s

अध्ययनका लागि बिदेसिएकाले देश निर्माणमा सहयोग गरेका छन्

शैक्षिक परामर्शका क्षेत्रमा दुई दशकभन्दा बढी बिताएका द्विराज शर्मा अल्फाबिटाका कार्यकारी अध्यक्ष हुन् । साथै, उनले परामर्श व्यवसायीका विभिन्न संगठनको नेतृत्वसमेत गरिरहेका छन् । एसोसिएसन अफ अस्ट्रेलियन एजुकेसन रिप्रेजेन्टेटिभ्स इन नेपाल (ऐरी नेपाल), नेपाल–इन्डिया काउन्सिल अफ एजुकेसन (नाइस नेपाल) लगायत संगठनमा अध्यक्षको भूमिका निर्वाह गरिरहेका शर्माले ४५ देश र ३ सयभन्दा बढी विश्वविद्यालयको भ्रमण गरेका छन् । विश्वभरका करिब ३ सयभन्दा बढी विश्वविद्यालय तथा कलेजको प्रतिनिधित्व गरी काम गरिरहेका शर्मासँग गरिएको कुराकानी :

नेपालबाट अध्ययनका लागि बिदेसिने संख्या प्रत्येक वर्ष बढ्दो छ, कारण के होला ?

विदेश अध्ययनमा जान चाहने नेपाली विद्यार्थीको आकर्षण प्रत्येक वर्ष बढेको छ । आर्थिक वर्ष ०७५/७६ मा विदेशमा अध्ययनका लागि ६३ हजार २ सय ५९ नेपालीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । आर्थिक वर्ष ०७४/७५ मा ५८ हजार ७ सय ५८ र ०७३/७४ मा ५० हजार ६ सय ५९ ले नो अब्जेक्सन लेटर लिएका थिए । विदेशमा जुन स्तरको शिक्षा प्राप्त गर्न सक्छन्, नेपालमा त्यो अवस्था नहुनु र पढिसकेपछि आफ्नो भविष्य सुरक्षित गर्न विद्यार्थी अध्ययनका लागि बाहिरिनेक्रम बढ्दो छ ।

नेपालमै इन्जिनियरिङ सकेपछि रोजगारीमा स्थापित हुन कति समय लाग्छ, अस्ट्रेलिया वा यस्तै देशमा अध्ययन सक्नेबित्तिकै राम्रो अवसर र तलब प्राप्त गर्न सक्छन् ।विद्यार्थी विदेश गए भन्ने धेरैले चिन्ता गरेको पाइन्छ । तर, किन विदेश गइरहेका छन्, किन जान चाहिरहेका छन् ? भन्ने विषयमा बुझ्न जरुरी छ । नेपालबाट मात्र होइन, भारत, चीनलगायत देशबाट पनि विदेश अध्ययनमा लाखौँको संख्यामा जाने गरेका छन् । नेपालमै विश्वस्तरको विश्वविद्यालय उत्पादन भई इन्टर्नसिप र रोजगारी प्राप्त गरेर राम्रो आम्दानी गर्ने अवसर नभएसम्म बाहिर जाने र जान चाहनेको संख्या कम हुँदैन ।

विदेश अध्ययनमा जानु आफैँमा नराम्रो होइन । विकसित देशमा अध्ययनमा भएका विद्यार्थीले त्यहाँको संस्कार सिक्छ, त्यहाँ शिक्षा लिन्छन्, नेटवर्क बनाउँछन् भोलि फर्केर नेपाल आइसकेपछि आफ्नो बिजनेस नेटवर्कमार्फत बढाउन सक्छन् । अहिले ‘ग्लोबल भिलेज’को समयमा नेपालमा मात्र बसोस् भन्ने चाहना राख्यौँ भने पनि नमिल्न सक्छ ।

विदेश गएका विद्यार्थीलाई नेपाल फर्काउन के गर्नुपर्ला ?

