s

'अध्याँरो महादेश'मा नेपाली

मणि दाहाल

भारतमा काम गर्दैगर्दा हिक्मत थापाले छ वर्षअघि एउटा विज्ञापन देखे। नयाँ बन्न लागेको कम्पनीमा म्यानेजर मागिएको थियो। थापालाई त्यसले निकै आकर्षित गर्‍यो। कारण थियो- गर्दै आएजस्तै काममा करिब छ गुना बढी तलब। भारतीय र इन्डोनेसियालीसँग प्रतिस्पर्धामा उनी छानिए। 'राम्रो तलबमा नयाँ ठाउँमा काममा जान लागेको भन्दा सबैले बधाई दिन्थे,' थापाले ती दिन सम्भि्कए, 'जब जाने ठाउँको नाम भन्थेँ, सबै तर्सिन्थे।'

अफ्रिकाको सबैभन्दा धनी एलिको दङ्गेटको स्थापना हुन लागेको कम्पनीमा काम पाए पनि थापालाई विश्वास लागेको थिएन। 'हातमा नियुक्ति पर्दासमेत मलाई विश्वास भएन,' अर्बपतिको सूची सार्वजनिक गर्ने अमेरिकी पत्रिका फोर्ब्सका अनुसार नाइजेरियाली एलिको दङ्गेट सन् २०११ मा विश्वकै ५१ औं धनी थिए।

आफैं अभावमा रहेको ठानिएका अफ्रिकी मुलुकले रोजगारी दिन नसक्ने धेरै नेपाली ठान्छन्। गरिबी, भोकमरी, हिंसा, गृहयुद्धको विषय बन्ने अफ्रिकाले के रोजगारी देला भन्ने अधिकांशको सोच हुन्छ।

नाइजेरिया अझ बदनाम छ। फर्जीका कारण। त्यस देशबाट भेटिएको गाडधन वा मुद्दा जितेको करोडौंको पुर्ख्यौली सम्पत्ति निखन्न केही लाख रुपैयाँ दिए करोडौंको सम्पत्तिमा साझेदार बनाउनेदेखि ह्याक भएको साथीभाइको मेलबाट नाइजेरियामा सबै कुरा हराएर वा चोरी भएर बिल्लीबाठ भएकाले केही हजार पठाउन गुहार मागिएको फर्जी सन्देश आउनु सामान्य हो। थापालाई लाग्यो- 'कतै म पनि फर्जीको हात त परिनँ!' थापाका बुबाले त्यो जागिर बिर्सन र त्यहाँ नजान भनेका थिए। तर, थापाले आँट कसे, 'जागिर नभए घुमेर आइन्छ।'

छ वर्षदेखि नाइजेरियाको व्यापारिक केन्द्र लागोसमा बस्दै आएका थापाले फोनमा भने, 'अफ्रिकाप्रतिको धारणा सकारात्मक थिएन, कतै यहाँ बोलाएर बिल्लीबाठ बनाउने त होइन भन्ने चिन्ता लागेको थियो।' अहिले उनी श्रीमतीसाथ लागोस बस्छन्। त्यहाँ उनी दङ्गेट कम्पनी समूह खाद्यान्न उत्पादन परियोजनाको जनरल म्यानेजर छन्। थापा मातहत रहेका कम्पनीले मैदा, पास्ता, चिनीजस्ता १२ थरि खाद्यान्न उत्पादन गर्छ।

सन् २००२ मा केन्या पुगेका कुलबहादुर कार्कीलाई अफ्रिका भनेको जंगल नै हो भन्ने लागेको थियो। गैरआवासीय नेपाली संघ केन्याका अध्यक्ष कार्कीलाई उसबेला साथीहरूले अफ्रिकामा काम गर्छु भन्दा सोधेका थिए, 'अफ्रिकी के खान्छन्?' नागरिकसँग इमेल वार्ता गर्दै कार्कीले रमाइलो प्रसंग खोतले। उनी अहिले एउटा प्याकेजिङ कम्पनीमा निर्देशक छन्।

