s

अफगानिस्तान भन्दै दुबई पुर्‍याएर ठगी

रुद्र खड्का

अफगानिस्तान जाने अन्तिम तम्तयारी भएपछि तनहुँ बन्दीपुरका महादेव थापालाई लाग्थ्यो– अब दुःखका दिन सकिए। अफगानिस्तान पुगेपछि पैसाको समस्या हुने छैन। दुई वर्ष मलेसियाको रोजगारीमा बिताउँदा खासै उपलब्धि हात नपारेपछि खाडी मुलुक उनको प्राथमिकतामा पर्न सकेका थिएनन्। खाडी र मलेसिया गए राम्रो पारिश्रमिक नपाइने र युरोप, अमेरिका जाने हैसियत नभएका उनले राम्रो गन्तव्य खोजिरहेका बेला साथीमार्फत अफगानिस्तान जान पाइने खबर सुनेपछि भाग्य  चम्केको अनुभव समेत गरेका थिए।

साथीको लहलहैमा अफगानिस्तान जाँदा भाग्य चम्कने ठाने पनि त्यो मुलुक कस्तो हो र जान पाइन्छ वा पाइँदैन भन्ने यकिन नगर्दा भने उनलाई अहिले आम्दानी होइन, ऋणको भार बोकाएको छ। केही वर्ष नेपाली सेनामा काम गरेकाले दलालले उनलाई अफगानिस्तानमा सुरक्षागार्डको राम्रो सम्भावना रहेको प्रलोभन देखाएका थिए। मासिक एक हजार दुुई सय अमेरिकी डलर (करिब एक लाख तीस हजार रुपैयाँ) पारिश्रमिक पाइने एजेन्टको प्रलोभनलाई पत्याउँदा थापा यतिखेर घर न घाट भएका छन्।

नेपाली सेनामा काम गर्दा र त्यसपछिको दुई वर्ष मलेसियामा काम गरी बचेको रकम डन म्यानपावरमा काम गर्ने कुमार गुरुङलाई बुझाएर अफगानिस्तान जानका लागि काठमाडौंबाट उडेका थापालाई एजेन्ट र म्यानपावरले संयुक्त अरब इमिरेट्सको दुबईमा अलपत्र पारेपछि समस्या सिर्जना भएको हो।

‘अफगानिस्तान जाने हो भने मासिक एक लाख ३० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाइने भन्दै डनमा काम गर्ने कुमार गुरुङले दिएको प्रलोभनलाई पत्याउँदा अहिले घर न घाटको अवस्थामा पुगेको छु,’ उनले नागरिकसँग भने, ‘रकम नपाउनुअघि म्यानपावरका कर्मचारीले अफगानस्तिान गए पैसाको कुनै अभाव हुँदैनसमेत भन्ने गर्थे,’ उनी भन्छन्, ‘म्यानपावरका त्यस्ता प्रलोभन त ठगी गर्नका लागि दिइएको रहेछ।’

उनका अनुसार प्रतिव्यक्ति ६ लाख रुपैयाँ सोही म्यानपावरलाई बुझाएर दुई महिनाअघि ११ युवाले एकैसाथ काठमाडौं छाडेका थिए। थापा भन्छन्, ‘त्यो म्यानपावरको धन्दा युवालाई राम्रो गन्तव्य देखाएर रकम असुल गर्ने रहेछ।’ म्यानपावरले अफगानिस्तान पठाउन भन्दै ती युवालाई दुबई पु-याएको थियो। दुबईमा २४ दिन बस्दासमेत अफगानिस्तान उडान हुन नसकेपछि ती युवा स्वदेश फर्केका छन्।

‘११ मध्ये पाँच जना मात्र दुबईबाट फर्कन बाँकी छन्,’ डन म्यानपावरविरुद्ध उजुरी गर्न वैदेशिक रोजगार विभाग पुगेका थापाले भने, ‘विभाग पुगेपछि मात्र थाहा भयो दर्ता नम्बर १४०१ भएको डन म्यानपावर कालोसूचीमा परेको रहेछ।’ कालोसूचीमा परेको म्यानपावरले विभागबाट श्रम निकाल्न नपाउने कानुनी व्यवस्था भए पनि त्यस्तो म्यानपावरलाई रकम दिएकाले यतिखेर ती युवालाई क्षतिपूर्ति दिलाउन समस्या परेको छ।

विभागले दुई वर्षदेखि रोजगारीका लागि अफगानिस्तान जान ग्रिन जोन (संयुक्त राष्ट्र संघीय मिसनको सुरक्षा गर्ने) बाहेक अन्यत्र रोक लगाएको छ। तर, म्यानपावर सञ्चालक र दलालले बेरोजगार युवालाई आकर्षक कमाइ हुने भन्दै दिनदहाडै ठगी रहेका छन्। पछिल्ला समयमा सरसर्ती हेर्दा बदमासी गर्दै आइरहेका म्यानपावरलाई विभागले कारबाही गरेको पनि देखिन्छ। तैपनि युवा ठगिने क्रम रोकिएको छैन।