नेपालबाट अध्ययनमा विदेश गएका विद्यार्थी स्वदेश फर्किंदैनन् भन्ने गुनासो पनि सुनिन्छ । तर, किन फर्किंदैनन् भन्ने विषयमा अध्ययन नै भएको पाइँदैन । नेपालमा वातावरण बनाउने हो भने नफर्किने कुरै आउँदैन । विदेशमा अवसर धेरै छन्, त्यही अवसरको खोजीमा नेपाली विद्यार्थी गएका हुन् । विदेशमा सुरक्षा, स्तर र आफ्ना बालबालिकाको भविष्य पनि राम्रो देखेका हुन्छन् । नेपालमा त्यो स्तरको सुविधा नहुँदा कतिपय विदेशमै बस्न खोजेको पाइन्छ । सिस्टममा काम हुने, भ्रष्टाचार रोकिने र गरिखाने वातावरण भएमा विदेशमा भएका फर्किन्छन् । अहिले केही परिवर्तन हुँदै छ । सरकारले आशा जगाउने काम गरेको छ । विदेश गएका कतिपय फर्किएका पनि छन् ।

नेपालबाट कस्ता प्रकृतिका विद्यार्थी अध्ययनका लागि बिदेसिएका छन् ?

विदेश अध्ययनमा जाने विद्यार्थी धेरै किसिमका छन् । त्यो आर्थिक अवस्थासँग पनि जोडिन्छ । जो हुनेखाने परिवारको छ र अभिभावकले लगानी गर्न सक्षम छन्, त्यस्ता परिवारका विद्यार्थीले राम्रोसँग पढ्छन् र फर्किन्छन् । ८० प्रतिशत विद्यार्थीले विदेशमा अध्ययन गरेर आफ्नो परिवारको आर्थिक अवस्था माथि ल्याउने र राम्रो गर्ने सोचाइ राखेको पाइन्छ । अध्ययनमा गएको विद्यार्थी आफ्नो परिवारको हेरचाह गर्ने र स्थार उकास्ने काममा लागेको हुन्छ । धेरैको चाहना नेपाल फर्किने र यहीँ स्थापित हुने चाहना हुन्छ होला, तर आर्थिक अवस्थाले सबैले एउटै तहबाट सोचेका हुँदैनन् । त्यस्तो मिहिनेत धेरै वर्ष गर्नुपर्छ । विदेशमा जानेबित्तिकै अवस्था परिवर्तन हुँदैन । गएकाहरू धेरै व्यस्त भएर त्यतै हराउनेहरू पनि छन् ।

जुन डिग्रीका लागि विदेश गएका हुन्छन्, त्यो डिग्री कतिले प्राप्त गर्छन् भन्ने यकिन विवरण छैन । तर, नेपालबाट अस्ट्रेलियाजस्तो देशमा गएका ९५ प्रतिशतले डिग्री लिएका हुन्छन् । त्यहाँ बस्नका लागि पनि डिग्री लिनुपर्ने हुन्छ । नपढीकन बस्न र पिआर पाउन निकै कठिन छ । केही पढ्न नसक्ने हुन सक्छन् । दुईवर्षे कोर्सलाई चार वर्ष लगाएर भए पनि पढ्छन् ।

नेपालबाट वार्षिक वैदेशिक अध्ययनका नाममा ४५ अर्बभन्दा बढी रकम बाहिरिने गरेको तथ्यांक छ, यस्तो अवस्थामा सरकारले के गर्नुपर्छ ?

नेपालबाट शिक्षाका नाममा रकम बाहिरिएको मात्र छैन, भित्रिएको पनि छ । नेपाली विद्यार्थीको सबैभन्दा धेरै आकर्षण रहेको अस्ट्रेलियाबाट रकमसमेत धेरै भित्रिएको छ । अस्ट्रेलियाबाट मात्रै वर्षमा २०–३० अर्बजति आउँछ । विद्यार्थी विदेश गएपछि लगानी गर्छ, सक्षम हुन्छ । शिक्षा लिन जानेलाई सोझै रकमसँग जोड्नुहुँदैन । कमाउन मात्र जाने हो भने दुबई, कतार, मलेसियालगायतका देश छन् । पढ्न जानेले कमाएन भन्नुहुँदैन । कति पढ्यो, कतिको सक्षम भयो भन्ने पाटोबाट हेर्नुपर्छ । सरकारले नेपालीहरू संसारका कुन–कुन विश्वविद्यालयबाट कति ग्र्याजुएट भए भनेर पहिचान गर्नुपर्छ । बाहिर अध्ययन गरेकालाई ल्याएर नेपालको सिस्टममा राख्नुपर्छ अनि परिवर्तन हुन्छ ।

नेपालबाट गएका विद्यार्थीले लगानी गरेभन्दा धेरै रकम पठाएका छन् । पढ्न गएको व्यक्ति सक्षम भएको छ भने अर्कोतर्फ पैसा पनि कमाएको छ । सरकारले लगानी गरेर पढ्न पठाउनुपर्नेमा सहरका विद्यार्थी आफैँले दुःख गरेर गएका छन् ।

