s

अध्यागमन सुधारमा चासो देखिएन

सुन्दर खनाल

अध्यागमन विभागमै युवती लुटपाट र बलात्कारको घटना हुँदा पनि राष्ट्रिय सुरक्षासँग सबैभन्दा नजिक निकायमा सरकार ठोस सुधार गर्ने मनस्थितिमा देखिँदैन । घटनामा संलग्नलाई प्रचलित कानुनअनुसार कारबाहीको औपचारिकता पूरा गर्ने र चुप लागेरै दबाबपूर्ण माहोल टार्ने सोचाइ सरकारको देखिन्छ । 

अध्यागमन सुधार गर्न अरू राष्ट्रलाई जिम्मा लगाउने तयारी गर्न पछाडि नपर्ने सरकारले आन्तरिक क्षमताबाटै सम्भव सुधारमा समेत चासो नदिएको हो । 'हामीले अहिले गर्न सक्ने भनेको अनुगमन हो, जसलाई सुदृढ पार्दैछौं,' अध्यागमन विभागका नयाँ महानिर्देशक वसन्तराज गौतम भन्छन् । यस्तो अमूर्त अनुगमन योजनालाई अध्यागमन प्रशासनमा रहेका समस्याका चाङले अगाडि बढ्न नदिने प्रस्ट छ । विमानस्थल हुँदै मानिस आवतजावत गर्दा सबैभन्दा महत्त्वपूर्ण किसिमले उपस्थित हुने अध्यागमन प्रशासनमा रहेको विकराल स्थितिको एउटा सानो छिटामात्र थियो, मंसिर ३ गतेको लुटपाट र बलात्कार ।  
 
यथार्थमा प्रस्थान र आगमन दुवैमा अध्यागमन प्रशासनको संलग्नताबाट बदमासी हुने गरेको पाइन्छ । शंकास्पद पासपोर्टको मामला बदमासीको सबैभन्दा ठूलो स्रोत हो ।
 
सन् २०११ मा मात्र करिब ५ सयवटा शंकास्पद पासपोर्टका मुद्दा अध्यागमन विभागमा दर्ता भए । अहिले पनि दैनिकजस्तो आइरहन्छन् । मंसिर ३ गते शंकास्पद पासपोर्टका मुद्दा आठवटा थिए । तीमध्ये एउटा पासपोर्ट थियो भोजपुरकी युवतीको । उनी दलालमार्फत अर्कैको पासपोर्टमा तीन वर्ष साउदी अरबमा काम गरी स्वदेश फर्केकी थिइन् । झुक्किएर आफ्नो सत्य नाम भनेकी उनले अध्यागमनमा भएभरको कमाइ लुटाउनु मात्र परेन, प्रहरीबाटै बलात्कृतसमेत हुनुपर्योा । 
 
भोजपुरकी युवतीमाथि त्यस्तो घटना भयो भने अन्य त्यस्तै अवस्था भएकालाई पनि छोडियो होला त ? 'यो अनुगमन र अनुसन्धानबाट थाहा हुने कुरा हो,' गौतम भन्छन् । कान्तिपुरले खोजी गर्दा अध्यागमन कानुन उल्लंघनका हकमा उस्तै अवस्था भएकालाई पनि फरक-फरक कारबाही भएको मंसिर ३ गते नै भेटियो । त्यो दिन भोजपुरकी युवतीलगायत तीन जनालाई धरौटीमा छाडियो भने अन्य पाँचमाथि मुद्दा नै चलेर अदालतबाट मात्र छुटे । यतिखेर राष्ट्रिय सतर्कता केन्द्रले समेत यस विषयमा अनुसन्धान गरिरहेको छ । 
 
दिनहुँ हजारौं यात्रु विदेश उड्ने त्रिभुवन विमानस्थलबाट प्रस्थान प्रक्रियामा हुने अनियमितताको सिंगो पाटो अझै उजागर भएको छैन । भोजपुरकी युवतीजस्तै थुप्रै युवायुवती फर्जी पासपोर्टमा अध्यागमन, प्रहरी र अन्य निकायबाट जाँचिएरै दिनहुँ विदेश उड्छन् । पछिल्लो समय ठूलो संख्यामा 'ननस्किल' कामदारलाई भिजिट भिसामा पुर्यााएर असुरक्षित किसिमले काममा लगाउने वा अलपत्र पार्ने काम विमानस्थलकै कर्मचारीको मिलेमतोमा हुँदै आएको पाइन्छ । 'ती सोझासीधा र गरिब साँच्चै आफ्नो सामथ्र्यले पुगेर विदेश भ्रमणमा जान लागेका हुन् त ? सरकारी निकायहरूले राम्रोसँग सोधपुछ गरेर उनीहरूलाई सम्भावित विपत्तिबाट जोगाउन सक्छन् । यसतर्फ कसैको मतलब हँुदैन,' एक जानकार भन्छन् । 
 
भिजिट भिसा र फर्जी पासपोर्ट दुवैखाले कागजात बोकेका कामदारलाई नियोजित रूपमा उडाउन म्यानपावर कम्पनी, दलाल र विमानस्थलका कर्मचारीबीच सेटिङ चल्ने गर्छ । अध्यागमन काउन्टरमा बस्ने कर्मचारी मोबाइल फोनमै दलालहरूसँग 'डिलिङ' गर्न बेर लगाउँदैनन् । 
 
श्रम स्वीकृति लिएरै कामदार विदेश पठाउन लाग्दा पनि म्यानपावरहरूले अध्यागमन कर्मचारीलाई कामदार जान लागेको देश हेरेर फरक-फरक रकम दिने गर्छन् । जानकार स्रोतका अनुसार पासपोर्ट शंकास्पद भनेर फिर्ता पठाइदिएको खण्डमा जहाज छुट्ने, टिकटको पैसा गुम्नेलगायत झमेलाले त्यस्तो नजरानाको व्यवस्था गरिन्छ । 
 
शुक्रबारमात्र अध्यागमन विभागमा एक म्यानपावर कम्पनी सञ्चालक एक अनौठो समस्या लिएर आए । उनले मलेसिया पठाउन लागेका दुई कामदारको पासपोर्टमा व्यक्तिगत विवरण र भिसा छापमा उल्लेखित जन्ममिति फरक पर्योठ भनेर विमानस्थल अध्यागमन कार्यालयले फर्काएको रहेछ । विभागका एक अधिकृत भिसा छापमा जन्ममिति उल्लेख नहुने भन्दै म्यानपावर सञ्चालकलाई उजुरी हाल्न सल्लाह दिँदै थिए ।
 
Published on: 7 January 2013 | Kantipur
 

Back to list

;