s

अध्यागमनले फर्काएका कामदारको बिचल्लीi

शम्भु कट्टेल

दोलखाका तिलकप्रसाद जिरेल शनिबार अपराह्‍न दुबई उड्ने योजनामा थिए। भिसासहित पासपोर्ट, श्रम स्वीकृतिपत्र र एअर अरेबियाको टिकट बोकेर उनी निर्धारित समयमै एअरपोर्ट छिरेका थिए। प्रस्थान टर्मिनल छिर्नासाथ अध्यागमन कार्यालयका कर्मचारीले उनलाई रोक्दै भने, ‘अख्तियारको आदेश पनि छैन। तपाईंको डकुमेन्ट पनि मिलेको छैन।’ कर्मचारीको यस्तो आदेशपछि तिलक छाँगाबाट खसेजस्ता भए अनि एअरपोर्टबाटै लुरुलुरु फर्किए।

बजेट एअरलाइन्सको टिकट भएकाले फिर्ता भएन। उनी वैदेशिक रोजगारीका लागि दुबई जान त पाएनन्, हवाई टिकटको २५ हजार पनि गुमाएर रित्तो हात फर्किए। फेरि कसरी कहिले उड्ने भन्ने चिन्ताले सताएको जिरेल बताउँछन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थालेको कारबाहीको बदला लिन खोज्‍ने अध्यागमन कार्यालयका कर्मचारीको आक्रोशको सिकार तिलकजस्ता थुप्रै सोझासाझा भएका छन्। लामो प्रक्रिया र प्रतीक्षापछि वैदेशिक रोजगारीमा जान लागेका उनीहरूलाई अध्यागमनले हचुवाका भरमा फर्काइदिएको छ। ‘टिकटका लागि २५ हजार खर्च भएको थियो, त्यो गुम्यो। अब कहाँबाट पैसा जुटाएर किन्ने?’ तिलकले भने, ‘अनाहकमा दु:ख दिने काम भयो। पछि बुझ्दा सबै डकुमेन्ट सक्‍कली रहेछन्। बहाना गरेर फर्काइयो।’

तिलक यसअघि पनि दुबईमा आठ वर्ष काम गरी स्वदेश फर्किएका थिए। दुबईबाट फर्केपछि उनले बौद्धस्थित एक गलैंचा कारखानामा काम थाले। त्यहाँको कमाइले बालबच्चा पाल्न र पढाउन उनलाई धौधौ भयो। त्यसपछि फेरि विदेश जाने निधो गरे। दुबईका लागि भिसा पठाइदिन त्यहाँका साथीहरूलाई आग्रह गरे। तत्कालै उनले भिसा पाए। अनि श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागमा पुगे। तर त्यहाँका कर्मचारीले म्यानपावरमार्फत आउनु भनेपछि उनी सामान्य चिनजानका वाङजु शेर्पा र सुरेश बोहोराका साथ त्रिपुरेश्वरस्थित वर्ल्डवाइड म्यानपावर एजेन्सीमा हाजिर भए। उक्त एजेन्सीले श्रम स्वीकृतिका लागि भनेर उनीसँग १८ हजार रुपैयाँ लियो। ‘श्रम स्वीकृतिका लागि त्यति रकम नचाहिने रहेछ। त्यहाँ पनि ठगिएँ। आखिर उड्ने नै हो भनेर त्यसमा पनि चित्त बुझाएँ।’ 

प्रक्रिया पूरा भएर वैदेशिक रोजगारीमा जान खोज्दा एअरपोर्टबाट फर्काइएका तिलकजस्ता धेरै व्यक्ति बिचल्लीमा परेका छन्। अख्तियारले घूस खाएको आरोपमा अध्यागमन कार्यालय र वैदेशिक रोजगार विभागका ३५ कर्मचारी पक्राउ गरेपछि वैदेशिक रोजगारीमा जाने व्यक्तिमाथि अनावश्यक कडाइ गरिएको हो। विमानस्थलबाट गत आइतबारयता दुई सयभन्दा बढीलाई फर्काइएको छ। मंगलबार पनि २५ जना फिर्ता भए।

कामदारलाई विदेश जान रोक लगाउने अध्यागमन कर्मचारीको कार्यशैलीप्रति वैदेशिक रोजगार व्यवसायी पनि हैरान भएका छन्। फर्काएका कामदारलाई खानेबस्‍ने व्यवस्था मिलाउन उनीहरूलाई धौधौ भएको छ। गैरीधारास्थित फ्युचर इम्प्लोइमेन्ट सर्भिसेजकी सञ्‍चालक सुष्मा खत्री भन्छिन्, ‘सबै प्रक्रिया पूरा गरेर पठाउन लागेका कामदारलाई उड्न नदिँदा हामीलाई समस्या भएको छ।’

धोबीघाटस्थित मुन लाइट इन्टरनेसनलका सञ्‍चालक पार्वती खड्काका अनुसार प्रक्रिया पूरा गरेर जान लागेका कामदारलाई अध्यागमनले दु:ख दिनु ठीक होइन। ‘टिकटमै लाखौं खर्च भएको छ’, खडकाले भनिन्, ‘कति दिनसम्म उनीहरूलाई होटेलमा राखेर खुवाउने?’

वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष बलबहादुर तामाङले कामदारको भिसा र श्रम स्वीकृति सक्‍कली हुँदाहुँदै अध्यागमनका कर्मचारीले जान नदिनु गलत भएको बताए। ‘कामदारले बजेट एअरलायन्सको टिकट लिएकाले त्यसबापतको रकम पनि जोखिममा पर्‍यो’, उनले भने। कामदारको टिकटमा भन्डै दुई करोड रुपयाँ खर्च भएको छ। श्रम विभागले कामदारको भिसा सक्कली ठहराएपछि मात्र श्रम स्वीकृति दिन्छ। ‘भिसा प्रमाणीकरण गरेपछि मात्र श्रम स्वीकृति दिन्छौं’, वैदेशिक रोजगार विभागका निर्देशक दिवस आचार्यले भने, ‘विमानस्थल अध्यागमनले कामदारलाई किन फर्काएको हो, त्यसको जबाफ श्रम विभागले दिन सक्दैन।’

कामदार फर्काउनेमाथि छानबिन

प्रक्रिया पूरा गरेर वैदेशिक रोजागारीमा जान लागेका कामदारलाई विमानस्थलबाट फिर्ता गरेर दु:ख दिने अध्यागमनका कर्मचारीमाथि अध्यागमन विभागले छानबिन थालेको छ।

अख्तियारको निर्देशनमा विभागले त्यस्ता कर्मचारीमाथि छानबिन थालेको हो। अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेलले ठूलो संख्यामा कामदार फर्काइएको विषयमा अध्ययन भइरहेको र दोषी पाइए फिर्ता गर्ने कर्मचारीमाथि कारबाही हुने बताए। उनले, ‘आवश्यक काजपत्र हुँदाहुँदै फिर्ता गरिएको भए फिर्ता पठाउने कर्मचारीमाथि कारबाही हुनेछ।’

Published on: 28 August 2013 | Annapurna Post

Back to list

;