चीन सरकारले लगानी गरेर हजारौँ विद्यार्थीलाई अमेरिकाका टप विश्वविद्यालयमा पढ्न पठाउँछ । पढेपछि देश विकासमा प्रयोग गरेको छ । ठूलो लगानी सरकारले गरेपछि व्यक्तिले सरकारप्रति बफादार भएर काम गर्छन् । भारत, भुटान, मेक्सिकोलगायतका देशले अरू देशमा विद्यार्थी पठाएका छन् । देश विकासलाई सहयोग पुर्‍याउन सरकारले नै विश्वका टप विश्वविद्यालयमा पढाएर फर्काउनुपर्छ ।

सबै राम्रो विश्वविद्यालय गएका छैनन् नि ? राम्रो संस्थामा जान के गर्ने ?

सरकारले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा कार्यक्रम सञ्चालन गर्ने एक हजारभित्रका विश्वविद्यालयलाई मात्र सम्बन्धन दिन्छ । विदेश अध्ययनमा जानका लागि पनि कतिसम्मको र्‍याङिकङमा अनुमति दिने हो त्यो मापदण्ड बनाउन सक्छ । जति र्‍यांक माथि भयो, लगानी त्यति धेरै हुन्छ । टप विश्वविद्यालयमा वर्षको ३०–४० हजार डलर पर्न सक्छ । नेपाली अधिकांश विद्यार्थीले वार्षिक १०–१५ हजार डलरमा पुग्ने शैक्षिक संस्था छनोट गर्छन् । टप विश्वविद्यालयमा जानका लागि एकेडेमिक र आर्थिक अवस्था राम्रो हुनुपर्छ । विद्यार्थी आफ्नो बजेटअनुसार पढ्न गएका छन् । त्यसमा सरकारले रोक्नुपर्छ भन्ने लाग्दैन ।

कतिपय परामर्श व्यवसायीबाट विद्यार्थी ठगिएका गुनासा आउँछन्, ठगिनबाट कसरी बच्ने ?

नेपालमा जति पनि परामर्शका लागि कन्सल्टेन्सी खुलेका छन्, त्यसको ६० देखि ७० प्रतिशत सब–एजेन्ट भएर काम गरेका हुन्छन् । त्यस्ता कन्सल्टेन्सीको आफ्नो एउटा विश्वविद्यालय, कलेज पनि हुँदैन । परामर्शका नाममा संस्था खोल्ने र त्यहाँ आउने विद्यार्थी अरू कन्सल्टेन्सीलाई दिन्छन् । सब–एजेन्ट हुनेबित्तिकै सही परामर्श दिन सक्दैन, किनभने सम्बन्धित विश्वविद्यालयबाट प्रत्यक्ष सूचना पाएको हुँदैन । बाहिरको कम्पनीबाट फ्रेन्चाइजी, सब–एजेन्ट लिन सक्छ, तर उसको केही नहुँदा पनि कन्सल्टेन्सी खोल्ने क्रमलाई नियन्त्रण गर्न सके यस्ता समस्या रोकिन सक्छन् ।

विद्यार्थीमा पनि समस्या छ । जुन कन्सल्टेन्सीले बैंक ब्यालेन्स बनाइदिन्छ, सबै काम गरिदिन्छ, त्यही राम्रो भन्ने ठानेका हुन्छन् । विद्यार्थी सबै काम गरिदिने अँध्यारो कोठामा चलाएका कन्सल्टेन्सीमा छिर्ने, भिसा लाग्यो भने विदेश जाने, काम नभए हल्लाखल्ला गर्छन् । कतिपय विद्यार्थी र अभिभावक राम्रो कन्सल्टेन्सीमा जान डराउँछन् । राम्रो कन्सल्टेन्सीले सबै डकुमेन्ट बनाइदिँदैन । अभिभावकले कहाँ जाँदै छ, कति लगानी लाग्छ भन्ने बुझ्न नचाहने, त्यहाँ गएपछि हतारमा पैसा पठाओस् भन्ने चाहेको पाइन्छ । राम्रो आर्थिक अवस्था भएको र शैक्षिक अवस्था राम्रो भएका अभिभावकका छोराछोरी ठगिएका छैनन् । सरकारले पनि समय–समयमा कस्तो कन्सल्टेन्सीबाट परामर्श लिने भनेर सूचना गर्नुपर्छ । कन्सल्टेन्सीले परामर्श मात्र दिने हो, सबै कागज बनाउने होइन ।

Published on: 25 August 2019 | Naya Patrika

Back to list

;