नाइजेरियामा पेट्रोलियम पदार्थ उत्पादन गर्ने एउटा कम्पनीमा सुरक्षा प्रमुख जिम्मेवारी सम्हाल्दै आएका बाबुराम शर्मालाई अफ्रिकामा काम गरिखान कठीन हुन्छ भन्ने लागेको थियो। दुबईबाट लागोसका लागि विमान चढ्दा उनी आत्तिएका थिए। 'पूरै विमानमा एसियाली म एक्लै थिएँ,' उनले इमेलमा लेखेका छन्, 'बाँकी सबै अजंग शरीर भएका काला मानिसहरू मात्रै।' आफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको देश नाइजेरिया विश्वको आठौं ठूलो पेट्रोलियम निर्यातकर्ता हो।

ठूलो प्राकृतिक विपत्ति र राजनीतिक उथलपुथलका समयमा मात्रै नाम सुनिने गरेका अफ्रिकी देशहरू पछिल्लो समयमा नेपालीका लागि रोजगारी तथा व्यापारको गन्तव्य बनेका छन्। रोजगारीका लागि डराइडराई अफ्रिका पुगे पनि नेपाली त्यहाा काममा जम्न थालेका छन्।

पछिल्लो समय विश्वमा लगानी र रोजगारीको गन्तव्य बन्दै गएको नाइजेरियामात्रै होइन, नेपालीका लागि अझै पनि 'अँध्यारो महादेश'को उपमा पाएका अफ्रिकी महादेश रहस्यपूर्ण ठाउँकै रूपमा छ। १९ औं शताब्दीसम्म पनि रहस्य बुझ्न नसकेर युरोपेलीहरुले अफ्रिकालाई 'अँध्यारो महादेश'को उपमा दिएका थिए।

'राष्ट्रसंघको शान्ति मिसनमा खटिएकाबाहेक नै अफ्रिकामा करिब १५ सय नेपाली कार्यरत छन्,' गैरआवासीय नेपाली संघ अफ्रिकाका संयोजक थापाले भने, 'पैसा वचतका दृष्टिले हेर्ने हो भने युरोप, अमेरिका तथा इजरायलभन्दा राम्रो छ।' थापाका अनुुसार मध्यमस्तरको रोजगारमा धेरै नेपाली छन्। 'हजारदेखि १५ सय डलरमा काम गर्ने नेपालीहरू ६० देखि ७० प्रतिशत छन्,' थापाले भने, 'बाँकीले महिनाको पाँच हजार डलरसम्म तलब खान्छन्।'

राष्ट्रसंघीय नियोगको जागिर छाडेर विश्वको कान्छो राष्ट्र दक्षिणी सुडानमा व्यापार गर्दै आएका विश्वास गौचन अफ्रिकामा व्यापारको प्रचूर सम्भावना देख्छन्। दक्षिणी सुडानमा सन् २००७ मा कमर्सियल बैंकको स्थापना गरेर प्रमुख कार्यकारी अधिकृतका रूपमा गौचनले दुई वर्ष काम गरेका थिए।

'राष्ट्रसंघीय नियोग, बैंक तथा सरकारी कार्यालय एयर कन्डिसन र निर्माणका लागि सिमेन्टजस्ता सामग्री आपूर्ति गर्छु,' गौचनले भने। साझेदारीमा ट्राभल्स एजेन्सी चलाउँदै आएका गौचन डिसेम्बरमा रेस्टुरेन्ट खोल्ने तयारीमा छन्। गैरआवासीय नेपाली संघ दक्षिण सुडानका अध्यक्ष रहेका गौचनको कम्पनीमा १४ नेपाली काम गर्छन्। अपरेसन म्यानेजरका रूपमा सन् २००५ मा दक्षिणी सुडान पुगेका गौचनले राष्ट्रसंघीय विकास कार्यक्रमको कार्यालय स्थापना गर्ने जिम्मेवारी पूरा गरेका थिए।

