s

अध्यागमन, वायु सेवा निगम र प्रहरीको ‘सेटिङ’मा भिजिट भिसामा पठाउने गिरोहका थप एकजना पक्राउ

अध्यागमन र नेपाल एयरलाइन्ससँग सेटिङ गरी नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका थप एकजना पक्राउ परेका छन्।

‘सेटिङ’मा भिजिट भिसामा पठाउने गिरोहबारे अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोही गिरोहमा संलग्न रहेका मोरङको पथरी शनिश्चरे नगरपालिका-७ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्की पक्राउ परेका हुन्।

कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीका अनुसार उनी सिटी टुर्स एण्ड ट्राभल्सका संचालक हुन्।

योसँगै नक्कली कागजात बनाएर भिजिट भिसामा पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या ३३ पुगेको छ।

भिजिट भिसामा जाने युवायुवतीको १ हजार ५१३ थान कागजपत्र अनुसन्धान गर्दा प्रहरीले २४६ जनाको कागजपत्र नक्कली रहेको भेटेको थियो।

नक्कली कागजपत्र भेटिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असोज १७ गतेदेखि त्यसमा संलग्न गिरोह पत्ता लगाउन अपरेसन चलाएको थियो।

अपरेसनकै क्रममा प्रहरीले नक्कली कागजपत्र बनाउन ट्राभल कम्पनी, कन्सल्टेन्सीदेखि अध्यागमन विभाग, नेपाल वायुसेवा निगमका कर्मचारी र विमानस्थलमा खटिने प्रहरीसम्मको संलग्नता भेटेको थियो।

मंसिर २६ गतेसम्म कार्यालयको टोलीले उक्त गिरोहमा संलग्न रहेका ३२ जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमध्ये नरवीर खड्का अध्यागमन विभागका अध्यागमन अधिकृत र होम पोखरेल र अरबिन यादव हुन्। त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङ पनि सोही गिरोहमा संलग्न रहेको भेटिएपछि उनलाई पनि कार्यालयको टोलीले यसअघि नै पक्राउ गरिसकेको छ।

त्यस्तै वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे गरी ६ जना कन्सल्टेन्सी तथा ट्राभल कम्पनी सञ्चालक पक्राउ परिसकेका छन्।

मंसिर २६ गतेसम्म ३२ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको थियो।

सरकारले महिलाहरुलाई घरेलु कामदारको रूपमा खाडी मुलुक जान/लैजान रोक लगाएको छ। यहीँनेर ट्राभल कम्पनी/कन्सल्टेन्सी, अध्यागमन विभाग, वायुसेवा निगम र प्रहरीको सेटिङले काम गर्छ।

कन्सल्टेन्सी र ट्राभल कम्पनीले भिजिट भिसामा जाने मान्छे खोज्ने र उनीहरूको नक्कली कागजात तयार पारी अध्यागमन कार्यालयका कर्मचारीलाई बुझाएपछि उनले निगमलाई जानकारी गराउँथ्यो। प्रहरीका अनुसार निगमले टिकटको व्यवस्थापन गर्थ्यो भने त्यसरी सेटिङमा गएका व्यक्तिलाई विमानस्थलमा खटिने अध्यागमनका कर्मचारी र प्रहरीले खासै केरकार नगर्ने अनुसन्धानबाट खुलेको छ।

प्रहरीको अनुसन्धानबाट यसरी काम गर्नेहरूले भिजिट भिसामा जानेहरूबाट निश्चित रकम समेत असुल्ने गरेको भेटिएको छ। सबैभन्दा धेरै अध्यागमनका कर्मचारीले एक जनाबाटै ४४ देखि ५५ हजारसम्म लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

त्यस्तै कागजपत्रदेखि होटल मिलाएवापत् ट्राभल कम्पनी र कन्सल्टेन्सीले एक जनाबाट १० देखि १५ हजार, निगमका कर्मचारी र विमानस्थलमा खटिने प्रहरीले प्रतिव्यक्ति १० हजार रूपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको थियो।

गिरोहबारे थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

Published on: 25 December 2023 | Setopati

Link

Back to list

;