s

अध्यागमनका निर्देशक र महानिर्देशकमाथि पनि अनुसन्धान गर्न माग

युवती लुटपाटपछि बलात्कार प्रकरण

सरकारले अध्यागमन विभागका तत्कालीन महानिर्देशक सुरेश अधिकारी र निर्देशक लेखनाथ पोख्रेललाई अझै छानबिनको दायरामा नल्याएकामा अधिकारवादीहरूले आपत्ति जनाएका छन् । उनीहरूलाई पनि तत्काल निलम्बन गरी अनुसन्धान गर्नुपर्ने उनीहरूको माग छ ।
 
'साउदी अरबबाट फर्केकी भोजपुरकी युवतीको नक्कली पासपोर्ट भेटेपछि अध्यागमन विभागले आवश्यक कागजात जफत गरी छानबिन गर्नुपथ्र्यो । कीर्ते पासपोर्ट भेटेपनि ती युवतीसँग केही रकम लिएर छोडिएको छ । यसका लागि माथिको आदेश आवश्यक हुन्छ,' अध्यागमन विभागका एक उच्च अधिकारीले भने, 'शाखा अधिकृतको मात्रै मिलेमतोले यो हुन सक्दैन । यौन दुव्र्यवहारको घटना भने नितान्त प्रहरी जवान परशुराम बस्नेतसँग जोडिएको ती अधिकारीको भनाइ छ ।
 
महिला हिंसाका घटनामा प्रहरीबाट भइरहेको अनुसन्धान प्रक्रियाबारे अनुगमन गर्न आइतबार सरकारले प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्लको संयोजकत्वमा आठ सदस्यीय अनुगमन समिति गठन गरेको थियो । 'अध्यागमन विभागका महानिर्देशक र निर्देशकलाई पनि छानबिनको दायरामा ल्याउने सम्बन्धमा समितिभित्रै विभिन्न मत आइरहेको छ । मैले तत्काल पदबाट निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाउन भनिरहेको छु,' प्रधानमन्त्री कार्यालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा समितिकी सदस्य रेणु राजभण्डारीले भनिन् ।
 
सचिव मल्लले अध्यागमनको घटना भ्रष्टाचार र घुसखोरी प्रकरणमा जोडिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै छानबिन गर्नुपर्ने बताए । घटनाको सत्यतथ्य अनुसन्धान गरिदिन आग्रह गर्दै गृह मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाइसकेको जानकारी मल्लले दिए ।
 
घटनामा संलग्न अध्यागमन शाखाका अधिकृत रामप्रसाद कोइराला, टिका पोखे्रललाई निलम्बन गरी जिम्मेवारीबाट हटाइएको उनले बताए । तर उनीहरूलाई पक्राउ भने गरिएको छैन । उनका अनुसार नायब सुब्बा सोमनाथ खनाल थुनामा छन् भने प्रहरी हवल्दार पर्शुराम बस्नेतविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणीमा मुद्दा दायर गरी पुर्पक्षका लागि थुनामा राखिएको छ ।
 
बर्दियाकी शिवा हासमी हत्यामा उनको परिवारलाई हिरासतमा लिई कारबाही भइरहेको र उनका फरार दाजु रिजवानको खोजी भइरहेको उनले बताए । काठमाडौं, अनामनगरमा मारिएकी सरस्वती सुवेदीका आरोपित कृष्ण प्रसाईं, श्रीमती सावित्रा र छोरा प्रक्षेपणलाई प्रहरी हिरासतमा लिई अनुसन्धान भइरहेको उनले जनाए । ०६८ चैतमा बेपत्ता भएकी छोरीमैया महर्जनका सम्बन्धमा विस्तृत विवरण सार्वजनिक गर्न गृह मन्त्रालयमार्फत प्रहरी महानिरीक्षकलाई अनुरोध गरिसकेको पनि प्रधानमन्त्री कार्यालयले जनाएको छ । बाराकी बिन्दु ठाकुरको हत्यामा मृतकका बाबु राम ठाकुरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको मल्लले बताए ।
 
'अकुपाई बालुवाटार' जारी
मुलुकमा बढिरहेको महिला हिंसाविरुद्ध युवा जमातले पाँच दिनयता प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरिरहेका छन् । सामाजिक सञ्जाल 'फेसबुक' र 'ट्वीटर' प्रयोगकर्ताहरूले 'अकुपाई बालुवाटार' भन्दै महिला हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन 'लबिइङ' गरिरहेका छन् । अभियानमा कलाकार, युवा, अधिकारकर्मी, खेलाडी, पीडित परिवार, नागरिक समाज, पत्रकारलगायतले ऐक्यबद्धता जनाएका छन् ।   
 
'न्याय रोक्ने नेता चाहिँदैन', 'लोकतन्त्र कहाँ छ ?', 'कानुनी शासन कायम गर' लगायतका नारासहित उनीहरु मंगलबार पनि बिहान ९ देखि ११ बजेसम्म प्रदर्शनमा उत्रिएका थिए । आन्दोलनमा ऐक्यबद्धता जनाउन अधिकारकर्मी र नागरिक समाजका अगुवा बालुवाटार पुगेर हस्ताक्षर गर्ने गरेका छन् ।
 
'हामीले महिलालाई सम्मान गर्नुस् मात्र भनेका हौं । हामीलाई पैसा देऊ भनेको होइन,' प्रदर्शनकी एक सहभागी 'सीएनएन हिरो' पुष्पा बस्नेतले भनिन्, 'महिलाको इज्जत पैसाले आउँदैन, राज्य संयन्त्रभित्रैबाट बलात्कारजस्तो जघन्य अपराध हुन्छ भने कारबाही पनि हदैसम्मको हुनुपर्छ ।'
 
मन्त्रिपरिषद्को बैठकबाटै माग सम्बोधन भएर कार्यान्वयन नहुञ्जेलसम्म अभियान जारी रहने उनीहरूले बताए ।
 
Published on: 2 January 2013 | Kantipur
 

Back to list

;