साठी तथा सत्तरीको दशकसम्म युरोपेली देशको उपनिवेशमा रहेका अफ्रिकामा पछिल्लो चरणमा तीव्र आर्थिक विकास भइरहेको छ। प्रचूर प्राकृतिक स्रोतको भण्डार रहेको अफ्रिकामा लगानीका लागि भारत, चीन, युरोप तथा अमेरिकी देशबीच चर्को प्रतिस्पर्धा छ।
जातीय नरसंहारका कारण विश्वभर चर्चामा रहेको पश्चिमी अफ्रिकी मुलुक रुवान्डाको पाँचतारे होटलमा जनरल म्यानेजर रहेका ललितपुरका दामोदर शर्माले अफ्रिकाको प्राकृतिक स्रोत देखेर आश्चर्यमा परेको बताएका छन्।

'पूरै महादेश निकै अल्पविकसित हो भन्ने म सोच्थेँ,' उनले पठाएको इमेलमा छ, 'यहाँ आएपछि म आश्चर्यमा परेँ, प्राकृतिक स्रोतले भरिपूर्ण, राम्रो मौसमी अवस्था भएका केही स्थान युरोप र अमेरिकाभन्दा राम्रा छन्।'

अफ्रिकामा भारतीयको बसोबास इतिहास लामो भए पनि नेपाली पुग्न थालेको धेरै भएको छैन। त्यहाँका केही व्यक्तिलाई मात्र नेपालको नाम थाहा छ। नाइजेरियामा काम गर्दै आएका बिराटनगरका उद्धव प्रधान नाइजेरियालीले नेपालीलाई 'ह्वाइट इन्डियन' भन्ने गरेको बताउँछन्। 'नाइजेरियामा अहिले एक लाख भारतीय र चिनियाँ बस्छन्,' प्रधानले भने, 'नाइजेरियालीले भारतीयलाई ब्ल्याक इन्डियन र हामीलाई ह्वाइट इन्डियन भन्छन्।'

अफ्रिकीले बाहिरबाट जानेलाई सम्मान गर्ने थापा बताउँछन्। 'हामीले विदेशबाट आउने गोरेलाई गरेजस्तो सम्मान गर्छन्,' थापाले नागरिकसँग भने, 'विज्ञ भएकै कारण हामी उनीहरूको देश पुगेको ठान्छन्।'

युगाण्डामा दुई वर्षदेखि काम गर्दै आएका दोलखा चरिकोटका चार्टर्ड एकाउन्टेन्ट उमेश बस्नेत स्थानीयले नेपालीलाई निकै मन पराउने बताउँछन्। 'अफ्रिकीहरू गोरो छाला भएकालाई मन पराउँछन्,' उनले भने, 'उनीहरू युरोप तथा अमेरिकाबाट आएकालाई मुजुंगो र एसियालीलाई मुहिन्दी भन्छन्।'

अफ्रिकामा रहेका नेपालीहरूले धेरै अफ्रिकीले नेपाल भन्ने थाहा नपाए पनि 'सगरमाथा' चिन्ने धेरै भेटेका छन्। थापाका अनुसार अफ्रिकामा बाहिरबाट जाने सबैका लागि खड्केको विषय असुरक्षा हो। यसै वर्ष नाइजेरियाको उत्तरी शहर कानोमा इस्लामिक विद्रोही र सुरक्षाकर्मीबीच भएको गोली हानाहानमा दुई नेपालीको मृत्यु भएको थियो।

नेपाली अफ्रिकाका अधिकांश देशमा पुगेका छन्। अफ्रिकाका एघार देशमा गैरनेपाली आवासीय नेपाली संघको राष्ट्रिय समन्वय कमिटी गठन भएको छ। नेपालीबीच सम्बन्ध मजबुत छ। दसैंलगायत चाडबाड एकै ठाउँमा मनाउने गरेका छन्।

अफ्रिकी मुलुक जाम्बियास्थित एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्दै आएका एकनाथ खतिवडाले नेपाली परिवारबीच नियमित सम्पर्क हुने बताए। 'हामी परिवारका रूपमा छौं, आवश्यक परेअनुसार एकअर्कालाई सहयोग गर्ने गरेका छौं,' खतिवडाले भने।

Published on: 10 November 2012 | Nagarik

Back to list

;