कालोसूचीमा परेका म्यानपावरलाई लाखौं रुपैयाँ बुझाएर युवा वैदेशिक रोजगारीमा जान खोज्दा अन्ततः त्यसले झनै बेरोजगार युवालाई पीडा थपेको छ। २४ दिन दुबईमा बसेर फर्केका थापा र उनका साथीहरूको दिनचर्या यतिखेर दैनिक वैदेशिक रोजगार विभागमा पुग्ने र फसेको रकम कसरी उठाउने भन्ने उपायको खोजीमा बित्ने गरेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाल अफगानिस्तानको रोजगारीका लागि सरकारले ‘ग्रिन जोन’ मानेका क्षेत्रबाहेक अन्यत्र बन्द गरेकोे बताउँछन्। दुई वर्षअघि अफगानिस्तानस्थित क्यानेडियन राजदूतावासको सुरक्षामा खटिएका नेपालीमाथि आतंककारी समूहले आक्रमण गरेपछि त्यहाँको रोजगारी बन्द गरिएको थियो। बन्द भएको केही समयपछि विभिन्न निकायको चर्को दबाब खेप्न नसकेपछि सरकारले पुनः ‘ग्रिन जोन’मा जानेको हकमा रोजगारी खुला गर्ने निर्णय गरेको थियो।

यतिखेर सोही निर्णयलाई देखाउँदै दलालले युवालाई भिजिट भिसामा विभिन्न मुलुक पठाउने र त्यहााँबाट अफगानिस्तान उडाउने प्रयास गर्ने गरेको पाइन्छ। दलालले सेटिङ मिलाउन सके ती युवाको अफगानिस्तान रोजगारी सफल हुने गर्छ। भुक्तभोगीका अनुसार दलालले अफगानिस्तान भन्दै दुबई वा अन्य देशमा लैजानु भनेको युवा ९० प्रतिशत जोखिममा पर्नु हो। यस्तो सेटिङमा जाने विरलै युवाको मात्र उद्देश्य पूरा हुन्छ। उद्देश्य पूरा हुन नसकेपनि दलाल र म्यानपावरले युवासँग ठूलो रकम असुल गरिसकेका हुन्छन्।

विभागको ताहाचाल कार्यालयका प्रमुख देवेन्द्र कार्की जुनसुकै गन्तव्य जानका लागि स्वदेशबाट श्रम स्वीकृति नलिकालेका युवा जुनसुकै बेला जोखिममा पर्ने बताउँछन्। स्वदेशबाट श्रम स्वीकृति ननिकालेका युवा जोखिममा पर्दा उनीहरूलाई न्याय प्रदान गर्न पनि कठिन हुने कर्मचारीको भनाइ छ। उनले ठगीबाट बँच्न श्रम स्वीकृति लिएर मात्र युवा वैदेशिक रोजगारीमा जानु पर्ने बताए।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले जति पहल गर्छ त्यो भन्दा बढी युवामाँझ चेतना र सूचनाको आवश्यकता देखिएको कर्मचारीको निष्कर्ष छ। वैदेशिक रोजगारीमा जाँदा गरिनु पर्ने पक्रियाबारे थाहा नपाउँदा वा थाहा पाएर पनि बेवास्ता गरेका कारण हरेक वर्ष युवा वैदेशिक रोजगारीको नाममा ठगिने क्रम जारी छ। दलालको प्रलोभनमा पर्दा बर्सेनि युवाले करोडौं रुपैयाँ गुमाइरहेका छन्।

आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीको नाममा ठगीमा परेको भन्दै विभागमा पीडितले ८० करोड रुपैयाँ भन्दा बढी असुल गर्न उजुरी दिएका छन्। विभागका कानुन निर्देशक राजेश्वर अर्याल युवा ठगीमा पर्ने बढ्दै गए पनि पीडितसँग प्रमाणको अभाव हुने गरेको बताउँछन्। ‘हामीहरू सकेसम्म पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्ने चाहन्छौं,’ उनी भन्छन्, ‘तर, धेरैसँग गतिलो प्रमाण हुँदैन। पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउन प्रमाणको आवश्यकता हुन्छ।’ दलालले प्रमाण नदिँदा कारबाही गर्न गाह्रो भएको उनको भनाइ छ। आर्थिक २०७४/७५ मा एक अर्ब ५२ करोड २० लाख रुपैयाँ असुलीका लागि पीडितले विभागमा उजुरी दिएका थिए।

Published on: 20 August 2019 | Nagarik

Back to list

;