद्धारको पर्खाइमा रहे पनि फर्किनका लागि रुचि नदेखाएको पाइएको छ ।

फर्किएकामध्ये अधिकांश नेपालीलाई अमेरिकी दूतावासले स्वदेश फर्काएको हो । अन्य दूतावासमा कार्यरत नेपाली पनि स्वदेश फर्कन थालेका छन् । परराष्ट्र मन्त्रालयले काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन समन्वय भइरहेको  जनाएको छ । अफगानिस्तानबाट उद्धार भई कतार एयरको दोहा–काठमाडौँको नियमित उडानबाट बुधबार १६ जना, मंगलबार ५ जना, सोमबार ५० जना, आइतबार ८ जना नेपाली स्वदेश फर्किएको परराष्ट्रले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अफगानिस्तानमा फसेका नेपालीको उद्धार भइरहेका बताइन् । ‘उद्धारका लागि नाम टिपाउनुभएका सबैलाई विभिन्न निकायसँग समन्वय गरी फिर्ता ल्याइरहेका छौँ’, उनले भनिन्, ‘समन्वयमा केही दूतावासले समेत पठाउन सुरु गर्नुभएको छ ।’

उनका अनुसार नाम टिपाएकामध्ये ३४ जनालाई ल्याउन गृहकार्य भइरहेको छ । ‘उहाँहरू सुरक्षित हुनुहुन्छ, हामी उपयुक्त समयमा ल्याउँछौं’ उनले भनिन् ।

काबुलमा राजनीतिक परिवर्तन भएसँगै परराष्ट्र मन्त्रालयले कार्यदल गठन गरी उद्धारका लागि संख्या यकिन राख्न अनलाइन फारम संकलन सुरु गरेको थियो । दोहा, कुवेत लन्डनसमेत लगिएर नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तालिबानीले सत्ता कब्जा गरेलगत्तै अमेरिकाले त्यहाँ रहेका नेपालीलाई उद्धार गरी ल्याएको थियो । पछिल्लो समयमा सरकारले समन्वय गरी नेपालीलाई स्वदेश ल्याइरहेको छ । यूएनमा कार्यरत नेपाली त्यहाँ सुरक्षित रहेको बताइएको छ । केही छुट्टीमा आउन चाहेको बुझिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने गरिएको छ । कोभिड देखिएमा भने आइसोलेसनमा राख्ने गरिएको छ । अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकालाई पनि आफैं वा परिवारजनले कन्सुलर सेवा विभागको वेभसाइटमा नाम टिपाउन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।

सुरुमा कुनै न न कुनै ढंगबाट पुगेका र पछि कागजातका आधारमा श्रम स्वीकृति लिई लिगलाइजेसन भएका नेपालीहरूको संख्या पनि थुपै्र रहेको विभागले जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार अफगानिस्तानमा करिब १५ हजार नेपाली रोजगारीका लागि पुगेका छन् । बर्सेनी हजार बढी श्रमिक रोजगारीका लागि अफगानिस्तान जाने गरेका छन् । संस्थागत (म्यानपावर) भन्दा व्यक्तिगत रूपमा जाने श्रमिकको संख्या बढी छ । अफगानिस्तानबाट कति नेपाली फर्किए र कति अहिले कार्यरत छन् भन्ने यकिन नभएको छैन ।

Published on: 2 September 2021 | Annapurna Post

Link

Back to list

;